शरीरका हातखुट्टाका जोर्नी दुख्यो कि जोकोहीलाई हड्डी खिइयो या नसा च्यापियो भन्ने लाग्छ र धेरैजसो हाडजोर्नी उपचार गर्न पुग्छन्। तर यस्तो दुखाइ बाथका कारणले हुन्छ। यस्तो लक्षण देखिएमा समयमै उपचारमा पुग्नुहोस्। समयमै उपचार नभए जटिल समस्या आउँछ।
चिकित्सकका अनुसार आराम गरेका बेला, राति सुतेपछि र बिहान उठ्ने बेलामा कुनै पनि जोर्नी दुख्छ भने बाथको कारणले दुख्छ। तर नेपालमा यस्तो दुखाइमा बिरामी बाथ उपचारको सट्टा अन्यत्र पुग्दा रोग जटिल बनेको चिकित्सक बताउँछन्।
बाथको दुखाइमा समेत बिरामी हड्डी या नसो रोग उपचारमा पुगेको पाइएको नेसनल बाथरोग सेन्टरका बाथरोग विशेषज्ञ डा. सुधिर कर्माचार्यले बताए। ‘हड्डी या नसाका कारण जोर्नी या हड्डी दुखेमा त्यो सक्रिय भएमा बढी दुख्छ तर बाथ आराम गरेका बेलामा बढी दुख्छ’, उनले भने।
उनका अनुसार बाथ भएमा राति सुतेका बेलामा हड्डी, ढाड, छातीका करङ दुख्ने, बिहान उठ्दा हातका औंला अररा हुने, सुन्निने, घुँडा दुख्ने, कुर्कुच्चा दुख्ने, पैताला पोल्ने या झमझमाउने, पिडौंला दुख्ने या करकर खाने, मांसपेशी कमजोर हुने, छालामा डाबर या निको नहुने घाउ आइरहने, मुखमा घाउ आइरहने, बारम्बार आँखा रातो हुने या दुख्ने, चिसोमा काम गर्दा हातखुट्टा नीलो हुने जस्ता लक्षण देखिन्छन्।
नेपालमा धेरै मानिसमा बाथका बारेमा थाहा नभएकै कारण गलत उपचारमा पुगेको डा. कर्माचार्य बताउँछन्। ‘धेरैजसो बाथरोगीले युरिक एसिडको औषधी प्रयोग गरेको देखिन्छ, यस्ता बिरामीलाई चिकित्सकले युरिक एसिडको मात्रा देखिनेबित्तिकै त्यही औषधी दिएर पठाउँछन्’, उनले भने।
तर बाथरोगीमा युरिक एसिडको समस्या मात्र नभएर अरू बाथ भएको हुन्छ। जनचेतना कमीका कारण गाउँघरमा धुलो औषधी, नदुख्ने औषधी खाएर बस्ने गरेको डा. कर्माचार्य बताउँछन्। चिकित्सकका अनुसार नेपालमा कुल बाथरोगीमध्येमा १० प्रतिशत मात्र उपचारमा पुगेका छन् भने ९० प्रतिशत गलत उपचार या रोगको जटिलता झेलेर बाँचिरहेका छन्। नेपालमा करिब ८० लाख जनसंख्यामा बाथ भएको अनुमानित तथ्यांक छ।
नेसनल बाथरोग सेन्टरले हालै गरेको अध्ययनअनुसार नेपालमा २७ प्रतिशतमा बाथ तथा बाथजन्य मांसपेशी दुखाइ समस्या रहेको औंल्याएको छ। सेन्टरले सन् २०२२ देखि अमेरिकन कलेज अफ रिमाटोलोजी र लिक अफ रिमाटोलोजीको सहयोगमा यो अनुसन्धान गरेको हो। उपत्यका र उपत्यका बाहिरका ग्रामीण भेगमा ३० हजार जनामा परीक्षण गर्दा २७ प्रतिशतमा बाथ र बाथरोगजन्य मांसपेशी दुखाइ समस्या पाइएको हो।
अध्ययन जारी रहेको र अनुसन्धानको प्रारम्भिक प्रतिवेदनअनुसार यस्तो जानकारी दिएको हो। अनुसन्धानमा सहभागी नेसनल बाथ रोग सेन्टरका बाथरोग विशेषज्ञ डा. कर्माचार्यले यो जानकारी दिएका हुन्। अध्ययनअनुसार पहिलो नम्बरमा घुँडा खिइने बाथ, दोस्रोमा गठिया बाथ, युरिक एसिड र युवा महिलामा लुपस बाथ देखिएको कर्माचार्यले जानकारी दिए। अनुसन्धानको विस्तृत प्रतिवेदन तयार हुने प्रक्रियामा छ।
के हो बाथ?
बाथ कतिपयमा वंशाणुगत कारणले हुन्छ भने धेरैजसो बाथ मानिसको प्रतिरक्षा प्रणालीमा गडबडी आई आफ्नै शरीरलाई हानि गर्ने अवस्था हो। बाथ विभिन्न कारणले हुन्छ। जाडोमा निमोनियाँ भएपछि, जिन या हर्मोनमा समस्या देखिएमा, चुरोट सेवन गरेमा शरीरको प्रतिरक्षा प्रणाली बिग्रन गई बाथ हुन्छ। बाथ दुई सय थरीका हुन्छन्। नेपालमा अस्ट्रियो पोरोसिस बाथ, गठिया बाथ, युरिक एसिड बाथ र ढाडको बाथ बढी देखिन्छ।
डा. कर्माचार्यका अनुसार जुनसुकै बाथको साझा लक्षण जोर्नी दुखाइ हो। बाथमा हात–खुट्टादेखि अनुहार, ढाड, करङको हड्डी दुख्ने मुख्य लक्षण हुने भने थकाइ लाग्ने, हातखुट्टा कक्रक्क हुने, थकान लाग्ने, सुन्निने सुरुका लक्षण हुन्।
यी लक्षण देखिएमा बाथरोग विशेषज्ञबाट स्वास्थ्य परीक्षण गर्न सकिन्छ। ढिला भएमा शरीरका अन्य अंगमा असर पर्ने हुन्छ। मिर्गौला बिग्रने, फोक्सोमा पानी जम्ने, जोर्नी बांगिने जस्ता जटिलता आउँछन्। बाथले कतिपयलाई छोटो समयमै असर गर्छ भने कतिपयलाई लामो समयपछि मात्र कडा हुने गर्छ।
सबै चिकित्सकलाई बाथरोगबारे जानकारी छैन
डा. कर्माचार्यका अनुसार बाथरोगका बारेमा सबै चिकित्सकलाई जानकारी नभएकाले समयमै उचित उपचार नहुँदा रोगीले जटिलता झेल्नुपरेको छ। एकातिर नेपालमा बाथरोग सेन्टर, बाथरोग विशेषज्ञ नै कम छन् भने अर्कातिर स्वास्थ्यकर्मीलाई समेत यो रोगका बारेमा पर्याप्त जानकारी नहुनुले समयमै उपचार पाउँदैनन्। ‘नेपालभर करिब १८ जना बाथरोग विशेषज्ञ छन्, जुन जनशक्ति रोगको तुलनामा अत्यन्त कम हो’, उनले भने।
अहिलेको परिस्थितिमा सरकारले स्थानीय स्वास्थ्यकर्मीलाई तालिम दिएर बाथको पहिचान र न्यूनतम उपचार स्थानीय तहमै व्यवस्थापन गर्न सक्ने गरी तालिम दिनुपर्ने उनको सुझाव छ।
विश्व बाथरोग दिवसका अवसरमा नेसनल बाथरोग सेन्टरले साताव्यापी बाथरोग जनचेतना कार्यक्रम आयोजना गरेको छ। अभियानको उट्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले देशभरका स्वास्थ्यकर्मीलाई बाथसम्बन्धी तालिम दिने पहल गर्ने बताए। यसका साथै टेलिमेडिसिन प्रविधिमार्फत पनि बाथ उपचारमा पहल गर्ने बताए।
नेसनल बाथरोग सेन्टरका बाथरोग विशेषज्ञ डा. विनित वैद्यले पहुँच पुग्ने सबै ठाउँमा बाथसम्बन्धी जनचेतना अभियान चलाउने र निःशुल्क शिविर सञ्चालन गर्ने बताए। ‘आवश्यक स्वास्थ्य संस्थामा बाथसम्बन्धी तालिम दिन पनि तयार छौं’, उनले भने।
सो अवसरमा सेन्टरले राजधानीमा बद्री तीर्थ आर्थराइटिस समाजको संयुक्त आयोजनामा बाथरोग जागरण अभियान उट्घाटन गरेको छ। सांगीतिक कार्यक्रम, फोटो प्रदर्शनी, साताभर नेसनल बाथरोग सेन्टरमा निःशुल्क बाथ परीक्षण गर्ने आगामी कार्यक्रम रहेका छन्।
प्रकाशित: ३ माघ २०८१ ०६:१८ बिहीबार