कालीकोटको शुभकालिका गाउँपालिकाले छात्रा रिजाउन भन्दै आर्थिक वर्ष २०७९/८० मा पालिकाका पाँचवटा माविमा लाखौं रुपैयाँ खर्च गरेर सेनेटरी भेन्डिङ मेसिन जडान गर्यो।
मेसिन जडान हुँदा छात्रा खुसी देखिए तर उनीहरुकाे याे खुसी धेरै दिन भने टिक्न सकेन। शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले छात्रा शैक्षिक सुधार योजना अन्तर्गत २ लाख १६ हजारका दरले प्रत्येक भेन्डिङ मेसिन र कार्ड जडान पनि गरिन्। जडान गरेको दुई महिनामा १० लाख ८० हजारका भेन्डिङ मेसिन प्रयोगविहीन छन्।
आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा आफूले पहिला महिला तथा किशोरीको समस्या पहिचान गरी मेसिन जडान कार्यक्रमलाई विद्यालयस्तरमा कार्यान्वयनतर्फ लगेको शुभकालिका गाउँपालिकाले जनाएको थियो।
कालीकोटका स्थानीय तहले निःशुल्क पाइने सेनेटरी प्याडलाई लाखौंको भेन्टिङ मेसिनमा राखेर अनियमितता गरेका छन्। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले पनि २०७९/८० मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिंहले पालिकाका माविमा ६ वटा भेन्टिङ मेसिन वितरण गरिन्। उनले गरेका भेन्टिङ मेसिन प्रयोगमा छैनन्।
दुवै गाउँपालिकाले कोटेसन गरी कालिकोटकै स्थानीय फर्म रेड इन्टरनेसनलमार्फत खरिद गरेर जडान गरेका थिए। सान्नीत्रिवेणी गाउँपालिकाले पनि २ लाख ३५ हजारका दरले मेसिन र कार्ड खरिद गरेर १४ लाख १० हजार भुक्तानी समेत गरेका छन्। स्थानीय पालिकाले खरिद गरेर वितरण गरेका लाखौंका भेन्डिङ मेसिन प्रयोगमा छैनन्। विद्यालयले पनि झन्झटिलो भएपछि प्रयोगमा ल्याउन नसकिएको जनाएका छन्।
विद्यालय त्यसमा पनि स्थानीय सरकारका उपप्रमुखहरूको मुख्य रोजाइमा खरिद गरेको जिल्लाको खाँडाचक्र नगरपालिकाले पनि पञ्चदेवल माविमा जडान गरेको छ।
स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट ‘सेनेटरी प्याड’ निकाल्ने मेसिन हाल कालीकोटका अधिकांश स्थानीय सरकारका उपप्रमुखको कार्यक्रम बनेको देखिन्छ।
गाउँपालिकापिच्छे फरकफरक मूल्य भुक्तानी भइरहेको र भेन्टिङ मेसिनको उपयोग, स्वास्थ्यका दृष्टिले कति प्रभावकारी छ, विद्यालयमा छात्राहरू प्रयोग गर्छन् कि गर्दैनन् भन्ने हेक्का नराखी खरिद भएको स्थानीय हिक्मतजंग मल्लले बताए।
मिन्स प्याड राख्ने भेन्टिङ मेसिनको बाहिर व्यक्तिगत झैं उपप्रमुखको फोटो राख्ने फेसन पनि कालीकोटमा देखिएको छ। त्यसलाई सस्तो लोकप्रियता भन्दै चर्को आलोचना हुन थालेको छ।
विद्यालयमा राखिएका भेन्टिङ मेसिनमा राखिएका मिन्स प्याड स्माड कार्ड लिएर तान्न कोही पनि जाँदैनन् त्यो कहाँ राखिन्छ, मिन्स प्याड कति दिनपछि फेरबदल गर्ने वा नसकिञ्जेल राखिराख्ने त्यसको जिम्मेवारी सम्बन्धित छात्रा जानकार छैनन्।
समाजमा महिलाले महिनावारी भएका छाउगोठमा बस्ने, अधिकांश ग्रामीण भेकका महिला, गुनियु चोली लगाउने भएका कारण पहिलो त महिनावारीसम्बन्धी जनचेतना नै प्रमुख हो। त्यसमा त्यो स्कुल बाहिरका महिलाको पहुँचमा नभएको स्थानीय जानकारको भनाइ छ।
कालीकोटका केही विद्यालयले विद्यालय नर्स कार्यक्रमअन्तरगत छात्राहरूको समस्यासँग सहजीकरण, प्याड व्यवस्थापन गर्ने गरेकोमा विद्यालयमा सेनेटरी प्याडका लागि भेन्टिङ मेसिन राखेर झन् समस्या भएको छ। छात्रालाई महिनावारी सुरक्षित राख्ने गरेसँगै विद्यालय नर्सको काम पनि विद्यालयमा कम देखिएको छ।
कालीकोटको स्कुल नर्स कार्यक्रम लागु गरेकोमा अहिले विद्यालयमा स्टाफ नर्स पनि छैनन्। खाँडाचक्र नगरपालिकाको विद्यालयमा रहेका स्टाफ नर्स अहिले विद्यालयमा नआउने गरेको पाइएको छ।
नेपाल सरकारले पनि हरेक सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने घोषणा गरेको छ। त्यो मिन्स प्याड गाउँपालिकाका उप्रमुखले ४ लाखको भेन्टिङ मेसिनमा राखेर महँगो बनाएको विश्लेषण हुन थालेको छ। त्यसैमा उपप्रमुख कोषको पैसा स्वास्थ्य क्षेत्रमा खर्च गर्दा पालिकाको स्वास्थ्य शाखालाई समेत जानकारी नदिएर खरिद गरेको भेटिएको छ।
यो वर्ष पनि सेनिटरी प्याड खरिद गर्ने कार्यक्रम भएको र २५ लाख छुट्ट्याएको खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेश शाहीले बताए। विद्यालयमा सेनेटरी प्याड राखिएपछि महिनावारी हुँदा कक्षा छाड्नुपर्ने बाध्यता अन्त्य हुने दाबी उनको थियो। कालिकोटका खाँडाचक्र नगरपालिका, सान्नित्रिवेणी र शुभकालिका गाउँपालिकाले यो मेसिन खरिद गरेर विद्यालयमहरुलाई थमाएका छन्।
शुभकालिकामा यही मेसिनको बिल २ लाख १७ हजारको छ भने खाँडाचक्रमा ४ लाख ५८ हजार, उता सान्नित्रिवेणी गाउँपालिकाले पनि २ लाख २० हजारमा गरेका कारण विवादमा परेको छ। खाँडाचक्रले ४ लाख ५८ हजार २ सय १५ भुक्तानी गरिसकेको छ।
प्रकाशित: १७ फाल्गुन २०८० १३:५२ बिहीबार