अहिले देशभर भइरहेको वर्षा रोकिएलगत्तै डेंगी संक्रमण फैलिने र डेंगीसँगै जिका भाइरस र चिकनगुनियाँ फैलिने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले औंल्याएको छ। भारतका विभिन्न ठाउँमा देखा परेको जिका भाइरस नेपालमा पनि फैलिने जोखिम देखिएको इपिडिमियोलोजी कीटजन्य रोेग शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।
‘यो वर्ष जिका भाइरसको पनि जोखिम छ,’ उनले भने । विगतमा अन्य देशमा देखा परेको जिका भाइरस यो वर्ष भारतमा देखिएको र भारतबाट सजिलै नेपालमा आउन सक्ने भएकाले जोखिम बढेको दाहालको भनाइ छ। तथ्यांकअनुसार भारतमा हालसम्म सात जनामा जिका भाइरस पुष्टि भइसकेको छ।
‘खुला सिमाना छ। आवतजावत गर्नेबाटै भाइरस सर्ने हो,’ उनले भने। उनका अनुसार डेंगी संक्रमण गराउने किट एडिस प्रजातिको लामखुट्टे नेपालमा पर्याप्त रहेको र यही लामखुट्टेले डेंगी, चिकनगुनियाँ र जिका भाइरस सार्ने भएकाले जिका भाइरसको संक्रमण हुने जोखिम छ।
नेपालमा जिका भाइरसको संक्रमण अहिलेसम्म पुष्टि नभए पनि जोखिम भने देखिएको ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखा प्रमुख डा. शेरबहादुर पुनले बताए। ‘नेपालमा यो भाइरस संक्रमणबारे नियमित परीक्षण नभएकाले यसको पुष्टि गर्न सकिएको छैन तर भारतमा यसको संंक्रमण पुष्टि भएकाले जोखिम बढेको छ,’ उनले भने । गर्भवतीलाई जिकाको संक्रमण भए अपांगता भएका शिशुको जन्म बढ्ने पुनको भनाइ छ।
सन् २०१५ मा ब्राजिलमा जिका भाइरसको प्रकोपका कारण अति सानो टाउको भएका शिशुको जन्मदर बढेको पाइएको थियो। यस्तो जोखिम नेपालमा पनि भएकाले डेंगी संक्रमण गराउने एडिस एजिप्टाई लामखुट्टेको वृद्धि रोक्नुपर्नेमा पुनले जोड दिए।
नेपालमा २०८० सालमा चिकिनगुनियाँ फेला नपरेको कीटजन्य शाखाका प्रमुख दाहाल बताउँछन्। तर यसको जोखिम नियन्त्रण गर्न परीक्षणलाई वृद्धि गर्ने योजना रहेको उनले बताए । यसका साथै जिका भाइरस जोखिमको सूचकांक सचेत भई हेरिरहेको र सूचकांकको निष्कर्षअनुसार परीक्षण अघि बढाउने दाहालले बताए। डेंगी र चिकनगुनियाँको लक्षण मिल्दाजुल्दा हुन्छन्।
डेंगी संक्रमण भए आन्तरिक रक्तश्राव हुन्छ अनि शरीरबाट सेतो रगतको मात्रा नष्ट भई बिरामी कमजोर बन्छन्। डेंगी पटकपटक भए डेंगी सकसिन्ड्रोम भई बिरामीको मृत्युसमेत हुन सक्छ। दैनिक एक/दुई जनाका दरले डेंगी संक्रमित बिरामी उपचारमा आइरहेको सरुवा रोेग विशेषज्ञ डा. विमल चालिसेले बताए। गत सातासम्मको तथ्यांकअनुसार ६ महिनाको अवधिमा ७३ जिल्लामा डेंगी संक्रमण फैलिसकेको छ भने १४ सय ३२ जनामा डेंगी पुष्टि भइसकेको छ।
बाढीसँगै पानीजन्य रोगको संक्रमण
वर्षाका कारण पानीको मुहान दूषित हुँदा पानीजन्य रोगको संक्रमण बढ्ने भएकाले प्रत्येक नागरिकलाई सचेत हुन स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले आग्रह गरेको छ। वर्षायामको भेलका कारण पानीको मुहान दूषित बनेको हुन्छ। त्यही पानी हामीले प्रयोग गर्ने धारामा पुग्छ। यस्तो पानी शुद्धीकरणबिना पिए हैजा, आउँ, टाइफाइड, झाडापखालाजस्ता रोेग लाग्छन्। यीमध्ये केही रोगले ज्यानै लिने जोखिमयुक्त हुन्छन्। हैजा र झाडापखालाको समयमै उपचार नभए शरीरमा जलवियोजन हुने, मिर्गौला फेल हुनेजस्ता जटिलता आई मानिसको मृत्युसमेत हुन्छ।
ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखा प्रमुख डा. शेरबहादुर पुनका अनुसार जमिनमा जमेको फोहोर पानीका कारण लाग्ने अर्को रोेग हो लेप्टोस्पाइरिस । यसको संक्रमण भएमा कलेजो तथा मिर्गौलामा असर गर्छ। ‘समयमै उपचार नभएमा जन्डिस हुन्छ,’ उनले भने। वर्षात्का कारण धमिलो बनेको जमिनमाथिको पानीमा ‘लेप्टोस्पाइरिस’ नामक किटाणु हुन्छन्। यो किटाणु मुुसाले पिसाबबाट बाहिर फाल्छ। बाहिर फालेको लेप्टोस्पाइरिस साना घाउबाट मानिसको शरीरभित्र प्रवेश गर्छ।
यी रोगबाट बच्न पानी उमालेर वा क्लोरिनको झोल तथा ट्याब्लेट राखेर मात्र पानी शुद्धीकरण गर्ने, व्यक्तिगत सफाइमा ध्यान दिने, शौचालय गएपछि साबुनपानीले राम्रोसँग हात धुने, बासी–सडेगलेका खाना नखानेजस्ता उपाय अपनाउन चिकित्सकले सुझाएका छन्। यसका साथै डेंगी, चिकनगुनियाँ र जिकाबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट बच्न उनीहरूको सुझाव छ।
प्रकाशित: ३१ असार २०८१ ०६:४६ सोमबार