१२ मंसिर २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

आँखाको ज्योति खाेज्दै लहानमा बंगलादेशी

सीमावर्ती क्षेत्रका नेपाली सामान्यदेखि जटिल प्रकृतिका उपचारका निम्ति पनि भारतका विभिन्न सहर धाइरहेका बेला लहानमा स्थापित सगरमाथा चौधरी आँखा अस्पतालले भारतीय मात्र होइन, अन्य विदेशीलाई आकर्षित गरिरहेको छ।

 बंगलादेशबाट करिब ८ सय किलोमिटर यात्रा गरेर १७ वर्षका मोहम्मद समिम आँखा उपचारका लागि लहान आइपुगे। सस्तोमा आँखाको राम्रो उपचार हुने सुनेपछि उनी लहानको सगरमाथा चौधरी आँखा अस्पताल आइपुगेका हुन्। उनी भारतका विभिन्न अस्पतालमा उपचार गराएर निराश भइसकेपछि आँखाको ज्योति फर्कने आशामा यहाँ आइपुगेका हुन्।

समिमजस्तै आँखाको ज्योति फर्कने आशा बोकेर बंगलादेशबाट १८ जना उपचारका लागि आएको अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले बताए।

 समिमको बायाँ आँखामा प्राथमिक परीक्षणमा ग्लुकोमा र दोस्रो परीक्षणमा मोतीबिन्दु थियो। जसका कारण उनी बायाँ आँखाबाट देख्दैनथे।

भारतको विभिन्न अस्पतालमा उपचार गराउँदा निको नभएपछि आफन्तहरूबाट जानकारी पाएर लहान आइपुगेको उनले सुनाए। यहाँ मोतियाबिन्दुको शल्यक्रियापछि उनले बायाँ आँखाबाट पनि छ्याङ्ङै देख्न थाले। खुसी हुँदै उनले भने, ‘जस्तो सुनेको थिएँ, त्योभन्दा स्तरीय रहेछ यो अस्पताल।’

आँखाको ज्योति खोज्दै बंगलादेशबाट लहान आएका मोहम्मद नजरुलको पनि शल्यक्रियापछि आँखाको ज्योति फर्कियो। वृद्धावस्थामा सहारा खोजेर हिँडडुल गर्ने बाध्यताबाट पार पाएकी उनमा खुसीको सीमा थिएन।

नेपाल र भारतीयमाझ दरिलो विश्वास कायम गरिसकेको यस अस्पताल तेस्रो मुलुक बंगलादेशका आँखा बिरामीमाझ पनि लोकप्रिय छाप छोड्न सफल भएको छ।

यस अस्पतालमा नेपालीसँगै सीमावर्ती भारतीय राज्यहरू, सिक्किम, दार्जिलिङ, असम, मेघालय, झारखण्ड, बिहारलगायत पूर्वोत्तर भारतका सबै राज्यबाट यहाँ बिरामी आइपुग्छन्।

‘भारतको भन्दा तीन गुणा कम दरमा आँखाको शल्यक्रिया हुन्छ,’ अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीले भने, ‘त्यसकारण पनि आँखा उपचारको मुख्य गन्तव्य यो अस्पताल बनेको हो।’

सीमावर्ती सहरका अस्पतालहरूमा ३० देखि ३५ हजारमा हुने आँखाको शल्यक्रिया यहाँ १२ सय रूपैयाँमै हुन्छ। अध्यक्ष चौधरीका अनुसार यहाँ उपचारका लागि आउने बिरामीमा भारतीयको संख्या अलि बढी छ।

यो आँखा अस्पताल मधेस प्रदेशका लागि ‘चिकित्सा पर्यटन’को बलियो स्रोत बनेको छ। चिकित्सा पर्यटनले लहान नगरको व्यापारलाई बढाएको छ। यो अस्पतालले यस क्षेत्रका करिब ४ सय नागरिकलाई प्रत्यक्ष रोजगारी दिएको छ।

 ‘यसबाट होटेल, लज र खुद्रे पसलको व्यापारमा समेत वृद्धि भएको छ। ‘रोजगारीका अवसरहरू पनि सिर्जना भएका छन्,’ अस्पताल प्रबन्धक रोशनले भने, ‘कुल बिरामीमा झन्डै ६० प्रतिशत भारतकै हुने गरेको अस्पतालको रेकर्डबाट खुल्छ।’

गुणस्तरीय, सस्तो र सबैखाले सहजताले उपचार गराउन आउनेमा बढी भारतीय हुने गरेको उक्त आँखा अस्पतालका प्रबन्धक रोशनले बताए।

यो अस्पताल बिरामीले तिर्ने न्यूनतम शुल्क एवं दातृ संस्थाहरूको सहयोगले चल्छ। यस अस्पतालमा मुलुककै १५ उत्कृष्ट आँखा विज्ञसहित ३२० चिकित्साकर्मी एवं प्रशासनिक कर्मचारी छन्।

उक्त अस्पतालमा दैनिक आउने आँखाका औसत १ हजार बिरामीमा ४० प्रतिशत मात्र स्थानीय हुन्छन्। लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित उक्त गैरनाफामूलक अस्पतालमा आधारभूत दृष्टि जाँचदेखि विश्वको अति विकसित अस्पतालमा मात्र उपलब्ध जटिल शल्यक्रियासम्म हुन्छ।

यो आँखा अस्पतालमा मोतियाबिन्दु, जलबिन्दु, पर्दा (रेटिना) को रोग, कोर्निया (नानी) प्रत्यारोपण, अकुलोप्लास्टिक (आँखाको ढिक्कासम्बन्धी रोग), अकुलोप्रोस्थेसिस (कृत्रिम आँखा राख्ने), बालबालिकाको मोतियाबिन्दु र आँखाको डेढोपन (स्विकन्ट) सम्बन्धी शल्यक्रिया, बच्चाको आँखासम्बन्धी सघन शल्यक्रिया यहाँ हुन्छ। यहाँ चस्माका ठाउँमा कन्ट्याक्ट लेन्स राख्ने सेवासमेत उपलब्ध छ।

बस्न लाग्ने खर्च, औषधिसहित मात्र १ हजार २ सय रूपैयाँमा मोतिया बिन्दुको शल्यक्रिया यहाँ हुन्छ। प्रबन्धक रोशनका अनुसार यस वर्ष जँचाउन आउने बिरामीको संख्या ५ लाख ७७ हजार ३ सय ९६ र शल्यक्रिया गराउनेको संख्या ६२ हजार ७ सय ७७ छ।

अस्पताल यस वर्ष ४३ हजार ५ सय ४१ मोतियाबिन्दु बिरामीको शल्यक्रिया गरिएको छ भने कोर्निया प्रत्यारोपण गराउनेको संख्या १ सय ४९ छ। गत वर्ष २४ जना मात्र थियो।

प्रबन्धक रोशनले भने, ‘८० रूपैयाँ पुर्जी शुल्क तिरेपछि आँखाको सम्पूर्ण परीक्षण हुन्छ। नेपालमा मात्र नभई अन्य देशको तुलनामा सबभन्दा कम मूल्य १२ हजार रूपैयाँमा रेटिनाको शल्यक्रिया गर्छौं। यही उपचार अन्य आँखा अस्पतालमा गराउँदा २४ हजारदेखि २ लाख रूपैयाँसम्म लाग्छ।’

उनले थपे, ‘सेवा र सुविधाको तुलनामा निकै कम शुल्क राख्दा हरेक वर्गको पहुँचामा हामी छौं।’

बढी रकम खर्चेर मात्र स्तरीय उपचार पाइन्छ भन्ने भ्रम र हल्लाको यो अस्पताल सशक्त जवाफ भएको उनले बताए।

दायाँ आँखाको मोतीबिन्दुको शल्यक्रिया गराएको महिना दिनपछि बायाँ आँखाको मोतीबिन्दु शल्यक्रिया गराउन आएका भारत विहार अररिया जिल्लाका रामचरित्र सिंह भन्छन्, ‘उतै (विहारमै) थुप्रै अस्पताल छन् तर भरपर्दो उपचार छैन। यहाँको उपचार भरपर्दो भएकाले उपचारका निम्ति आएका हौं।’

मेरो मात्र नभएर धेरै मानिसको भरपर्दो आँखा उपचार केन्द्रका रूपमा यो अस्पतालले विश्वास जितेको सिंहको भनाइ छ।

लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले सार्वजनिक गरेको तथ्यांकअनुसार ४१ वर्षको अन्तरालमा यस अस्पतालबाट देशविदेशका गरी ७७ लाख ६९ हजार १ सय १० जनाले आँखाको उपचार गराइसकेका छन्।

यस अवधिमा १३ लाख ८४ हजार ९ सय ४ जनाको आँखाको ज्योति फर्काइएको छ।

 लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत मधेस प्रदेशमा सगरमाथा चौधरी आँखा अस्पताल र कोसी प्रदेशमा विराटनगर आँखा अस्पताल छन्। बागमती प्रदेश, कोशी प्रदेश र मधेस प्रदेशमा ३१ वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन्।

अस्पतालले सुविधासम्पन्न आधुनिक भवनबाट उपचार सेवा दिन थालेको एक वर्ष भएको छ। त्यहाँ जनरल फिजिसियन सेवादेखि आँखाका सम्पूर्ण जाँच तथा उपचार र आवासको व्यवस्था उपलब्ध छ। प्रबन्धक रोशनका अनुसार भवनमा २८ वटा ‘डिलक्स रुम’ छन्। ‘यहाँ उपचारका लागि चाहिने उपकरणदेखि अन्य सुविधा पनि विश्वस्तरको छ,’ उनले भने।

प्रबन्धक रोशनका अनुसार देशका सबै जिल्लाबाट र भारत, बंगलादेश, भुटानलगायत देशबाट पनि आँखाका बिरामी आउने गरेका छन्। भारतमा विश्वकै पहिलो र दोस्रो ठुलो आँखा अस्पताल छन्। तर भारतीय बिरामीसमेत उपचारका लागि सगरमाथा चौधरी आँखा अस्पतालमा आउने गरेको प्रबन्धक रोशनको भनाइ छ।

भारतमै थुप्रै अस्पतालले आँखा उपचार सेवा गर्दै आए पनि भारतीय बिरामीमाझ सगरमाथा चौधरी आँखा अस्पतालको उपचारप्रतिको विश्वास रहेको त्यहाँबाट आउने बिरामीको भिडले नै पुष्टि गर्छ। ‘सगरमाथा चौधरी आँखा अस्पतालले सगरमाथाजस्तै नेपालको नाम विश्वभर फैलाइरहेको छ,’ अध्यक्ष रवीन्द्रलाल चौधरीले भने।

प्रायः हुनेखाने नेपाली स्वास्थ्यमा समस्या भयो कि उपचारका लागि भारत दौडन्छन्। ‘तर छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्नुले यसको गुणस्तरीयतालाई पुष्टि गर्छ,’ उनले भने।

शल्यक्रियाका आधारमा विश्वमै अब्बल यो आँखा अस्पताल मधेस प्रदेशका लागि ‘चिकित्सा पर्यटन’को बलियो स्रोत भएको मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंहले बताए।

मन्त्री सिंहले भने, ‘यो अस्पतालले प्रदेशको मात्र नभई देशकै गौरव बढाइरहेको छ। यस प्रकारको चिकित्सा पर्यटन (मेडिकल टुरिजम) ले मधेस प्रदेशको व्यापार मात्र होइन, गौरव पनि बढाएको मन्त्री सिंहले बताए।

उनले भने, ‘यो अस्पताल सगरमाथाजस्तै नेपालको नाम विश्वभरमा चम्काएको छ।’ सन् १९८३ मा स्थापित यो अस्पताल बिरामीले तिर्ने न्यूनतम शुल्क र दातृ संस्थाको सहयोगबाट चलिरहेको छ। सन् १९८३ मा यो अस्पतालले १७ हजार ३ सय ४८ बिरामीको आँखा उपचार गरेको थियो भने १ हजार ६३१ जनाको आँखाको शल्यक्रिया गरेको थियो।

यस अस्पतालमा फेको प्रविधिमार्फत गरिने मोतीबिन्दुको शल्यक्रिया यसै अस्पतालका संस्थापक निर्देशक डा. एलब्रेच्ट हेनिङको आविष्कार हो। यो प्रविधि विश्वभरका नेत्र विज्ञहरूले प्रयोग गर्दै आएका छन्।

यो अस्पतालमा जाँचका लागि आउने बिरामीको संख्या बढ्दो क्रममा रहेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका अध्यक्ष चौधरीले गुणस्तरीय उपचार मात्र होइन, वार्षिक ३ करोड रूपैयाँ बराबरको निःशुल्क सेवासमेत दिँदै आएको बताए।

लहान र विराटनगर आँखा अस्पतालले वार्षिक डेढडेढ करोड रूपैयाँ बराबरको च्यारिटीमा उपचार गर्दै आएको उनले बताए। अन्धोपन निवारण आफूहरूको मूलमन्त्र भएको उनले सुनाए।

प्रकाशित: ५ फाल्गुन २०८० ०५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App