७ माघ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

घरमै सुत्केरी हुने परम्परामा ब्रेक, स्वास्थ्य संस्थामा बढ्दो पहुँच

केही वर्षअघिसम्म घरमै सुत्केरी हुने गरेका जुम्लाका गर्भवती महिलाहरू अहिले समयमै स्वास्थ्य संस्थामा पुग्न थालेका छन्। जनस्वास्थ्य कार्यालय जुम्लाले सञ्चालनमा ल्याएको ‘आमा कुरुवा घर’ अर्थात् सुत्केरी आवासगृहले गर्भवती र सुत्केरी महिलालाई ठूलो राहत दिएको छ।

यो कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई सुत्केरी हुनु अगाडि स्वास्थ्य संस्थामा आउने व्यवस्थापन गरिएको छ। स्वास्थ्य संस्थामा कुरुवासहित बस्न, खान, र डाक्टरको निगरानीमा रहन मिल्ने व्यवस्था गरिएको छ। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै लिजमा लिइएको घरमा यो सेवा सञ्चालनमा छ।

जटिल अवस्थाका गर्भवती महिलाहरूलाई डाक्टरको सल्लाहअनुसार आवासगृहमा राखिन्छ। त्यहाँ गर्भ जाँचदेखि बच्चा जन्माउने र सुत्केरीपछिको आवश्यक हेरचाहसम्मको सेवा उपलब्ध गराइन्छ।

गर्भवती र कुरुवाका लागि दैनिक ३५० देखि ४०० रुपैयाँसम्मको खाना र खाजाको व्यवस्था छ भने सुत्केरी महिलाहरूका लागि ४५० देखि ५०० रुपैयाँसम्मको सुविधा उपलब्ध छ।

आवासगृहमा तातोपानी, खाजा, खाना, र भान्साका सामग्री राखिएका छन्। आवासगृहका सहयोगी लक्ष्मी न्यौपानेका अनुसार जटिल अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई ४५ दिनसम्म बस्न, खान र आराम गर्न व्यवस्था गरिएको छ।

कनकासुन्दरी गाउँपालिकाकी तारादेवी कठायतले स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी हुन पाउँदा सहज भएको बताइन्। “स्वास्थ्य संस्थामा बस्दा नवजात शिशुको उचित स्याहार भयो, खाना पकाउने, तातोपानी र कुरुवाका लागि समेत उचित व्यवस्था भएकाले हामीलाई धेरै सहज भयो,” उनले भनिन्।

त्यस्तै, पातारसी गाउँपालिकाकी ज्ञानु खड्काले स्वास्थ्य संस्थामा बस्दा आकस्मिक जोखिम कम भएको र स्वास्थ्यकर्मीको निगरानीमा बस्न पाउँदा आत्मविश्वास बढेको बताइन्।

गत आर्थिक वर्षमा १२ जना जुम्लाका र पाँच जना अन्य जिल्लाका गर्भवती तथा सुत्केरी महिलाले यो सेवा लिएका थिए। औसतमा उनीहरूले १८ दिनसम्म सेवा लिएका छन्। चालु आर्थिक वर्षमा अहिलेसम्म ९ जना महिलाले यो सेवा लिएका छन्, जसमा कालिकोट, मुगु, जाजरकोट र डोल्पाका महिलाहरू समेत छन्।

जुम्लालगायत २० जिल्लामा सञ्चालनमा रहेको यो कार्यक्रमले घरमै सुत्केरी हुने परम्परालाई घटाउँदै स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढाउन महत्त्वपूर्ण योगदान दिएको छ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार यो कार्यक्रमले आमा र बच्चाको ज्यान जोगाउने मात्र नभई उनीहरूको स्वास्थ्य सुधारमा पनि ठूलो भूमिका खेलेको छ।

"संस्थागत सुत्केरीको दर बढाउँदै सुरक्षित मातृत्वको सुनिश्चितता हाम्रो लक्ष्य हो," उनले भने।

प्रकाशित: ७ माघ २०८१ १९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App