६ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा १२ जना सक्रिय क्षयरोगी थपिए

चालू आर्थिक वर्षको यो अवधिमा ताप्लेजुङमा १२ जना सक्रिय क्षयरोगी फेला परेका छन्। अघिल्लो आव २०८०।८१ मा ताप्लेजुङमा ३९ जना सक्रिय क्षयरोगी फेला परेका थिए।

स्वास्थ्य कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा ल्याब टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार क्षयरोगीको खोज पड्ताल कार्य भने जारी रहेको छ। खकार जाँच गर्दा माइक्रोस्कोप तथा जिन एक्सपोटमा क्षयरोगको ब्याक्टेरिया फेला परेको अवस्थालाई सक्रिय क्षयरोगी (पिसिबी)भनिन्छ। छातीको एक्स–रे जाँचको क्रममा टिबी पत्ता लागेको अवस्थालाई पिसिडी भनिन्छ। 

अघिल्लो आवमा पिसिडी भएका रोगीको संख्या ११ थियो। छाती बाहेक अन्य जुनसुकै अङ्गबाट परीक्षण गर्दा क्षयरोग पत्ता लागेको अवस्थालाई ईपी भनिन्छ। अघिल्लो आवमा यस्ता रोगीको संख्या १३ थियो। क्षयरोगीको खोज पड्ताल जारी रहेकोले स्वास्थ्य कार्यालयले पिबिसी बिरामीको सम्पर्कमा रहेका व्यक्तिहरुलाई अनिवार्य रुपमा सम्पर्क परीक्षण गर्ने कार्य अघि बढाउने भएको छ। 

दुलालका अनुसार पिबिसी बिरामीको सम्पर्कमा रहेका व्यक्तिहरूको सम्पर्क परीक्षणका क्रममा सक्रिय टिबी भए नभएको यकिन गरिने भएको छ। सक्रिय टिबी भएको पत्ता लागेमा टिपिटीको औषधि खुवाउने कार्य सुरु गरिने समेत दुलालले जानकारी दिए। यो व्यवस्थाका लागि स्वास्थ्य निर्देशनालय धनकुटाले यसअघि नै मातहतका स्वास्थ्य कार्यालयहरूलाई पत्राचार समेत गरिसकेको उनले जानकारी दिए।

सूचना अधिकारी दुलालका अनुसार यसअघि सक्रिय क्षयरोगी(पिबिसी)को सम्पर्कमा रहेका ५ बर्ष मुनिका बालबालिकालाई मात्र टिपिटीको औषधि खुवाउने प्रबन्ध रहेकोमा अहिले पिबिसीको सम्पर्कमा रहेका सबै उमेर समूहका बिरामीलाई टिपिटीको औषधि खुवाइने छ। यसका लागि सबैभन्दा पहिला क्षयरोगीको खोपड्ताल कार्यलाई तीव्र गतिमा अघि बढाउन आवश्यक रहेको भन्दै स्वास्थ्य कार्यालयले टिबीको लक्षण भएका व्यक्तिहरूको जानकारी लिनेदिने कार्यमा सहयोग गर्न सबैलाई आह्वान समेत गरेको छ। 

क्षयरोग  माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरुवा रोग हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासका माध्यमबाट सर्ने गर्छ। क्षयरोगका कीटाणुले आक्रमण गरेका व्यक्तिमा रोगसँग लड्ने क्षमता राम्रो छ भने यो रोग लाग्दैन। रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्छ। दुई साता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, शरीरको तौल घट्नु र खास गरी बेलुकीपख ज्वरो आउनु, छाती दुख्नु, खाना अरुचि हुनु र खकारमा रगत देखिनु जस्ता लक्षण भए क्षयरोगको आशंका गर्नुपर्ने समेत दुलालले जानकारी दिए।

क्षयरोग नियमित रूपमा औषधि सेवनबाट पूर्ण रूपमा निको हुने भएकाले डराउनु नपर्ने समेत दुलालले बताए। क्षयरोगका बिरामीलाई डट्सअन्तर्गत राखेर उपचार गर्ने गरिएको छ। जसअन्तर्गत बिरामीलाई प्रत्येक दिन उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिन्छ। औषधिहरूको सेवनबाट पिसाब रातो हुन सक्ने भए पनि यो स्वाभाविक र सामान्य भएको दुलालले जानकारी दिए।

प्रकाशित: १२ कार्तिक २०८१ १२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App