१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालको सिटी स्क्यान बिग्रँदा निजी ल्याबमा जान बाध्य बिरामी

भेरी अस्पतालको बिग्रिएको सिटी स्क्यान मेसिन। तस्बिर: गणेश/नागरिक

धनगढीका जनक चौधरीको टाउकोमा रगत जमेपछि उनका आफन्त खुसिराम चौधरीले हतारहतार भेरी अस्पताल पुर्‍याए। स्वास्थ्य परीक्षणपछि उनलाई अस्पतालले इमरजेन्सीमा भर्नासमेत गरेको छ। टाउकोमा रगत जमेकाले उनको टाउकाको सिटी स्क्यान गर्नुपर्ने भयो। तर, भेरी अस्पतालको उक्त मेसिन बिग्रिँदा उनी निजीमा ल्याबमा गए र स्वास्थ्य परीक्षण गरे।

त्यहाँ उनले महँगो शुल्क तिर्नु पर्‍यो। निजीमा १६ हजार रुपैयाँ शुल्क तिरेको खुसिराम बताउँछन्। भेरी अस्पताल सिटी स्क्यान विभागका प्राविधिकका अनुसार उक्त सेवा भेरीमा आठ हजार रुपैयाँमा हुन्छ। उनलाई शुल्क महँगो मात्र परेन, बिरामीलाई अटोमा राखेर जाँदा उत्तिकै सकस पनि भयो। उनीजस्तै बाँके नौबस्ताका धनिराम थारुले पनि अस्पताल बाहिरको ल्याबमा पुगेर महँगोमा सिटी स्क्यान गरे। उनले निजी ल्याबमा आठ हजार रुपैयाँमा सिटी स्क्यान गरेको बताए। उक्त सेवा भेरी अस्पतालमा चार हजार रुपैयाँ लाग्छ।

पछिल्लो समय भेरी अस्पतालमा करिब १२ वर्ष पुरानो सिटी स्क्यान मेसिन बिग्रिँदा बिरामीलाई सास्तीसँगै निजी ल्याबबाट महँगो शुल्क तिरेर सेवा लिनु पर्ने बाध्यता छ। सिटी स्क्यान मेसिन बिग्रिएपछि भेरी अस्पतालमा उक्त सेवा साउन १३ गतेदेखि बन्द छ। मेसिन पुरानो हुँदा उक्त सिटी स्क्यान मेसिनले पूर्ण रुपमा काम भने गरेको थिएन। पाँच एमएमभन्दा कम रेन्च हुँदा टाउकाको मात्र सिटी स्क्यान हुँदै आएको थियो। शरीरको अन्य भागको सिटी स्क्यान गर्नु पर्दा बिरामीलाई निजी ल्याबमा लिन पर्ने अवस्था थियो।

सरकारले टिचिङ, पाटनलगायतका अस्पतालमा यो मेसिन खरिद गर्दा उपत्यका बाहिर पहिलो पटक नेपालगन्जमा मात्र पठाएको थियो। टिचिङ, पाटन अस्पतालहरुमा यसभन्दा अघि नै नयाँ सिटी स्क्यानहरू खरिद गरिएको छ तर, बाँकेमा भने पहुँच नहुँदा पुरानै मेसिनबाट काम चल्दै आएको छ। लामो समयसम्म काम गर्दा बेलाबेला मेसिन बिग्रिँदै आएको थियो। अब यसले काम गर्न सक्ने अवस्थामा नभएको अस्पतालले जनाएको छ। अहिले सिटी स्क्यान मेसिनको एक्स–रे ट्युब बिग्रिएको भेरी अस्पतालका रेडियोलोजी इन्चार्ज विश्वनाथ शर्माले जानकारी दिए। यो मर्मतका लागि चीनबाट सामान आउनु पर्ने भएकाले महँगो पर्ने बताइएको छ।

यो मेसिन १६ सल्याइसको मात्र हो। सरकारले अब एक सय २८ सल्याइसका मेसिन राख्ने मापदण्ड बनाएको छ। भेरी अस्पतालमा बिरामीको अत्यधिक चाप हुँदा यो मेसिनले मात्र काम गर्न नसकिने पश्चिम नेपालका बिरामी लाभान्वित हुने यस अस्पतालमा नयाँ सिटी स्क्यानको आवश्यकता भएको उनी बताउँछन्। ‘मैले बेलाबेला अस्पताल विकास समिति र प्रशासनसँग नयाँ मेसिनको माग गरेको छुँ,’ उनले भने, ‘एकातिर बिरामीको संख्या बढ्दै जाने र अर्कोतिर मेसिनको स्तरोन्नति नबढाउने हो भने माग धान्न गाह्रो पर्छ।’  ‘मर्मत गर्न ६०/७० लाख रुपैयाँ लाग्छ,’ उनले भने, ‘नयाँ खरिद गर्न बजेट छैन।’

दैनिक १०/१५ जना सिटी स्क्यानका लागि बिरामी अस्पताल पुग्छन्। सरकारी अस्पतालमा सस्तो हुने आशामा आएका बिरामी मेसिन बिग्रिँदो महँगो शुल्कमा पर्ने गरेको खुसिराम चौधरीले जनाए।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० मा व्यवस्था भएअनुसार अस्पतालले शड्ढया संख्याअनुसार उपकरण, जनशक्ति र भौतिक पूर्वाधार तयारी अवस्थामा राख्नुपर्छ । तर, अस्थिर सरकार, राजनीतिक नियुक्ति, कर्मचारीमा ढिलासुस्ती, नियमनकारी निकायको बेवास्तालगायत कारणले भेरी अस्पतालले तोकिएको मापदण्डअनुरूप सेवा दिन सकिरहेका छैन।

प्रकाशित: ३१ श्रावण २०८१ १८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App