५ कार्तिक २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

सात प्रदेशका यी अस्पतालमा जलनको निःशुल्क उपचार

सरकारले उपचार खर्च बेहोर्न नसक्ने जलनका बिरामीलाई निःशुल्क सेवा प्रदान गर्ने भएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले खर्च तिर्न नसक्ने त्यस्ता बिरामीको हकमा लागु हुनेगरी यस्तो निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रस्तावमामाथि छलफल गर्दै यस्तो निर्णय मन्त्रिपरिषद्ले गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। ‘जलेका सबै बिरामीको उपचार निःशुल्क गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव भए पनि मन्त्रिपरिषद्ले उपचार खर्च गर्न नसक्नेको हकमा मात्र यस्तो निर्णय गरेको हो’, बुढाथोकीले भने।

मन्त्रिपरिषद्को निर्णयअनुसार सातवटै प्रादेशिक अस्पतालबाट यो सेवा दिइनेछ। कोसी प्रदेशको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशको नारायणी प्रादेशिक अस्पताल, बागमती प्रदेशको कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती अस्पतालबाट जलनका बिरामीको उपचार गरिनेछ र खर्च बेहोर्न नसक्नेलाई निःशुल्क सेवा दिइनेछ।

जलन सेवा भएका अस्पतालबाट तत्कालै निःशुःल्क सेवा दिइनेछ। यो सेवा नभएका अस्पतालमा सेवा थप गरी निःशुल्क प्रदान गर्ने तयारी भएको मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए। ‘धेरै अस्पतालमा सेवा थप गरेर मात्र सम्भव देखिन्छ, केही प्रदेशमा जलन सेवा पहिला नै छ’, उनले भने।

वीर अस्पतालका वर्न प्लास्टिक सर्जन डा. पीयूष दाहालले बागमती र कोसीबाहेक अन्य प्रदेशमा जलनका बिरामीलाई सेवा नभएकाले यो निर्णय लागु गर्न सरकारले जनशक्ति र दरबन्दीको व्यवस्थासँगै भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने बताए।

‘जलनका बिरामीलाई सेवाका लागि छुट्टै संरचना र जनशक्ति आवश्यक पर्छ, त्यसको तयारी पूरा गरी सेवा दिन समय लाग्छ’, उनले भने।

नेपालमा जलनमा पर्ने धेरैजसो नागरिक विपन्न समूहका रहेको र उनीहरूले उपचार खर्च बहोर्न नसक्ने भएकाले ९० प्रतिशत जलनका बिरामीको उपचार खर्च सरकारले बेहोर्नुपर्ने देखिएको कीर्तिपुर अस्पतालका निर्देशक डा. शंकरमान राईले बताए। एक तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष औसत पाँच हजार जना जलनमा पर्छन्। तीमध्ये ९० प्रतिशत उपचार खर्च बेहोर्न नसक्ने वर्गका हुन्छन्। यस्ता बिरामी मुख्य र सामान्य जलन गरी दुई किसिमका हुन्छन्। मुख्य जलनका बिरामीको अस्पताल बसाइ लामो हुने भएकाले उपचार खर्च कम्तीमा तीनदेखि साढे तीन लाख रूपैयाँ लाग्छ। सामान्य जलनका बिरामीको हकमा कम्तीमा एकदेखि दुई लाख रूपैयाँ उपचार खर्च लाग्छ। जलनका बिरामीलाई शल्यक्रिया, महंगो औषधि, धेरै समय अस्पताल बस्नुपर्ने भएकाले खर्च बढी लाग्ने चिकित्सक बताउँछन्।

जोखिमयुक्त काममा संलग्न मजदुर, गृहिणी, बालबालिका बढी मात्रामा जलनमा पर्छन्। डा. राईका अनुसार जलनका बिरामीमा ५० प्रतिशत महिला, ३३ प्रतिशत बालबालिका र बाँकी पुरुष हुन्छन्। नेपालमा विद्युतीय जलनमा १५ प्रतिशत, एसिडको जलनमा दुई प्रतिशत र अन्य आगो, ग्याँस र तातोपानीको जलनका बिरामी हुने गरेको चिकित्सक बताउँछन्।

प्रकाशित: ५ कार्तिक २०८१ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App