अहिले पनि टिचिङ अस्पताल महाराजगञ्ज पुग्ने हरेक बिरामीले स्वास्थ्य परीक्षण गर्न बहिरंग विभागमा भिडभाड झेल्नुपर्छ। अन्य थप परीक्षणका लागि पनि यस्तै नियति झेल्नुपर्छ। अबको ६ महिनापछि बिरामीले यस्तो दुःख झेल्नुपर्ने छैन। हाइटेक ओपिडी (अत्याधुनिक बहिरंग) सेवा सुरु गर्ने तयारी भएपछि बिरामी यस्तो दुःखबाट मुक्त हुने अस्पतालले जनाएको छ।
‘हाइटेक ओपिडी सेवा सुरु गर्दैछौँ, त्यसपछि बिरामीले भिड झेल्नुपर्ने छैन,’ अस्पतालका निमित्त निर्देशक डा. घनश्याम गुरुङले भने। यो सेवाका लागि अस्पतालले गत वर्ष निर्णय गरेको थियो भने ढाँचाको प्राविधिक खाका तयार भएको छ। ‘अब भौतिक संरचना मर्मत तथा निर्माणमा लाग्छौँ,’ उनले भने। बहिरंग विभागको डिजाइन विभिन्न तहबाट स्वीकृत भएको र अरू प्रक्रिया पनि अघि बढेको उनले जानकारी दिए। ‘अस्पतालको विभागीय प्रमुखदेखि डिन कार्यालयसँग समेत सेवाको ढाँचाबारे सुझाव लिएर कार्यान्वयनमा अघि बढेका हौं,’ उनले भने। यो तयारी पूर्व आधुनिक बहिरंग सेवा भएका निजी अस्पतालको अध्ययन भ्रमण र सुझाव संकलन गर्ने काम भएको थियो।
सुरुमा पुरानो बहिरंग विभागकै भवनमा २० वटाभन्दा बढी हाइटेक कोठा विस्तार गरिने र यो सेवा प्रभावकारी भएपछि अन्य भवनमा पनि विस्तार गरिने निर्देशक गुरुङले बताए। बिरामी पुगेपछि बिरामीको परिचय नम्बर बन्नेछ। बिरामीलाई थप परीक्षणमा घरी–घरी पैसा तिर्न नपर्ने गरी कार्ड दिइनेछ। यो कार्ड लिनका लागि बिरामीले कम्तीमा दुई हजार रुपैयाँ तिर्नुपर्नेछ। यो कार्ड लिएपछि बिरामीको रक्तचाप र तौल लिने काम प्यारामेडिक्स तथा नर्सले गर्नेछन्। त्यसपछि थप जाँचका लागि मेडिकल अफिसर या जनरल प्राक्टिसनरसँग पठाइन्छ। जनरल प्राक्टिसनरले बिरामीको हिस्ट्री लिएपछि सामान्य उपचार आफैं गर्नेछन्। एक्सरे, रगतजस्ता थप परीक्षण पनि यही तहबाट हुनेछ। त्यसपछि आवश्यक परे मात्र विशेषज्ञ चिकित्सककोमा पठाइनेछ।
हरेक ठाउँमा प्रयोगशाला, एक्सरेजस्ता परीक्षणमा सहज हुनेछ। ‘सुरुमा बिल तिरेको कार्ड देखाएर परीक्षण गर्न सकिने भएकाले घरी–घरी बिल तिर्नुपर्ने झन्झट हुँदैन,’ उनले भने। भिडियो एक्सरे, एमआरआई, सिटिस्क्यानजस्ता परीक्षणका लागि पालो हेर्ने व्यवस्था पनि डिजिटल प्रक्रियाबाटै हुनेछ। सबै परीक्षणको रिपोर्ट डिजिटल भएकाले एक्सरे र सिटिस्क्यानको फोटो बोक्नुपर्ने झन्झट पनि बिरामीलाई हुनेछैन। हरेक विभागका चिकित्सकले बिरामीको आइडी थिच्नेबित्तिकै आफ्नो टेबलबाटै हेर्न मिल्ने गरी व्यवस्था हुने निर्देशक गुरुङले बताए। ‘यो प्रक्रियाबाट रिपोर्टका लागि खर्च हुने कागजको करोडौं खर्च पनि बचत हुन्छ,’ उनले भने।
यो सेवा विस्तारका लागि आवश्यक बजेट भने अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमबाट संकलन भएको २० करोड रूपैयाँबाट व्यवस्थापन भएको हो। यो कार्यक्रमका लागि अवधारणा लिएका निर्देशक गुरुङकै संयोजकत्वमा कार्य समिति निर्माण भएको थियो। यो सेवा लिने समय नभएका तर केही बढी पैसा तिर्नसक्ने बिरामीको हकमा रातिसम्म सेवा दिने गरी ओपिडी सञ्चालन हुने गुरुङले जानकारी दिए। ‘बैंकका कर्मचारी, अन्य कर्मचारीका लागि रातिसम्म सेवा दिने तयारीमा छौं,’ उनले भने। अतिरिक्त समयमा सेवा लिएबापत बिरामीले बढी शुल्कः तिर्नुपर्नेछ। अस्पतालले सुरु गर्ने यो प्रविधि सरकारी अस्पतालमा पहिलो हुनेछ।
प्रकाशित: ९ माघ २०८१ ०८:१७ बुधबार