२ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

रिएजेन्ट अभावमा वीरकै बिरामी मारमा

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा रिएजेन्ट नभएपछि प्रयोगशाला परीक्षण सेवा ठप्प भएको छ। रिएजेन्ट अभावमा विभिन्न नमुना परीक्षण हुन नसकेपछि बिरामीले सकस झेल्नुपरेको छ।

यसबाट थायरोइड, भिटामिन डी, भिटामिन बी–१२, सिभिसी, क्यान्सरको जिन, पिटीआइएनआर, सिकेन्याक, सिएफएफ टिआईलगायत परीक्षण रोकिएको अस्पतालले जनाएको छ।

बिरामीले यस्तो सेवा एक महिनादेखि पाउन सकेको छैनन्। प्रयोगशाला परीक्षण बन्दा हुँदा अस्पतालमा आउने सबै बिरामीले दुःख पाएको स्वास्थ्य बिमा तथा सामाजिक सेवा एकाइ इन्चार्ज हरि भेटवालले बताए। उनका अनुसार लामो समयसम्म लाइनमा बसेका बिरामीले पालो आएपछि ‘यो या त्यो जाँच छैन’ भन्दा थप सास्ती पाएका छन्। ‘घण्टौं लाइनमा बसेका बिरामी वीर अस्पतालमा आवश्यक सेवा पाउन नसकेपछि निजी क्लिनिकमा जान्छन्,’ उनले भने।

अस्पतालको खरिद एकाइ प्रमुख र उपचसचिव सरुवा भएपछि समस्या आएको खरिद एकाइका कर्मचारी अग्नि वस्यालले बताए। ‘पुराना कर्मचारी सरुवा भए, नयाँ आइसकेका छैनन्,’ उनले भने। अस्पतालका एक कर्मचारीका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि वीर अस्पताललाई विनियोजन गरेको बजेट कमी भएको र आपूर्तिकर्तालाई समयमै बिल चुक्ता गर्न नसक्दा समस्या आएको हो।  वीर अस्पताल मुलुककै पुरानो सरकारी अस्पताल हो। यहाँ दैनिक तीन हजारजति बिरामी स्वास्थ्य परीक्षण र उपचारमा पुग्छन्।

लामो समयदेखि रिएजेन्ट अभाव भएपछि मंगलबार वीर अस्पताल प्रशासन र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको संयुक्त बैठक बसेको थियो। बैठकले छिट्टै खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको वीर अस्पताल प्रयोगशाला प्रमुख डा. निषा गौचनले बताइन्।

चालु आर्थिक वर्षमा बजेट कमीका कारण अस्पतालले रिएजेन्टसहित विभिन्न सामग्री खरिदमा अप्ठेरो झेल्नुपरेको निर्देशक डा. सन्तोष पौडेलले बताए। उनका अनुसार महँगोमा किन्नुपर्ने रिजेन्टहरू बजेट अभावका कारण समयमै टेन्डर प्रक्रियामा जान नसक्दा समस्या उत्पन्न भएको हो।

क्यान्सर लगायत परीक्षणमा चाहिने रिएजेन्ट धेरै महँगा छन्। उनले रिएजेन्ट अभावमा प्रयोगशाला परीक्षण सेवा दिन नसक्दा बिरामी प्रभावित भएको बताए ।

प्रकाशित: ३ जेष्ठ २०८१ ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App