१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

विद्यालयमा खोप केन्द्र राख्दा टोलका बालबालिका छुटे

दादुरा–रुबेला खोप अभियान

फाइल तस्वीर

दादुरा–रुबेला खोप अभियानमा सरकारले विद्यालयमा राखेको खोप केन्द्रमा टोलका बालबालिका खोपबाट छुटेको परिवार कल्यण महाशाखा खोप शाखाले जनाएको छ। आइतबार सरकारले दादुरा–रुबेला खोप अभियानसहित छुटेकालाई नियमित खोप अभियान सुरु गरेको हो।

सरकारले खोप लिनबाट कोही नछुटुन् भन्ने उद्देश्यले काठमाडाैं उपत्यकाका तीन जिल्ला र तराईका २१ जिल्लामा विद्यालयमा खोप केन्द्र सञ्चालन गरिएको हो।

खोप अभियानकै पहिलो दिन विद्यालयनजिकका टोलका बालबालिका खोप केन्द्रमा नपुगेको परिवार कल्याण महाशाखा, खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए। ‘हामीले नौ महिनादेखि १५ वर्षमुनिका बालबालिका नछुटुन् भन्ने उद्देश्यले विद्यालयमा खोप केन्द्र राखेको टोलका बालबालिका त्यहाँ गएनछन्,’ गौतमले भने।

गौतमका अनुसार विद्यालयनजिकका टोलमा रहेका तर विद्यालय नपुगिसकेका पाँच वर्षमुनिका धेरै बालबालिका खोप केन्द्रमा नपुगेको पाइएको हो। सरकारले यो उमेर समूहका ५७ लाख बालबालिकालाई दादुरा–रुबेला खोप अभियान र नियमित खोप छुटेकालाई खोप दिने कार्यक्रम रहेको छ।

गौतमका अनुसार दादुरा–रुबेला खोप एकपटक पनि नलिएका र एकपटक लिएका दुवैले लिनुपर्नेछ। नियमित खोप भने कार्डमा हेरेर छुटेको खोप मात्र दिइनेछ। दुवै खोप एकैदिन र एउटै केन्द्रबाट दिन मिल्ने व्यवस्था गरिएको छ।

 सरकारले यी दुवै खोप दिनको लागि फागुन १३ देखि चैत ७ गतेसम्मको लागि देशभर अभियान सञ्चालन हुनेछ। यीमध्ये कतिपय नगरपालिका र जिल्लाले एकदेखि दुई साता र कतिपयले तीन साताभित्र खोप अभियान सञ्चालन गर्ने जनाएका छन्।

खोप अभिायनकै पहिलो दिन विद्यालयको खोप केन्द्रबाट खोप नलिएमा खोप निवारण अभियानमा पुनः समस्या हुने भएकाले काठमाडौं उपत्यकासहित तराईका २१ जिल्लाका बालबालिका खोप केन्द्रमा पुगेर खोप दिनुपर्नेछ।

‘टोलका अभिभावकले स्कुलको बालबालिकाको लागि मात्र खोप केन्द्र हो भन्ने बुझेको देखियो, टोलका सबै बालबालिका विद्यालयकै खोप केन्द्रमा पुग्नुपर्छ,’ उनले भने।

नियमित खोपअन्तर्गत पिसिभी, आइपिभी, पेन्टाभ्यालेन र अभियानअन्तर्गत दादुरा, रुबेला खोप एकै दिन सोही खोप केन्द्रबाट दिन लागिएको हो। दादुरा, रुबेलासँगै पेन्टाभ्यालेन खोप लगाउँदा लहरेखोकी, धनुष्टंकार, भ्यागुते रोगविरुद्ध खोप पदन लागिएको हो।

आइतबार काठमाडाैं जिल्लाभित्र ९ सय ७० वटा स्कुलमा खोप केन्द्र सञ्चालन भएका थिए। कुल १६ सय ७० वटा खोप केन्द्र सञ्चालनमा हुनुपर्नेमा काठमाडाैं महानगरले फागुन १६ गतेदेखि मात्र अभियान सञ्चालन गर्ने भएकोले सबै केन्द्रबाट एकैपटक अभियान सुरु हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालले काठमाडौंले जनाएको छ।

‘अन्य खोप केन्द्रका स्कुले बालबालिका सबैले खोप लिएका छन्,’ जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंकी सूचना अधिकारी शारदा चापागाइँले भनिन्। २४ जिल्लाबाहेक अन्य ५१ वटा जिल्लामा भने विद्यालयबाहिर नियमित खोप केन्द्र सञ्चालनमा छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादु्र बस्नेतले सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयमा पुगेर खोपको शुभाराम्भ गरे।  खोप अभियानमा दादुरा–रुबेलाबाहेक छुटेको नियमित खोप पनि दिइनेछ। एकै दिन दुवै खोप लिन मिल्ने खोप शाखाका प्रमुख गौतमको सुझाव छ।

खोप लिन छुटेमा वलबालिकामा पछि गएर विभिन्न रोगको संक्रमण हुने भएकाले छुटेका खोपहरू र दादुरा रुवेला खोप दुवै नुछटाउन उनले अनुरोध गरेका छन्। दादुरा–रुबेला खोप छुटेको कारण गत वर्ष मात्र नेपालमा १३ भन्दा बालबालिकामा दादुरा संक्रमण भएको थियो भने एकजनाको मृत्युसमेत भएको थियो।

प्रकाशित: १४ फाल्गुन २०८० ०८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App