ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा १ सय ७३ जना बालबालिकाकाको स्वास्थ्य परीक्षण गर्दा सात जनामा जन्मदोषको अपाङ्गता पहिचान भएको छ।
पाँच दिन लगाएर पालिकाले जन्मेको २८ दिनदेखि ५ वर्षमुनिका बालबालिकामा हुन सक्ने जन्मदोष अपाङ्गताको शीघ्र पहिचान तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको थियो। पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बाका स्वकीय सचिव तेजविर मेन्याङ्वोका अनुसार परीक्षण गरिएका १ सय ७३ जना बालबालिकामध्ये ७ जनामा जन्मदोषको अपाङ्गता पहिचान भएको छ।
नवविवाहित दम्पती, गर्भवती र सुत्केरी महिलाले प्रजनन स्वास्थ्य सेवा र सुरक्षित मातृत्व सेवाका साथै बालबालिकाले पूर्ण खोप र पोषण सेवाबारे थाहा नपाउँदा शिशुमा देखिन सक्ने स्वास्थ्य समस्यालाई सामान्य अर्थमा जन्मदोष भन्ने गरिएको छ।
विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसारका स्वासथ्य सेवा उपभोग गर्नु मातृशिशु तथा बाल मृत्यु न्यूनीकरण तथा अपाङ्गता रोकथामका मुख्य उपायको रूपमा हेरिएको छ। मातृशिशु तथा बाल स्वास्थ्यसम्बन्धी सबै कार्यक्रमले अपाङ्गता रोकथामलाई पनि सम्बोधन गर्न सक्यो भने यसले मातृशिशु तथा बाल मृत्युदर न्यूनीकरणका साथै जन्मजात तथा जन्मपश्चात हुने अपाङ्गता पनि कम गर्न सकिने सोचका साथ कोशी प्रदेश क्षेत्रका स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सुरु भएको छ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र सम्वन्धित स्थानीय तहको त्रिपक्षीय साझेदारीमा उक्त कार्यक्रम कार्यान्वयनमा आएको छ। जन्मदोष हुन नदिन विशेषगरी गर्भवती हुनु तीन महिना अगाडि पतिपत्नी दुवैले र गर्भ रहेपछि तीन महिनासम्म गर्भवतीले फोलिक एसिड चक्कीे सेवन गरे मस्तिष्क तथा मेरुदण्डसम्बन्धी अपाङ्गता ७० प्रतिशतभन्दा बढी रोकथाम गर्न सकिने अध्ययनहरूले देखाएका छन्।
जन्मदोषका कारण हुने अपाङ्गता न्यूनीकरण गर्न अहिले विभिन्न स्थानीय तहमा नवदम्पतीलाई शुभकामनासहित स्वास्थ्य सन्देशले भरिएको अनिवार्य कार्ड प्रदान गर्न थालिएको छ। पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष सुब्बाले शुभकामना कार्डमा लेखिएका कुराहरूको प्रभावकारी कार्यान्वयनमा नवदम्पति संवेदनशील बने जन्मदोषका कारण हुने अपाङ्गता न्यूनीकरणमा ठूलो टेपा पुग्ने बताउँछन्।
नवविवाहित जोडीलाई प्रदान गरिने शुभकामना कार्डमा प्रजनन स्वास्थ्य,जन्मजात अपाङ्गता रोकथाममा अपनाउनुपर्ने सावधानी र तरिका जस्ता विषय उल्लेख गरिएका छन्। ‘शुभकामना कार्डमा पारिवारिक सुख, समृद्धि र सन्तानको योजनाका बारेमा स्वास्थ्य सन्देश उल्लेख छ,’ पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष सुब्बाले भने।
प्रकाशित: २४ फाल्गुन २०८१ ११:४५ शनिबार