१२ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा मेडिकल कलेज खोल्ने तयारी हुँदैछः शिक्षामन्त्री

बसाहा क्याम्पस सभामा मन्त्री राईलगायत। तस्बिर: महेश्वर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उदयपुरमा चिकित्सा विज्ञान प्रतिस्थान (मेडिकल कलेज) खोल्ने प्रतिबद्धता जनाएका छन्।

शनिबार जिल्लाको चौदण्डीगढी नगरपालिका-४ बसाहास्थित नारद आदर्श शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभामा बोल्दै मन्त्री राईले सो कुरा बताएका हुन्।

पटकपटक अनसन बसेका मेडिकल अभियन्ता डा. गोविन्द केसीको माग अनुसार सरकारले उदयपुरमा एउटा मेडिकल कलेज खोल्ने निष्कर्षमा पुगेको उनले बताए।

डा. केसी र सरकारबीच गत ०७६ सालमा भएको सम्झौता अनुसार देशका विभिन्न ठाउँमा मेडिकल कलेज खोल्ने निष्कर्ष सहित काम सुरु भएको मन्त्री राईको भनाई थियो।

उदयपुरसँगै अन्य विभिन्न ६ ठाउँमा मेडिकल कलेज खोल्ने गरी काम अगाडि बढिसकेको जानकारी दिँदै उनले उदयपुर आफ्नै जिल्लामा के कस्तो अवस्था छ भन्ने बारे जानकारी लिएर काम अघि बढाउन लागेको बताए।

मेडिकल कलेज स्थापना गर्न गठित कार्यदलले जिल्लाका विभिन्न ७/८ ठाउँमा जग्गा भेटाएको र त्यस मध्य त्रियुगा नगरपालिका नै उपयुक्त ठहरिएको पनि मन्त्री राईको भनाई थियो।

मेडिकल कलेज स्थापनाका लागि ६२ हेक्टर जमिन अर्थात् करिब १ सय बिघा जमिन चाहिने र सो जमिनको लगभग टुंगो लागिसकेको पनि उनले बताए।

‘मेडिकल कलेज जस्तो ठूलो शैक्षिक प्रतिष्ठान खोल्न कम्तीमा १ सयदेखि हजार विगाहसम्म जमिन चाहिने रहेछ’ उनले भने ‘त्यसका लागि कार्यदलले विभिन्न ठाउँमा सम्भाव्यता अध्ययन गरेको थियो। जसमध्ये गाईघाटस्थित त्रियुगा नगरपालिका-४ बगाहा फार्सेटको जग्गा उपयुक्त ठहरिएको देखिन्छ। त्यसैले सो जमिन छिट्टै मेडिकल कलेजको नाममा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउन त्रियुगा नगर प्रमुखलगायत सर्वदलीय नेताहरुलाई अनुरोध गरिसकेको छु।’

मेडिकल कलेजको नाममा जग्गा आएको भोलि पल्ट नै प्रोजेक्ट स्वीकृत गरेर विस्तृत आयोजना प्रतिवेदन (डिपिआिर) बनाउने प्रतिबद्धता पनि मन्त्री राईले जनाए। उदयपुरमा मेडिकल कलेज खोल्न सकेको खण्डमा केसी र तत्कालीन नेपाल सरकारबीचको सम्झौता जिल्लावासीका लागि कोशेढुंगा साबित हुने उनले जनाए।

मन्त्री राईका अनुसार काठमाडौँ बाहिर इलाम, उदयपुर, सर्लाही, बुटवल, सुर्खेत, कैलाली र डडेलधुरा गरी ७ ठाउँमा मेडिकल कलेज खोल्न सरकारले लगानी गर्ने तयारी रहेको छ। 

उपत्यका बाहिर पनि मेडिकल कलेज खोल्न सके गरिब नेपाली जनताका छोराछोरी पनि डाक्टर पढ्न पाउने उनले बताए। निजी मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्न ७० देखि ८० लाख रुपैयाँसम्म लगानी गर्नुपर्ने बाध्यता रहेको भन्दै त्यस्तो बाध्यताको अन्त्य गर्न पनि सरकारले मेडिकल कलेजमा लागि गर्नुपर्ने महसुस भइरहेको राईले बताए। 

सरकारी मेडिकल कलेजमा १० लाख रुपैयाँमै एमबिबिएस अध्ययन गर्न सक्ने वातावरण बनाइरहेको पनि उनले जानकारी दिए।

बसाहामै पुर्ख्यौली घर भएका मन्त्री राईले निवर्तमान क्याम्पस प्रमुख ध्रुवराज राईलाई सम्मान गर्दै क्याम्पस स्थापनाकालदेखि अहिलेसम्म अविछिन्न योगदान दिँदै आएका विभिन्न व्यक्तित्वहरुप्रति आभार प्रकट गरे। मन्त्री राईले क्याम्पसको स्थापनाकालदेखि अहिलेसम्म योगदान गर्ने व्यक्तित्वहरुलाई कदरपत्रद्वारा सम्मान पनि गरे।

स्थापनादेखि १७ वर्षसम्म क्याम्पसको कुशल नेतृत्व गरी भर्खरै जिम्मेवारीबाट हटेका निवर्तमान प्रमुख राईले सम्मान ग्रहण गर्दै आफू प्रमुख हुँदा क्याम्पसमा एउटा लेख्ने डटपनसम्म नभएको तथा दर्जन हाराहारी मात्र विद्यार्थी भएको स्मरण गर्दै अहिले जिल्लाको सुविधा सम्पन्न शिक्षण संस्थाहरुमध्येमा स्तरोन्नति भइसकेकोमा खुसी व्यक्त गरे। 

प्रकाशित: २७ माघ २०८० १८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App