मनसुन सक्रिय भएदेखि नेपालमा ठूलो जनधनको क्षति भइसकेको छ। बाढी, पहिरो, चट्याङजन्य विपद्बाट हालसम्म एक सयभन्दा बढीको ज्यान गइसकेको छ। त्यस्तै सयौँ सङ्ख्यामा पशुचौपाया मरेका छन्। ठूलो भौतिक सम्पत्तिको हानी भएको छ। तर, सरकारले विपद् व्यवस्थापनमा आवश्यक काम गर्न नसकेको विज्ञहरूले बताइरहेका छन्।
सङ्घ, प्रदेश र स्थानीय तहले समन्वयका साथ काम नगर्दा नागरिकहरू सरकारप्रति सन्तुष्ट देखिँदैनन्। अब बन्ने नयाँ सरकारले विपद् व्यवस्थापनमा पूर्वतयारी गर्न आवश्यक रहेको विज्ञहरुले सुझाव दिएका छन्। उनीहरूले यस वर्ष विगतको तुलनामा धेरै भारी वर्षा हुने आँकलन रहेको र असोजसम्म नै अत्याधिक वर्षा हुने भएकाले यो अवधिमा सरकारले अहिले भएका विपद्का घटनाबाट पाठ सिकेर एकीकृत अवधारणा बनइ काम गर्नुपर्ने सुझाव दिन्छन् जनस्वास्थ्यविद् डा. सुरेश तिवारी।
विपद्पछिको स्वास्थ्यमा आउने समस्यालाई मध्यनजर गरेर देशभरका स्वास्थ्य संस्थाहरू क्रियाशिल बनाउनुपर्ने उनले बताए।
उनले विपद्का घटनापछि आउने हैजा, झाडापखाला, टाईफाइडका समस्यालाई नजरअन्दाज नगर्न सरकारलाई सुझाव दिए। संरचनाहरूलाई सचेततापूर्वक पूर्वतयारीका साथ परिचालन गर्न र आफ्नो प्रदेशमा केही भएको छैन भनेर ढुक्कका साथ बस्ने छुट नरहेको बताए।
प्राकृतिक प्रकोपहरूलाई समयमै व्यवस्थापन गर्न नसके थाम्नै नसक्ने संकटमा पर्ने उनको भनाइ छ।
प्राकृतिाक प्रकोपको क्षति कम गर्न वा यसको रोकथामका लागि के–के गर्नुपर्छ भन्ने प्रश्नमा उृनले भने, ‘प्राकृतिक प्रकोप भन्ने बित्तिकै यसले ठूला दुई वटा पक्षमा असर गर्छ भन्ने बुझ्नुपर्छ। एउटा प्रकृतिलाई नै गर्छ भने अर्को प्राणीलाई गर्छ। यी दुई वटा नै जोड्दा समग्र इको सिस्टममा नै संकट सृजना गर्ने हुन्छ। र खास गरी हाम्रो जस्तो देश, त्यसमा पनि हाम्रो तराईको भूभाग, त्यहाँमाथि रहेको चुरे, महाभारत र हिमाल जुन यो हाम्रो जियोलोजिकल कम्पोजिशन भन्छाँै हामी। यदी हामीले यस्ता प्राकृतिक प्रकोपहरूलाई समयमै व्यवस्थापन गर्न सकेनौँ भने यसले प्रकृति र प्राणीलाई दिगो रुपमा असर गर्ने र मुलुकले भोलि एउटा थाम्नै नसक्ने संकटमा हामी पुग्न सक्ने देखिन्छ।’
उनले प्रकृति र प्राणीलाई असरबाट जोगाउनका लागि सरकार एकीकृत अवधारणामा चुकेको बताए।
उनले भने, ‘सरसर्ति हेर्दा सरकारको एकीकृत नीति र एकीकृत संरचना व्यवस्थित रुपमा परिचालित नभएको अवस्थामा सबैले हेर्ने कतातिर छ भन्दा सिंहदरबारतिर रहेको गृह मन्त्रालय हो। तर, हामीले यो देशमा संविधान आईसकेपछि संवैधानिक व्यवस्थाबाट सृजना भएका संवैधानिक अधिकारसहितका सरकारहरू छन् तीन तहका। तीन वटै तहका सरकारले अरुलाई होइन, आफैँलाई हेर्नुपर्ने बेला आएको छ। र, आफ्नो अधिकारलाई कार्यान्वयन गर्नुपर्ने बेला आएको छ। विपद्मा सरकार कुर्नु भनेको पनि हाम्रो उदासिनता हो, जनताको उदासिनता हो। त्यसले गर्दा विदपबाट जोगिन जनताको तहबाट पनि सचेत हुनुप¥यो।’
बाढी र पहिरोसँग प्रकृतिले जुन संकट भोगिराखेको छ यो कम हुँदै जाँदा मत्थर हुने, बाटाहरू खुल्ने एउटा सहजतामा जाने उनको भनाइ छ। तर त्यहाँ काम गर्ने निकायले निरन्तर रुपमा काम गरिराख्नु पर्ने पनि उनले बताए।
‘बाढी पहिरो पछि सबैभन्दा पहिलो समस्या खानेपानीको हुन्छ। पानीको स्रोतहरुमा खलबली हुन्छ। पानीका स्रोतहरु दुषित हुन्छन्। र, फोहोरमैला व्यवस्थापन प्रक्रिया अवरुद्ध हुन्छ। तिनीहरूबाट दुषित वातावरणको सृजना हुन्छ। साथसाथै चौपायहरू र प्राणीहरूको मृत्यु र त्यसको शव व्यवस्थापनको कमीबाट पनि एउटा दुषित वातावरणको सृजना हुन्छ। र समग्र हेर्नुभयो भने माटो दुषित हुन्छ, पानी दुषित हुन्छ। हावा दुषित हुन्छ,’ उनले भने, ‘यसलाई निर्मलीकरण गर्ने प्रक्रियाहरू पनि अवरुद्ध भइरहेका हुन्छन्। यी सबै अवस्था अवरुद्ध हुँदा जुन हैजा, झाडापखाला, टाईफाइड जस्ता रोगले आक्रमण गर्छ।’
प्रकाशित: ३० असार २०८१ १२:२४ आइतबार