१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सफाचट सरकारी ‘सिभिल अस्पताल’

सरकारी अस्पताल भन्नेबित्तिकै धेरैको अनुमान फोहोर र अस्तव्यस्त होला भन्ने हुन्छ। तर काठमाडौंको मीनभवनस्थित सिभिल अस्पताल भने त्यस्तो अनुमानको विपरीत छ। अर्थात्, सफाचट अस्पतालको उदाहरण बन्न सिभिल सफल छ। हेर्दै जाँदा कुनै अन्तर्राष्ट्रिय स्तरको अस्पतालजस्तो छनक त्यहाँ भेटिन्छ।

अस्पताल छिर्नेबित्तिकै देखिन्छ सफा कम्पाउन्ड। त्यहाँ चारैतिर रहेको सफाचट बगैंचाले जोकोहीलाई आनन्दित तुल्याइदिन्छ। अस्पतालको बहिरंग विभागको हरेक क्षेत्रमा पालो पर्खने बेला सहज महसुस गराउन बिरामीका लागि टेलिभिजन राखिएका छन्। कुर्सीको व्यवस्थापन गज्जबको छ। बहिरंग सेवाका लागि टिकट दुई तरिकाले लिन सकिन्छ, ई–टिकेटबाट तथा लाइन बसेर। लाइन बसेर लिनेका लागि टोकनको व्यवस्था गरिएको छ। ल्याब, एक्सरेका गराउनेको लाम पनि उत्तिकै व्यवस्थित देखिन्छ।

बिरामी र कुरुवाको अनुभवमा बाहिर मात्र नभई भित्र पनि यो अस्पताल सफा र व्यवस्थित छ। अस्पतालको बाल वार्डमा केही दिनअघि भेटिएकी नयाँ बानेश्वरकी राधिका शर्माले स्वास्थ्यमा समस्या देखिएपछि यही अस्पताल आउने गरेको बताइन्। उनले यही अस्पतालमा दुई सन्तान जन्माएकी हुन्।

 उनी सानो बच्चा बिरामी परेपछि अस्पताल पुगेकी थिइन्। उनको दृष्टिमा यो अस्पताल पहिलादेखि नै सफा थियो, अहिले झनै सफा छ। उनका अनुसार सिभिलका वार्डहरू दैनिक तीनपटक सफा गरिन्छ। शौचालयको पनि दैनिक दुई पटक सरसफाइ हुन्छ। नर्स र चिकित्सकले दिने सेवासमेत उत्कृष्ट रहेको उनको अनुभव छ। ‘राम्रो सेवा नभएको भए म सधैं आउने नै थिइनँ नि,’ उनले भनिन्।

बर्न वार्डमा भेटिएका काठमाडौं बुद्धनगरका चूडामणि श्रेष्ठले पनि आफू र परिवारको उपचार गर्नुपरे सिभिलमा आउने बताए। पत्नीको घुँडाको शल्यक्रिया गर्ने सिलसिलामा बिरामी कुरुवाका रूपमा उनी अस्पताल गएका थिए। उनले अस्पतालको सफाइ कुनै निजी अस्पतालको भन्दा कम नरहेको बताए। ‘सिभिलको सफाइ निजी अस्पतालको भन्दा कम छैन,’ उनले भने।

अस्पतालको निजामती कर्मचारी वार्डमा आन्द्राको शल्यक्रियापछि एक युवक डिस्चार्जको तयारीमा थिए। नाम बताउन नचाहने ती युवक काठमाडौंकै थिए। शल्यक्रिया अवधिमा अस्पतालको सेवा र सफाइ दुवै राम्रो लागेको उनले सुनाए। सोही वार्डका अन्य कुरुवाले पनि सरकारी अस्पतालमा फोहोर हुन्छ भन्ने सोच सिभिलले बदलिदिएको बताए। ‘शौचालय पनि सफा, क्यान्टिन पनि सफा,’ एक कुरुवाले भने।

अस्पतालका निर्देशक विधानिधि पौडेलका अनुसार अस्पताललाई सफा र चुस्त राख्न केही भिन्न उपाय अपनाइएका छन्। अस्पतालले केही समयअघि पुरानो सफाइ कम्पनी परिवर्तन गरी नयाँ राखेको छ। नयाँ कम्पनीबाट परिचालित सफाइ कर्मचारीको कामको अनुगमन निरन्तर हुन्छ। यसका लागि प्रत्येक भवनमा नर्सिङ इन्चार्ज र सुपरभाइजरको संलग्नतामा सफाइ र संक्रमण नियन्त्रण हेर्ने संंयन्त्र बनाइएको छ।

संयन्त्रको योजनाअनुसार काम हुने भएकाले अस्पताल सफा राख्ने कार्यमा सफलता मिलेको निर्देशक पौडेलले बताए। उनको विचारमा कम्पनीको प्रभावकारी काम र अनुगमनबाट अस्पताल सफा राख्न सकिन्छ। ‘हरेक विभागमा रहेका सुपरभाइजरले हेरेपछि रिपोर्ट गर्नुहुन्छ,’ उनले भने।

अस्पतालकी नर्सिङ इन्चार्ज सोविका मोनिकारका अनुसार अस्पतालले विश्व स्वास्थ्य संगठनको निर्देशिकाबमोजिम सफाइ र संक्रमण नियन्त्रणको काम गर्दै आएको छ। अहिले सफाइ तथा संक्रमण नियन्त्रणका लागि राष्ट्रिय मापदण्ड अनुसार काम हुने गरेको उनले जानकारी दिइन्। यस्तो मापदण्ड सबै अस्पतालका लागि भए पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासनको भूमिका प्रभावकारी हुने उनले बताइन्। ‘पर्याप्त जनशक्ति, सफाइ सामग्री र अनुगमनको व्यवस्था गरे मात्र अस्पताल सफा राख्न सम्भव हुन्छ,’ उनले भनिन्।

अस्पतालमा बिरामीलाई सहज सेवा दिन हरेक विभागमा आवश्यक जनशक्ति र सेवावधिमा ध्यान दिइएको निर्देशक पौडेलले बताए। उनका अनुसार अस्पतालमा ई–टिकेटमार्फत बिरामीको नाम दर्ता, तीन घन्टामै ल्याब रिपोर्ट, चौबिसै घण्टा फार्मेसी सेवा, बिहान ७ देखि बेलुकी ७ बजेसम्म भिडियो एक्सरे सेवा, सिटी सक्यान, एमआरआई दुई दिनभित्रै पालो पाउने गरी व्यवस्था मिलाइएको छ। ल्याब रिपोर्ट मोबाइलमा पठाउने व्यवस्था, भर्ना भएका बिरामीलाई सेवामा कमजोरी भए उजुरी गर्ने व्यवस्था र सोहीअनुसार तुरुन्तै कमजोरी सच्याउने चलनले चिकित्सक र नर्सिङ सेवा राम्रो बनेको उनको दाबी छ।

आगामी दिनमा हेमोडाइलोसिस, रेडियोथेरापी, बाल आइसियुजस्ता सेवा थप्ने तयारीमा अस्पताल रहेको निर्देशक पौडेलले बताए। सन् २०१० मा स्थापित यो अस्पतालमा सफाइका लागि सुरुदेखि नै संक्रमण नियन्त्रण समिति बनाएर काम थालिएको थियो। यो समिति अहिले हेरेफेर गरी नयाँ बनाइएको छ। नेपाल सरकारका कर्मचारीका लागि भनिए पनि यो अस्पतालले सर्वसाधारणलाई पनि सेवा दिँदै आएको छ।

प्रकाशित: ११ चैत्र २०८० ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App