७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुका साढे ४३ प्रतिशत किशोरीहरूमा रक्त अल्पता

प्रभावकारी देखिएन निःशुल्क आइरन चक्की वितरण 

सामुदायिक विद्यालयमा वर्षौंदेखि निःशुल्क आइरन चक्की बाँडिँदै आए पनि कपिलवस्तुका साढे ४३ प्रतिशत किशोरीहरूमा रक्त अल्पता (एनिमिया) को समस्या देखिएको छ।

सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ मा अध्ययनरत १२ बर्ष देखि १९ बर्ष उमेरका किशोरीहरूको रगत परीक्षण गर्दा यस्तो तथ्य बाहिर आएको हो।

जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका १० पालिकाका २४ विद्यालयका ४ हजार ७३४ बालिकाको परीक्षण गर्दा २ हजार ५९ बालिकामा रक्त अल्पताको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन श्रीधर खनालले बताए। २४ मध्ये १० विद्यालयका ५० प्रतिशत बढी किशोरीहरूमा रक्त अल्पता देखिएको छ। शरीरमा ११ ग्राम प्रतिशत भन्दा कम हेमोग्लोबिनको मात्रा रहेमा त्यस्तो व्यक्ति रक्त अल्पताको समस्यामा रहने स्वास्थ्यकर्मी बताउँछन्।

गत फागुन १ देखि चैत १ सम्म जिल्लाको १० पालिकाका २४ विद्यालयका किशोरीहरूको क्लोरिभिटिन परीक्षण गरिएको थियो। ७ प्रतिशत ग्राम भन्दा कम हेमोग्लोबिन भएका ( सिबिर एनिमिया)  ४९ जना भेटिएका छन्। यस्तै ७ देखि ९ प्रतिशत ग्राम भएका ३ सय ४७ जना र ९ देखि ११ प्रतिशत ग्रामका १ हजार ६६३ जना किशोरीहरूको पाइएको छ। सबै भन्दा बढी यशोधरा गाउँपालिकाको वासुदेव जनता माबिका ७९ दशमलव ९ ( १ सय ३५ ) किशोरीमा रक्त अल्पता रहेको पाइएको छ। 

यस्तै शिवराज नगरपालिकाको त्रिधुभवन आदर्श मावि पिपरीका ७५ दशमलव ३ प्रतिशत ( १२८ ) किशोरीमा रक्त अल्पता देखिएको छ। मायादेवी गाउँपालिकाको जनता मावि बलुहवाका ७४ प्रतिशत (१२८) किशोरीमा रक्त अल्पता पाइएको छ। महराजगंज नगरपालिकाको जानकी माबिका ७० दशमलव ६ प्रतिशत (१३२) बालिकामा रक्त अल्पता देखिएको छ। कपिलवस्तु नगरपालिकाको तिलौराकोट माबिका ६६ दशमलव २ प्रतिशत (१५१) बालिकामा रक्त अल्पता भेटिएको छ। कृष्णनगर नगरपालिकाको नेत्र ज्योति मावि सोनहवाका ५९ दशमलव २ प्रतिशत (११६) बालिकामा रक्त अल्पताको समस्या छ।

बुद्धभुमी नगरपालिकाको सिद्धार्थ स्मारक माबिका ५६ दशमलव १ प्रतिशत (१६६) बालिकामा रक्त अल्पता देखिएको छ। बाणगंगा नगरपालिकाको ओदारी माबिका ५३ दशमलव ३ प्रतिशत (८०) किशोरीहरूमा रक्त अल्पता देखिएको छ। बुद्धुभुमी नगरपालिकाको भृकुटी माबिका ५१ दशमलव १ प्रतिशत (११४) जना बालिकाका रक्त अल्पता देखिएको छ। विजय नगर गाउँपालिकाको लौटनराम द्रोपती देवी मावि गणेशपुरका ५२ दशमलव ३ (८०) बाल किशोरीमा रक्त अल्पता देखिएको छ। सबै भन्दा कम शुद्धोदन गाउँपालिकाको राष्ट्रिय मावि मुरुफुटवाका २ दशमलव ६ प्रतिशत किशोरीमा मात्र रक्त अल्पता देखिएको छ। शरीरमा रगतको मात्रा हेमोग्लोबिनको कमी भयो भने रक्त अल्पता रोग लाग्ने स्वास्थ्यकर्मी बताउँछन्।

त्यही रोगबाट बचाउन आइरन चक्की दिने गरिएको छ।वर्षौदेखि आइरन चक्की निःशुल्क बाँडिए पनि जिल्लामा रक्त अल्पता रोगीको संख्या झनै बढ्दै गएको छ। सन २०१६ को नेपाल  जनसाङ्ख्यिक प्रतिवेदन अनुसार जिल्लामा ४१ प्रतिशत रक्त अल्पताका रोगी फेला परेका थिए। सन २०११ मा भने ३५ प्रतिशत थियो। १५ देखि ४९ वर्षका सुत्केरी, गर्भवती महिला तथा ६ महिना देखि ५९ महिनाको बालबालिकाहरूमा रक्त अल्पताको समस्या देखिएको छ। कुपोषण र रक्त अल्पताको अवस्थामा सुधार ल्याउन जिल्लामा १० वर्षयता एकीकृत  बहु क्षेत्रीय पोषण कार्यक्रम समेत सञ्चालित छ। सरकारी कार्यालय सहित विभिन्न सरकारी निकायले एकीकृत पोषणका नाममा करोडौँ रुपैयाँ खर्चेका छन्। उता स्वास्थ्य कार्यालयले समेत पोषण कार्यक्रममा वर्षौदेखि कार्यक्रम सञ्चालन गर्दै आएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले जिल्लामा लगानी अनुसार प्रतिफल नआएको बताए। ‘रक्त अल्पता र पोषण कार्यक्रममा जिल्लामा लगानी अनुसारको प्रतिफल नआएको देखियो’ उनले भने ‘पोषण र रक्त अल्पताको समस्यालाई समाधान गर्न ठुलो चुनौती आएको छ।’ शरीरमा आवश्यक पर्ने रगतको मात्रा हेमोग्लोविन कम भए पछि रक्त अल्पताका रोगी हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्। रक्त अल्पताको समस्यालाई हटाउन जिल्लाभरका सरकारी स्वास्थ्य संस्थाहरूबाट निःशुल्करुपमा आइरन चक्की बाँडिने गरिएको छ।

यस्तै विद्यालयमा समेत निःशुल्क रुपमा आइरन चक्की बाडने गरिएको छ  ‘आइरन चक्की वितरण र खाए नखाएको अध्ययन गर्न जरुरी छ’ प्रमुख चौधरीले भने ‘आइरन चक्की खाएर मात्र रक्त अल्पता हट्छ भन्ने नि छैन, पोषिलो खाने कुरा  खाए नखाएको बारे पनि सोधखोज गर्नु पर्छ।’  आइरन चक्की नखाएर मात्र होइन नियमित पोषिलो खानेकुरा नखाइएकाले यो समस्या देखिएको उनले बताए। चेतनको अभाव आनीबानी र व्यवहार परिवर्तन नहुँदा यो समस्या झनै जटिल बनेको उनी बताउँछन्। विद्यालयका किशोरीहरूमा हेमोग्लोबिनको मात्रा कम देखिनु दुःखद कुरा रहेको चौधरीले बताए। फलामजन्य खानाहरू कम खाने गरिएकाले जिल्लामा रक्त अल्पताको समस्या बढेको पाइएको उनले बताए।

यस्तै करेसाबारी नहुनु, गरिबी, चेतना र शिक्षाको अभावले समेत रक्त अल्पताको रोगीको संख्या बढ्नुको कारक रहेको छ। शिक्षा तथा सामान्य इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले बिद्यलायहरुमा पोषण शिक्षा सञ्चालन गरिए पनि अझै रक्त अल्पता र कुपोषणको समस्या हट्न नसकेको बताए। ‘विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई सचेत नबनाई यो समस्याको समाधान गर्न सकिँदैन’ उनले भने। उनले रक्त अल्पता र कुपोषणको कुचक्र हटाउन बिद्यलाय र समुदायमा सचेतना फैलाउनु पर्ने बताए। यसलाई सुधार गर्न आयोडिनयुक्त नुन, भिटामिन ए, परजीवी संक्रमणका बिषयमा गाउँ गाउँमा जानकारी गराउनु पर्ने उनले बताए।

‘रक्त अल्पता र कुपोषणको समस्या हटाउन ठुलो समस्या र चुनौती देखिएको छ, पोषिलो खानेकुरा, व्यवहारमा परिवर्तन नगरी यी समस्याबाट पार लाउन जटिल छ।’ स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स शान्ति भण्डारीले रक्त अल्पता देखिएका किशोरीहरूको शारीरिक मानसिक विकासमा धेरै समस्या आउने बताईन। जिल्लामा उमेर नपुगी विवाह हुनेको संख्या बढी छ। यस्तोमा रक्त अल्पता भएका किशोरीहरू आफै कमजोर हुने र उनीहरुका बच्चा समेत शारीरिक र मानसिकरुपमा कमजोर हुने उनले बताईन। कपिलवस्तुका ६ देखि ५९ महिनाका बालबालिकामा समेत रक्त अल्पता देखिएको छ। 

प्रकाशित: ५ वैशाख २०८१ १८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App