२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

मारियाको दीर्घायु सूत्र: चिन्ता नलिनु, पछुतो नगर्नु!

विश्वकै सबैभन्दा वृद्ध मारिया ब्रान्यास मोरेराको मृत्यु भएको छ। ११७ वर्ष पाँच महिना १८ दिनको उमेरमा मृत्यु भएकी उनी इतिहासकै आठौं सबैभन्दा बढी उमेरकी थिइन्। स्पेनको क्याटालोनियास्थित नर्सिङ होममा उनको सोमबार मृत्यु भएको हो। उनी दुई दशकदेखि त्यहीं बस्दै आएकी थिइन्।

गिनिज  बर्ल्ड रेकर्डस्ले फ्रान्सकी लुसिल रान्डनको मृत्युपछि मोरेरा जनवरी २०२३ मा विश्वकै सबैभन्दा वृद्ध महिला  भएको पुष्टि गरेको थियो।

मोरेराले आफ्नो दीर्घायुको श्रेय ‘व्यवस्था, शान्ति, परिवार र साथीहरूसँगको राम्रो सम्बन्ध, प्रकृतिसँगको सम्पर्क, भावनात्मक स्थिरता, कुनै चिन्ता र पछुतो नलिनु, अत्यधिक सकारात्मकता सोच राख्नु र विषाक्त व्यक्तिहरूबाट टाढा रहनु’लाई दिँदै आएकी थिइन्। ‘मलाई लाग्छ दीर्घायु हुनु भनेको भाग्यशाली हुनु पनि हो। भाग्य र आनुवंशिकीको  सही समिश्रण चाहिन्छ,’ उनले भनेकी थिइन्।

सन् १९०७ को मार्च ४ मा क्यालिफोर्नियामा  जन्मेकी मोरेराले बाल्यकाल अमेरिकामा बिताएकी थिइन्। अमेरिकाको टेक्सास र न्यु अर्लिन्समा बसोबास गरेपछि उनको परिवारले पहिलो विश्व युद्ध जारी रहेकै बेला सन् १९१५ मा स्पेनको क्याटालोनिया फर्कने निर्णय गरेका थिए।

क्याटालोनिया फर्कने यात्रा उनका लागि दुखद बनेको थियो। अमेरिकाको तत्कालीन दुस्मन देश जर्मनीका जहाजहरूले गस्ती गरेका कारण त्यो दुखद घटना भएको थिएन। त्यतिबेला ८ वर्षकी उनी आफ्ना भाइहरूसँग खेल्ने क्रममा जहाजको माथिल्लो तलाबाट तल्लोमा खसेकी थिइन्। त्यही कारणले उनले स्थायी रूपमा एउटा कानको सुन्न सक्ने क्षमता गुमाएकी थिइन्। उनका पिताको पनि यात्राको अन्त्यतिर क्षयरोगका कारण मृत्यु भएको थियो। अन्ततः स्पेन पुगेको उनको परिवार सुरुमा बार्सिलोना र त्यसपछि क्याटालोनियामा बस्दै आएको थियो।

२४ वर्षको उमेरमा डा. जोन मोरेटसँग विवाह गरेकी उनले तीन सन्तान जन्माएकी थिइन्। सन् १९३६ देखि १९३९ मा चलेको स्पेनिस गृहयुद्धताका यो दम्पती घाइतेको उपचारमा संलग्न रहेको थियो। गृहयुद्धपछि मोरेराले आफ्ना पतिको सहायकको रूपमा काम गरेकी थिइन्।

उनका पतिको सन् १९७६ मा मृत्यु भएको थियो। उनका जेठो छोरा अगस्टको पनि ८६ वर्षको उमेरमा निधन भएको थियो। पहिलो र दोस्रो विश्वयुद्ध, स्पेनिस गृहयुद्ध, स्पेनिस फ्लुको महामारीदेखि लिएर कोभिड १९ महामारीबाट उनी बच्न सफल भएकी थिइन्।

११३ वर्ष हुँदा कोभिड १९ बाट संक्रमित उनी केही दिनमै पूर्ण रूपमा निको भएकी थिइन्। उनी कोभिड १९ को संक्रमणबाट बाँच्न सफल विश्वकै सबैभन्दा वृद्ध थिइन्। उनको यो रेकर्ड लुसिल रान्डनले तोडेकी थिइन्।

मोरेराले सन् २०२४ को सुरुमा आफू रहँदै आएको केयर होमका कर्मचारी र साथीहरूसँग ११७औं जन्मदिन मनाएकी थिइन्। सुन्न र हिँडडुल गर्न केही समस्या भए पनि उनमा अन्य कुनै स्वास्थ्य समस्या थिएनन्। उनको दिमाग पूर्ण रूपमा स्वस्थ र स्पष्ट थियो।

हाल मोरियाका दुई छोराछोरी, ११ नातिनातिना र कैयन पनाती–पनातिनी छन्।

–गिनिज  बर्ल्ड  रेकडर्स डटकमबाट साभार

प्रकाशित: ६ भाद्र २०८१ ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App