११ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

घातक सिन्थेटिक ड्रग

मार्च २०२४ मा अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले भियनामा आयोजित संयुक्त राष्ट्रसंघको नार्कोटिक्स वा ड्रग्स नियोगको एक बैठकलाई सम्बोधन गर्ने क्रममा अमेरिकामा १८ देखि ४५ वर्ष उमेर समूहका मानिसको मृत्युको सबैभन्दा ठुलो कारण सिन्थेटिक ड्रग्स वा ओपियोइड्स भएको बताए। उनले भनेझैं हालै प्रकाशित एक प्रतिवेदनअनुसार सन् २०२२ मा सिन्थेटिक औषधिको ओभरडोजका कारण विश्वमा १ लाख ८ हजार मानिसको मृत्यु भएको थियो।

अमेरिका मात्र होइन, क्यानडा पनि सिन्थेटिक ड्रग्सको समस्यासँग जुधिरहेको छ। ल्याबमा बनाइने सिन्थेटिक ओपियोइड्सको लतबाट छुटकारा पाउन गाह्रो छ र सिन्थेटिक ओपियोइड्स दुरुपयोगको समस्या अहिले कैयौं देशमा फैलिएको छ। अमेरिकी विदेशमन्त्रीले विश्वको कुनै पनि देशले एक्लै यो समस्यासँग जुध्न नसक्ने बताएका छन्।

ओपियोइड्स के हो?

सिन्थेटिक अफिमबाट निस्कने पदार्थको जस्तै प्रभाव ओपियोइड्सको हुने फोरेन्सिक केमिस्ट तथा बेलायत सरकारको ड्रग्सको दुरूपयोग समितिका सल्लाहकार रिक ट्रेबल बताउँछन्।

‘अफिमबाट बन्ने पदार्थलाई ओपियोइड्स भनिन्छ। उदाहरणका लागि मोर्फिन इन। यी अफिम पोपीजस्ता प्राकृतिक पदार्थबाट बनाइन्छ। जबकि सिन्थेटिक ओपियोइड्स प्रयोगशालाहरूमा बनाइन्छ,’ उनी भन्छन्। ट्रेबलका अनुसार सिन्थेटिक ओपियोइड्स मोर्फिनभन्दा सयौं गुणा बढी शक्तिशाली हुन्छ।

सिन्थेटिक ड्रग्स वा सिन्थेटिक ओपियोइड्सले हाम्रो मस्तिष्कको त्यही भागलाई असर गर्छ, जहाँ बिरुवाबाट बनेको ओपियोइड्सले गर्छ। ओपियोइड्सको प्रयोग दुखाइ निवारकका रूपमा गरिन्छ।

सल्लाहकार ट्रेबल भन्छन्, ‘सिन्थेटिक ओपियोइड्समा एक रिसेप्टर हुन्छ, जुन दुखाइ कम गर्न वा बिरामीलाई बेहोस पार्न प्रयोग गरिन्छ। तर यस रिसेप्टरको एउटा नराम्रो प्रभाव यो हो कि यसले व्यक्तिको श्वासप्रश्वास प्रणालीलाई दबाउँछ। ‘ओपियोइड्स धेरै मात्रामा प्रयोग गरियो भने व्यक्ति निसास्सिएर मर्न सक्छ,’ उनी भन्छन्।

दुरुपयोगका घटनाहरू

सन् १९५० को दशकमा औषधि कम्पनीहरूले ओपियोइड्सको लाभकारी गुणहरूको नक्कल गरेर सिन्थेटिक ओपिओइड्स बनाउन थाले। अहिले बजारमा सयौं प्रकारका सिन्थेटिक ओपियोइड्सहरू उपलब्ध छन्। फैटानिल एक लोकप्रिय सिन्थेटिक ओपियोइड्स हो।

सल्लाहकार ट्रेबल भन्छन्, ‘शल्यक्रिया गर्नुअघि बिरामीलाई बेहोस बनाउन धेरै पटक सिन्थेटिक ओपियोइड्स दिइन्छ। त्यसबेला बिरामीलाई श्वासप्रश्वास कायम राख्न अक्सिजन दिइन्छ।

मोर्फिनको प्रयोगले बिरामीलाई लामो समयसम्म चक्कर लाग्छ तर सिन्थेटिक ओपियोइड्सको प्रयोगले यस्तो हुँदैन। सिन्थेटिक ओपियोइड्स प्रसव वेदनाको बेला हुने दुखाइ कम गर्न पनि प्रयोग गरिन्छ।’ चिकित्सकका अनुसार सिन्थेटिक ओपियोइड्सका प्याचहरू क्यान्सर बिरामीहरूको पीडा कम गर्न प्रयोग गरिन्छ।

कैयौं देशमा सिन्थेटिक ओपियोइड्सलाई दुखाइ निवारक वा दुखाइ कम गर्ने औषधिका रूपमा प्रयोग गरिन्छ। तर सन् १९९० को दशकमा यसको दुरुपयोगका घटनाहरू सार्वजनिक हुन थालेका हुन्। ट्रेबलका अनुसार अमेरिकाका केही डाक्टरले सिन्थेटिक ओपियोइड्सको अत्यधिक प्रिस्क्रिप्सनका कारण ठुलो संख्यामा मानिसहरू यसको लतमा परेका थिए।

अत्यधिक पिस्क्रिप्सनलाई नियन्त्रण गर्न अमेरिकी सरकारले खास कदम चालेपछि लागुपदार्थको यसअघि नै लत परिसकेका मानिसहरूले यसको विकल्प खोज्न थालेका हुन्। यही ओपियोइड्सले अमेरिकी औषधि बजारमा हेरोइनलाई प्रतिस्थापन गर्‍यो। मानिसहरूले हेरोइनको साटो फेन्टेनिल प्रयोग गर्न थाले।

विश्वका धेरै देशमा यो समस्या

धेरै देशका सरकारहरूले अवैध ओपियोइड्समा प्रयोग हुने नसालु पदार्थलाई प्रतिबन्ध लगाएका छन्। तर उत्पादकहरूले यी पदार्थहरूमा प्रयोग हुने सामग्रीहरूको अवयव परिवर्तन गरेर नयाँ ओपियोइड्सहरू गैरकानुनी हिसाबले बनाउन थालेका छन्।

ट्रेबलका अनुसार नेटाजिन ओपियोइड्सहरू अहिले धेरै ठाउँमा बेच्न थालिएको छ। नेटाजिन फेन्टानिलभन्दा झन् खतरनाक ड्रग हो। बेलायतमा पनि नेटाजिनको ओभरडोजका कारण ज्यान गएको घटना सार्वजनिक भएका छन्।

बेलायत सरकारले फेन्टानिल र नेटाजिनलाई प्रतिबन्ध लगाएको छ तर धेरै मानिसले इन्टरनेटमार्फत यी औषधि प्राप्त गर्छन् र तिनीहरूलाई आफ्नो वरपरका क्षेत्रमा बेच्छन्।

यसरी सिन्थेटिक ओपियोइड्सको दुरूपयोगको समस्या विश्वका धेरै देशमा फैलिएको छ। विश्वमा लागुऔषध र ओपियोइड्स दुरूपयोगबारे धेरै कमलाई मात्र जानकारी रहेको लागुऔषध र अपराधको अध्ययनसम्बन्धी संयुक्त राष्ट्रसंघीय अनुसन्धान विभागककी प्रमुख डा. एन्जेला मे ठान्छिन्।

‘विश्वभर लागुऔषधसम्बन्धी मृत्युमध्ये ७० प्रतिशत ओपियोइड्स दुरूपयोगको कारणले हुने गर्छ। यसले अन्य औषधिहरूको तुलनामा ओपियोइड्स समस्या कत्तिको गम्भीर छ भनेर देखाउँछ,’ उनी भन्छिन्।

अमेरिकामा यो समस्याको मुख्य कारण फेन्टानिलको प्रयोग हो तर विश्वका अन्य देशमा अन्य सिन्थेटिक ओपियोइड्सका कारण यो समस्या फैलिरहेको छ। डा. एन्जेला मेका अनुसार संसारभरि लतका कारण सिन्थेटिक ओपियोइड्सको प्रयोगमा वृद्धि भइरहेको छ।

उदाहरणका लागि मध्यपूर्व र पश्चिम अफ्रिकाका क्षेत्रहरूमा लतका कारण अर्काे ड्रग ट्रामाडोल प्रयोग भइरहेको छ। एक तथ्यांकका अनुसार नाइजेरियामा कम्तीमा ५० लाख मानिसले लतका लागि ट्रामाडोल लिने गरेका छन्। यो समस्या अफ्रिका अन्य देश घाना, सेनेगल र बेनिनमा पनि उत्तिकै छ।

गाँजा खेतीमा प्रतिबन्ध लगाउँदा के भयो?

२० वर्ष पहिला तालिबानले अफगानिस्तानमा अफिम खेती गर्न प्रतिबन्ध लगाएपछि धेरै युरोपेली देशमा लतका कारण सिन्थेटिक ओपियोइड्सको प्रयोग बढ्न गएको थियो। डाक्टर एन्जेला मेले सन् २००० मा तालिबानले अफिम खेतीमा प्रतिबन्ध लगाएपछि हेरोइनको अभाव भएको बताइन्। इस्टोनियालगायत उत्तरी युरोपका केही देशमा लतका कारण सिन्थेटिक ओपियोइड्सहरूको प्रयोग बढेको देखिएको थियो।

सन् २००१ को अन्त्यमा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरी तालिबानलाई हटायो। त्यसपछि त्यहाँ अफिम खेतीमाथिको प्रतिबन्ध पनि हट्यो। तर सन् २०२२ मा अफगानिस्तानमा तालिबान फेरि सत्तामा आयो र अफिम खेतीमा पुनः प्रतिबन्ध लगाइयो।

डा. एन्जेला मेका अनुसार शक्तिशाली सिन्थेटिक ओपियोइड्सले धेरै देशका बजारमा हेरोइनको स्थान लिनु चिन्ताको विषय हो। संख्याका हिसाबले विश्वभर हेरोइन प्रयोगकर्तामा २५ प्रतिशत छन्। यसको अर्थ पुरुषले बढी हेरोइन प्रयोग गरिरहेका छन्। तर लतका लागि सिन्थेटिक ओपियोइड्स प्रयोग गर्नेमा महिलाको संख्या बढी छ। ‘यसको एउटा कारण के हो भने अधिकांश स्थानमा सिधै औषधि पसलबाट यो किन्न पाइन्छ। अर्को कारण भनेको गैरकानुनी ठाउँबाट हिरोइन किन्न महिला डराउनु हो,’ डा. मे भन्छिन्।

यसो हुँदाहँुदै पनि सिन्थेटिक ओपियोइड्सको बढ्दो प्रचलन के कारणले भइरहेको भन्ने चासोको विषय बनेको छ। एन्जेला मेका अनुसार वनस्पतिबाट बनेको हेरोइनजस्ता लागुऔषध अफगानिस्तान, म्यानमार र मेक्सिकोजस्ता थोरै देशमा मात्र उत्पादन हुने गरेको छ। किनभने यो कुरा त्यहाँको मौसम र जमिनमा पनि निर्भर हुन्छ। सिन्थेटिक ओपिओइड कुनै पनि देशमा उत्पादन गर्न सकिन्छ। प्रयोगशालामा उत्पादन गर्दा यसको लागत कम पर्छ र तस्करी गर्न पनि सजिलो हुन्छ।

फेन्टानिल कहाँ उत्पादन गरिन्छ?

सिन्थेटिक ओपियोइड्सको उत्पादन र तस्करीका बारेमा खोज पत्रकार र लेखक बेन वेस्टहफ भन्छन्, ‘अमेरिकामा प्रयोग हुने अधिकांश अवैध फेन्टानिल चीनमा उत्पादन हुने गरेको छ ।’ फेन्टानिल इन्क नामक चर्चित पुस्तकका लेखक वेस्टहफले गोप्य रूपमा चीनका फेन्टानिलमा प्रयोग हुने रसायनहरू उत्पादन गर्ने विभिन्न कारखानामा भ्रमण गरेका थिए।

आफूलाई तस्करका रूपमा परिचय दिएर उनले फेन्टानिलको ठुलो मात्रा किन्न चाहेको बताएका थिए। उनले भने, ‘म सांघाई सहरनजिकैको एउटा प्रयोगशालामा गएँ, जुन निकै सानो थियो र त्यहाँ ५–६ जनाले काम गरेका थिए तर त्यहाँ ठुलो परिमाणमा फेन्टानाइल उत्पादन भइरहेको थियो। मैले सामान किन्ने कुरा गरें तर हामीबीच पैसाको लेनदेन भएन।’

भ्रमणका क्रममा खोज पत्रकार तथा लेखक वेस्टहफ बुहानमा एउटा प्रयोगशाला पुगेका थिए। सम्भवतः विश्वकै सबैभन्दा ठुलो फेन्टानिलमा प्रयोग हुने रसायनको यो कारखानामा करिब ७०० जनाले काम गरेका थिए। ती कामदारमध्ये कैयौंले होटेलमा समेत काम गरिरहेका थिए र होटलमा सयौं मानिस आबद्ध सेल्स टिम थियो।

चीन कसरी केन्द्र बन्यो?

सिन्थेटिक ओपियोइड्सको उत्पादनको केन्द्र चीन बन्नुमा त्यहाँ उत्पादन लागत सस्तो पर्नु रहेको बेन वेस्टहफ ठान्छन्। ‘त्यहाँ यो रसायन उत्पादन गर्न ठुलो संख्यामा प्रशिक्षित रसायनविद् र वैज्ञानिकहरू पाइन्छन्। चीनमा वैध रूपमा औषधि उत्पादन गर्ने धेरै औषधि कम्पनीहरू पनि छन्। कतिपय केमिकल र औषधि बनाउने कम्पनीहरू चीनमा वैध छन् तर अमेरिकाजस्ता अन्य देशहरूमा अवैध छन्,’ उनी भन्छ्न।

वेस्टहफका अुनसार यी रसायनहरू सिधै अमेरिका पुग्दैनन्। सुरुमा यिनीहरूलाई मेक्सिको पठाइन्छ। यी रसायनहरू र प्रभावकारी हुन्छन् कि एक किलोग्राम केमिकलबाट लाखौं चक्की बनाउन सकिन्छ। यही कारणले कन्टेनरमा लुकाएर १० देखि २० किलोसम्म केमिकल पठाउन त्यति गाह्रो हँुदैन। मेक्सिकोका लागुऔषध कार्टेलहरू वा तस्कर गिरोहले फेन्टानिल चक्कीहरू बनाउन आफ्ना कारखानाहरूमा यो रसायन प्रयोग गर्छन्।

बेन वेस्टहफका अनुुसार मेक्सिकोका कार्टेलहरूले जंगलमा साना कारखानाहरू स्थापना गरेर अवैध रूपमा सिन्थेटिक ड्रगहरू बनाउँछन्। यी ड्रग बनाउनेहरू प्रशिक्षित हुँदैनन् र उनीहरूलाई के बन्दैछ भन्नेसमेत हेक्का हुँदैन। पछिल्ला समयमा कार्टेलहरूले यी प्रयोगशालाहरू सहरहरूमा समेत बनाइएको वेस्टहफ मान्छन्।

यसरी उत्पादन भएका अवैध सिन्थेटिक औषधि अमेरिका पठाइन्छ। अमेरिकाको सीमा सुरक्षा बलले यो तस्करी रोक्ने प्रयासलाई तीव्र बनाएको छ तर यसलाई रोक्न धेरै गाह्रो रहेको बेन वेस्टहफको तर्क छ। किनभने फेन्टानिल हेरोइनभन्दा ५० गुणा बढी प्रभावकारी वा शक्तिशाली मानिन्छ। यस्तो अवस्थामा एक किलो फेन्टानाइल सजिलै लुकाउन सकिने भएकाले बरामद गर्न पनि गाह्रो हुन्छ।

बेन वेस्टहफ थप्छन्, ‘यो बनाउन एकदमै सस्तो छ, त्यसैले तस्करलाई मात्रै समातेर यसको चेन टुट्दैन। बरु हामीले यसको प्रयोग गर्ने मानिसहरूलाई यो कत्तिको खतरनाक छ भनेर सचेत गराउनुपर्छ। कुनै पार्टीमा अवैध रूपमा सेवन गरिएको फेन्टानाइल ज्यानका लागि घातक पनि साबित हुन सक्छ।’

आरोप–प्रत्यारोप

ब्रुकिङ्स इन्स्टिच्युसनका रणनीति र सुरक्षा विषयका वरिष्ठ अनुसन्धानकर्ता डा. वान्डा फेल्बाब ब्राउन विश्वका देशहरूले अवैध फेन्टानिल र अन्य सिन्थेटिक ओपियोइडहरूको समस्याका लागि एकअर्कालाई दोष दिइरहेका ठान्छिन्। पछिल्लो तीन वर्षमा अमेरिकाले सिन्थेटिक ड्रग्सको समस्यासँग जुध्न १७९ अर्ब डलर खर्च गरिसकेको छ तर एक्लैले नियन्त्रण गर्न सक्दैन।

उनी थप्छिन्, ‘अमेरिकाले देशमा अवैध सिन्थेटिक ओपिओइडको समस्यालाई सम्बोधन गर्न चालेका कदमहरू आवश्यक छन् र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पनि महत्त्वपूर्ण छ। तर चीन र मेक्सिकोले यस दिशामा पर्याप्त कदम चालेका छैनन्, जुन चिन्ताको विषय हो।’

अमेरिका र चीनबीचको सम्बन्ध राजनीतिक कारणले तनावपूर्ण छ। तर पछिल्ला केही वर्षमा यस दिशामा निश्चित रूपमा केही प्रगति भएको डा. ब्राउन ठान्छिन्।

‘२०१७ देखि २०१९ सम्म चीनले यस दिशामा सहयोग बढाएको छ। त्यसबेला चीनले त्यहाँबाट फेन्टानिल पठाउनेलाई कानुनी कारबाही गरेको थियो। सन् २०१९ मा चीनले फेन्टानिल औषधिहरूमा नियन्त्रण लगाएको थियो। त्यसको बदलामा चीनले तत्कालीन राष्ट्रपति ट्रम्पको सरकारले चीनमाथि लगाइएको प्रतिबन्धलाई खुकुलो पार्ने र चीनको निर्यातमा लगाइएको कर दर घटाउन चाहेको थियो,’ उनी भन्छिन्। तर अमेरिकाले चीनको यो माग पूरा गरेन।

राष्ट्रपति बाइडेन सत्तामा आएको दुई वर्षपछि पनि अमेरिकाको नीतिमा कुनै परिवर्तन आएन र चीनले यो सहयोग रोक्यो। डा. ब्राउनका अनुसार अमेरिका मात्र नभई राम्रो सम्बन्ध नभएका सबै देशप्रति चीनकौ यस्तो रवैया रहेको छ। चीनले फेन्टानिलको लतलाई अमेरिकाको घरेलु समस्या हो भनेर भन्ने गरेको छ। यसका लागि आफू जिम्मेवार नभएको दाबी गर्दै आएको छ।

तर गत वर्ष नोभेम्बरमा क्यालिफोर्नियामा राष्ट्रपति जो बाइडेन र राष्ट्रपति सी जिनपिङको भेटपछि आपसी सहयोगमा सहमति भएको थियो। यही सहमतिअनुसार चीनले मेक्सिकन कार्टेललाई फेन्टानिलमा प्रयोग हुने सामग्री बेच्ने कम्पनीहरू बन्द ग¥यो। डा. ब्राउनका अनुसार चीनले फेन्टानिलमा प्रयोग हुने सामग्रीको आपूर्तिलाई साँच्चै रोकेको भए पनि यस कार्यको प्रभाव देखिन अझै धेरै समय कुर्नुपर्नेछ।

यो विषयमा मेक्सिको के गर्दै छ?

कुनै पनि विदेशी सरकारका लागि पुलिसका रूपमा मेक्सिकाले काम नगर्ने मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको भनाइ छ। मेक्सिकोको विदेश मन्त्रालयले त्यहाँ फेन्टानिल उत्पादन भइरहेको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। डा. ब्राउनका अनुसार केही ठुला कार्टेलका प्रमुखहरूलाई पक्राउ गरी मेक्सिकोले अमेरिकालाई सुम्पेको छ तर त्यहाँबाट हुने फेन्टानिलको तस्करीविरुद्ध निकै कम स्तरमा कारबाही गरिएको छ।

यसबाहेक तस्करी मात्र नभई मानिसमा रहेको सिन्थेटिक ओपियोइड्सको लत पनि रोक्न ठोस कदम चाल्नुपर्ने चिकित्सक बताउँछन्।

सिन्थेटिक ओपियोइड्सको लत र दुरूपयोगको समस्या अमेरिका, क्यानडा र युरोपका धेरै देशमा तीव्र बन्दै गएको छ। एउटा देशमा तस्करी र उत्पादनमा प्रतिबन्ध लाग्नेबित्तिकै तस्करहरूले तुरुन्तै उत्पादन र अन्य बाटोबाट तस्करी गर्न थाल्छन् र नयाँ बजार खोज्न थाल्छन्।

‘हाल यो ठुलो समस्या नभएका देशहरूमा पनि यो समस्या भविष्यमा फैलिन सक्छ,’ डा. ब्राउन भन्छन्।

प्रकाशित: २६ वैशाख २०८१ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App