५ चैत्र २०८१ मंगलबार
image/svg+xml १३:४६ अपराह्न
स्वास्थ्य

निजामती अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा

निजामती अस्पतालमा चिनियाँ वैकल्पिक चिकित्सा सेवा सुरु भएको छ। माघ महिनादेखि यो सेवा सुरु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार शरीरका विभिन्न गम्भीर दुखाइको उपचारका लागि प्रयोग हुने अकुपञ्चर, क्रोनिक इलनेस उपचार, हिलिङलगायत सेवा दिन सुरु भएको हो। चीन सरकारबाट सञ्चालित चाइना मेडिकल समुह आफैंले चिनियाँ चिकित्सा सेवा दिइरहेका छन्। यसबापत बिरामीबाट न्यूनतम मात्र शुल्क लिने र अन्य सेवा निःशुल्क रहेको अस्पतालले जनाएको छ। एक अन्कोलोजी विभाग र दुईजना चिनियाँ परम्परागत चिकित्सकले सेवा दिइरहेका छन्।

चिनियाँ वैकल्पिक चिकित्सा सेवा एकाइकी इन्टरप्रेटर शीतल चापागाईंका अनुसार यो एकाइमा शरीरका विभिन्न भागका पुरानो दुखाइ जस्तै– घुँडा, ढाड तथा हड्डी, माइग्रेन जस्ता दुखाइमा यी विधिबाट उपचार गरिन्छ। यो विधिबाट कतिपय दुखाइ सधैंका लागि निर्मूल हुन्छन् भने कतिपय ६ महिनादेखि वर्ष दिनमा निको हुन्छन्। चिनियाँ परम्परागत चिकित्सा पद्धति प्रभावकारी मानिने चापागाईं बताउँछिन्। चीन सरकारले काठमाडौं उपत्यकाको हकमा सिभिल अस्पतालमा पहिलोपटक सुरु गरेकाले धेरैलाई यो सेवाका बारेमा जानकारी नभएकाले बिरामी कम संख्यामा आइरहेको दोभाषे चापागाईंले बताइन्। 

‘हाल दैनिक औसत २० जना बिरामी आइरहेका छन्। जानकारी नभएर कम संख्यामा आएका हुन्’, चापागाईंले भनिन्। यो सेवाअन्तर्गत कपिङ थेरापी पर्छ। यो थेरापीमा शरीरबाट कप जस्तो उपकरण लगाएर दुखेको ठाउँबाट हावा निकाल्ने काम हुन्छ। यो चिकित्सा विधिमा प्रयोग हुने अर्को विधि ग्वासा विधि हो। यसमा शरीरमा चिसो लागेका बेलामा घर्षण गरेर पसिना निकाल्ने गरिन्छ। त्यसैगरी काइरो थेरापीबाट पनि दुखाइ कम गर्ने सेवा दिइन्छ। यसमा पनि मालिस गर्ने थेरापी हो।

यी विभिन्न थेरापीबाट दुखाइ हटाउनका लागि यो चिकित्सा प्रणालीमा उपचार गरेमा लाभ लिन सकिने चापागाईं बताउँछिन्। विशेषगरी हात, घाँटी, गर्धन र घुँडा तथा ढाड दुख्ने बिरामीले यो सेवाबाट लाभ लिन सक्छन्। यसका साथै शरीर झमझमाउने, निदाउने, माइग्रेनको दुखाइ हुँदा यसले लाभ मिल्छ। 

सिभिल अस्पतालमा यो सेवा हुनुअघि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पनि दुई वर्षदेखि नै सञ्चालनमा रहेको छ। सोही मेडिकल समुहले सिभिल अस्पतालमा यो सेवा सुरु गरेको हो। यो सेवा–सुविधा चीन सरकारले नै उपलब्ध गराउँदै आएको र परम्परागत चिनियाँ चिकित्सा सेवा नेपालीले पनि पाऊन् भन्ने उद्देश्यले सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित: ५ चैत्र २०८१ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App