२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

परीक्षा पास भएकालाई हेटौंडा अस्पतालले नियुक्ती दिएन

मुख्यमन्त्री कार्यालय अगाडी तरुण र कांग्रेस नेतासहित नियुक्ती नपाएकाहरू ।

कर्मचारी पदपूर्तिका लागि लिएको परीक्षामा पास भएकाहरूलाई हेटौंडा अस्पतालले नियुक्ती नदिएर दुःख दिइरहेको छ।परीक्षापश्चात् साउन ३१ गते अन्तरवार्ता गरी परीक्षाफल प्रकाशन गरिएकोमा उत्तीर्ण भएकाहरूलाई अहिलेसम्म नियुक्ती दिइएको छैन ।

 कर्मचारीको माग गर्दै साउन १ गते १५ दिनको सूचना प्रकाशन भएको थियो । सोही अनुसार सबै प्रक्रिया पूरा गरी परीक्षाफल नै प्रकाशित हुँदा पनि कर्मचारीलाई नियुक्ती नदिइएको हो । कर्मचारीलाई नियुक्ती दिनुको साटो अस्पतालका निमित्त निर्देशक डा.रामचन्द्र सापकोटाले भदौ ५ गते सूचना प्रकाशन गर्दै हाललाई नियुक्ती प्रक्रिया स्थगित गरिएको जानकारी गराएका थिए ।

 बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयबाट कर्मचारी नियुक्तिको क्रममा भएको अन्तरवार्तामाथि छानबिनका लागि समिति गठन भएकोले नियुक्ती प्रक्रिया स्थगित गरिएको सूचनामा उल्लेख छ । स्वास्थ्य मन्त्रालयबाट प्राप्त पत्र अनुसार छानबिन समितिबाट प्रतिवेदन प्राप्त नहुञ्जलसम्मका लागि नियुक्ती प्रक्रिया स्थगित गरिएको निमित्त निर्देशक सापकोटाले बताए ।

 स्वास्थ्य मन्त्रालयबाट नियुक्ती गर्नू भन्ने पत्र प्राप्त हुने बित्तिकै प्रक्रिया अघि बढ्ने उनको भनाई रहेको छ । परीक्षामा उत्तीर्ण भएका कर्मचारीलाई नियुक्ती गर्ने विषयमा अनावश्यक राजनीति गरिएको भन्दै नेपाली कांग्रेस निकटको युवा दस्ता नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिले अल्टिमेटमसहित ध्यानाकर्षण जनाउँदै आएको छ । तरुणका उपमहानगर अध्यक्ष सुनिल गिरी नेतृत्वको टिमले हेटौंडा अस्पताल प्रशासन र बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई भेटेर तत्काल कर्मचारी नियुक्ती गर्न माग गरेको छ । 

परीक्षामा उत्तीर्ण भएका कर्मचारीमाथि अनावश्यक राजनीति गरिएमा अस्पताल र मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गर्ने सम्मको चेतावनी दिइएको छ । ‘परीक्षामा पास भएकाहरूलाई यथाशीघ्र नियुक्ती दिनुपर्‍यो भन्ने हाम्रो माग हो’, तरुण अध्यक्ष गिरीले भने, ‘कर्मचारी नियुक्तिको विषयमा अनावश्यक राजनीति स्वीकार्य छैन । नियुक्ती दिइएन भने हामी तालाबन्दी गर्न बाध्य हुनेछौँ ।’ कांग्रेस उपमहानगर सभापति उत्सव ईटेनीले हेटौंडा अस्पताल केही व्यक्तिको राजनीति गर्ने अखडा बनेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । अस्पतालले १४३ विभिन्न पदका लागि दरखास्त आव्हान गरेको थियो । 

जसमध्ये १३७ जना उत्तीर्ण भएको परीक्षाफल नै प्रकाशन गरेको थियो । हेटौंडा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएकोले नियुक्तिमा ढिलाइ भएको प्रतिक्रिया दिने गरेको कर्मचारीको भनाई छ । यता बागमती प्रदेशका मुख्यमन्त्री लामाले बुधवार सम्म नियुक्ती प्रक्रिया टुङ्गिने आश्वासन दिएका छन् । ‘म स्वास्थ्य मन्त्रीसँग यस विषयमा बसेर कुराकानी गर्नेछु’, उनले भने, ‘भोली (बुधवार) सम्ममा नियुक्तिको विषय टुङ्गो लाग्नेछ ।’ स्वास्थ्य क्षेत्रमा अनावश्यक राजनीति गर्न नहुने मुख्यमन्त्री लामाको भनाई रहेको थियो । अस्पतालले करारमा स्वास्थ्यकर्मी नियुक्ती गर्न प्रकाशन गरेको सूचना अनुसार परीक्षामा नै सहभागी नभएकाहरूलाई काममा लगाउन खोजेको आरोप समेत रहेको छ । यस विषयमा तरुण दलले निरन्तर खबरदारी गर्दै आएको छ ।

प्रकाशित: ११ भाद्र २०८१ १६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App