१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

लीलामदन पोलिक्लिनिकमा शिशु मृत्यु प्रकरण, नगरपालिकाको ‘सिल’ कागजमै सीमित

पटक पटक निर्दोष बिरामीको ज्यान गएपछि विवादित बनेको  लहान स्थित लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृह। तस्बिर: नागरिक
प्रसूतिको क्रममा शिशुको मृत्युपछि नगरपालिकाले सिल गरिएको भनिएको ‘लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृह’ व्यवहारमा खुल्लै छ। नगरपालिकाले सिल गरिएको विज्ञप्ति निकालेपनि सोमबार दिउँसोसम्म यो पोलिक्लिनिक खुल्लै पाइएको छ।
 
सोमबार अपरान्ह यस पोलिक्लिनिक पुग्दा लक्ष्मीपुर पत्तारी गाउँपालिका सलोखरीबाट एक महिला उपचारका लागि डाक्टर पर्खिबसेकि थिइन। घुँडा दुखाइको उपचार गराउन आएकी उनलाई त्यहीका एक स्वास्थ्यकर्मीले यस पोलिक्लिनकमा पाठाए। लहान नगरपालिकाका उप मेयर रामचलितर महतोलाई फोनमा ‘सिल भनिएपछि पोलिक्लिनिक खुल्लै छ, के हो?’ प्रश्न गर्दा उनले ‘तत्काल नगरप्रहरी पठाएर यथार्थ जानकारी गराउने जवाफ फर्काएका थिए। नगर प्रहरी पुगेपछि उपचारका लागि आएकी ती महिला यस पोलिक्लिनिकको अवैध गतिविधि जानकारी पाइन।  उनले भनिन्, ‘मलाई गाउँकै एक जना स्वास्थ्यकर्मीले यहाँ पठाउनु भएको थियो। यहाँ बच्चा मारेको थाहा पाएँ म उपचार गराउन विराटनगर जाँदै छु। यहाँ उपचार गराएको भए म पनि फस्ने थिएँ, उनी लामो सास फेर्दै भनिन्,‘बाल बाल बाँचे।’
 
उप मेयर महतोले नागरिकसँग भने, ‘यस पोलिक्लिनिकमा कुनै पनि सेवा सञ्चालन हुँदैन । उपचार गरेको प्रमाण फेला परे थप कारबाही गर्छौ, उनले भने।
 
सिरहाको औरही गाउँपालिका–४ इँटाटार कमलपुरकी रामवतीदेवी यादव नवजात शिशु गुमाएर शारीरिक रूपमा थलिएको पाँच वर्ष नाघ्यो। लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृहको गैरकानुनी उपचारका कारण उनको पहिलो सन्तान खेर गयो, जीवनभर ऋणको भारी बोकायो र पाठेघरसम्बन्धी दीर्घ रोगी बनाइदियो।
 
पहिलो पटक आमा बन्दै गरेकी रामवती आठ महिनाकी गर्भवती हुँदा अचानक पेट दुख्ने तथा रक्तस्राव हुने समस्या भयो। दूरदेहातकी उनलाई पति लालबाबुले एम्बुलेन्समा लहान नगरपालिका–३(त्यसबेला सञ्चालित स्थान) स्थित लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृह लगे। एम्बुलेन्स चालक वीरेन्द्र यादवले उनलाई त्यहाँ पु¥याएका थिए। चिकित्सकले तीन दिन पोलिक्लिनिकमा राखेपछि केही औषधि दिएर घर पठाए। गर्भमा भएको बच्चा ठिक छ, औषधि खाँदै गर्नु सबै ठिक हुन्छ भनेर तीन दिनमा १३ हजार उपचार खर्च बुझाएर घर फर्केको लालबाबु अझै सम्झन्छन्। तर ठिक हुनु त कताकता सात दिन नबित्दै रक्तस्राव झन् बढ्यो। रामवतीलाई फेरि एम्बुलेन्समा राखेर लीलामदन पोलिक्लिनिक पु¥याउँदा डाक्टरले ‘बच्चा पेटमै मरिसकेको छ, चाँडो अप्रेसन गर्नुपर्छ, नभए आमाको ज्यानलाई पनि खतरा छ,’ भने। लालबाबुले डाक्टरलाई ‘जे राम्रो हुन्छ, त्यही गरिदिनुस्, भने। त्यसपछि अप्रेसन गरेर बच्चा झिकिदिएको भन्दै पोलिक्लिनिकले लालबाबुसँग ५० हजार रुपैयाँ असुल्यो। तर रामवतीको स्वास्थ्यमा त्यो बेला परेको असर अझैसम्म बिसेक भएको छैन। पाठेघरमा परेको असर र रक्तस्रावको उपचारका लागि उनी अझैसम्म भारतीय सहर दरभंगामा धाउनु परिरहेको छ। रामवतीले भनिन्,‘सरकारले गैरकानुनी स्वास्थ्य संस्थामा भइरहेको अवैध धन्दा बन्द नगर्दा हामीजस्ता गरिबका सन्तान खेर गइरहेको छन्।’
 
सुत्केरी हुन आएकी लहान नगरपालिका–१२ मा डेरा गरी बस्ने ३० बर्षीया प्रभा साह बुधबार आफ्नो शिशु(छोरा) गुमाइन। यस अस्पतालका डा. दिलीप कुमार साहले शल्यक्रियाबाट प्रसूतिका लागि शल्यक्रिया कक्षमा लगेको केही घण्टामै प्रभाले जन्म दिएको शिशुको मृत्यु भएको थियो। 
 
प्रभाका श्रीमान् राजेश साहका अनुसार बच्चाको टाउको रगतमा लतपत थियो। शल्यक्रिया कक्ष अन्धकार थियो। दुर्गन्धले धेरै बेर बस्न सक्ने अवस्था थिएन। डाक्टरको लापरबाहीले मेरो छोरा संसार देख्न नपाउँदै ज्यान गुमायो। ‘प्रहरीलाई न्यायका लागि गुहार लगाउँदै छौँ तर प्रहरी वास्तै गर्दैन। नगरपालिकाले पोलिक्लिनकलाई अवैध भनिसक्यो। सेवा बन्द गर्न पत्र नै काटिसक्यो तर प्रहरीले त्यो अवैध पोलिक्लिनिकका सञ्चालक र लापरबाही गरी शिशु मार्ने डाक्टरलाई अनुसन्धानका लागि भए पनि नियन्त्रणमा नलिनु विडम्बना हो, राजेशले भने।  हामी न्याय चाहन्छौ उनले भने, ‘हामी लेनदेन गरेर कसैलाई पनि उन्मुक्ति दिन सक्दैनौ। सके न्यायका लागि लड्छौँ नसके चुपचाप बस्छौँ तर लेनदेन गरेर दोषीलाई उन्मुक्ति दिँदैनौँ, उनले भने। 
 
निर्दोषको ज्यान लिएको आरोप यो पोलिक्लिनिकलाई पटक–पटक लाग्दै आएको छ। नियामक निकायको मौनताको फाइदा उठाउँदै यहाँ गैरकानुनी सेवा सञ्चालन गरेका लीला मदनजस्ता निजी स्वास्थ्य संस्थाबाट बिरामीको धनजनमा क्षति हुने घटना पटक–पटक दोहोरिएका छन्।
 
बिहीबार दिउँसो जाहेरी दिनुस् अनुसन्धान गर्छौ भन्दै इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोला प्रसाद भट्टले पोलिक्लिनिकबाट शव उठाउन लगाए। त्यसपछि जाहेरी नै लिन मान्नु भएको थिएन, राजेशले भने, ‘धेरै बिन्तीपछि हाम्रो जाहेरी त लियो तर दर्ता गरेनन्। ‘न हाम्रो जाहेरी दर्ता भयो न दोषी कोही पनि पक्राउ परेका छन् उनले भने। दोषी डाक्टरमाथि कारबाही, अवैध धन्दा चलाउने अस्पतालमाथि कारबाही, पीडित परिवारलाई क्षतिपूर्तिलगायतको माग पीडित पक्षको छ।
 
लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जगदीश मण्डलका अनुसार यो स्वास्थ्य संस्था कानुन संवत् सञ्चालित छैन। यसको दर्ता, नवीकरण सबै सकिएको पाइएको छ। हामी स्थलगत अनुगमन गर्दा यो स्वास्थ्य संस्था कानुन विपरीत सञ्चालन भएको पायौँ मण्डलले नागरिकसँग भने, ‘अस्पताल वा पोलिक्लिनिकले पालना गर्नुपर्ने आधारभूत मापदण्ड पनि पूरा भएको पाएनौँ। अप्रेसन थिएटर भनिएको छ तर त्यहाँ बत्ती समेतको व्यवस्था छैन। जताततै फोहोर र दुर्गन्धले बसिसक्ने अवस्था छैन, उनले भने।
 
एउटै डाक्टरले सबै काम गरेको पाइयो उनले भने, ‘महिला, बच्चा, अप्रेसन सबै एउटै डाक्टर दिलीपले गरेको पाइयो। न रगतको व्यवस्था छ न बाल केयर युनिट छ उनले भने, ‘शल्यक्रिया त गर्नै पाउँदैन।’
 
नगरपालिकाका उपप्रमुख रामचलितर महतोका अनुसार यहाँ सामान्य मानिस पनि बिरामी पर्ने अवस्था देखियो। बत्तीको समेत व्यवस्था नभएको ठाउँमा शल्यक्रिया गरेर मानिसको ज्यान जोखिममा पार्नेलाई कानुनी दायरामा ल्याउँछौँ उपमेयर महतोले भने,‘ हामीले सेवा सञ्चालनमा रोक लगाएका छौँ। बाँकी कारबाही प्रहरीले गर्नुपर्छ उनले भने। 
 
इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोला भट्टका अनुसार पीडित पक्षले दिएको किटानी जाहेरी तत्काल दर्ता गरेर कारबाही अघि बढाउन मिल्दैन। यो प्राविधिक अनुसन्धान भएकोले मेडिकल काउन्सिलबाटै प्राविधिक जाँच भएर आए मात्र कारबाही चलाउन मिल्छ। पीडित राजेशका अनुसार लापरबाही मात्र होइन कानुनविपरित काम गरेर मान्छे मारे पनि यस पोलिक्लिनिकका डा. दिलीप हाँसाहाँसी कानुनको मजाक उडाइरहेका छन्।
 
हामी न्यायका लागि गुहार माग्दा पनि पाएनौँ राजेशले भने, ‘यहाँ सेटिङमा कानुनलाई धज्जी उडाइरहेको प्रत्यक्ष हेर्न पायौँ। पैसा र पहुँच हुनेले जे गर्दा पनि कानुन नलाग्दो रहेछ।’ छोरा म¥यो, श्रीमती मृत्यु शय्यामा छटपटाउँदै छिन्। दोषी हाँस्दै रमाइरहेका छन्। म रुँदै न्यायका लागि भौँतारिँदै छु, उनी भन्छन्, ‘न्याय खोज्न कहाँ जाऊँ, सरकार।’
 
लिला मदन पोलिक्लिनिकको लापरबाहीले निर्दोषले ज्यान गुमाएको यो पहिलो घटना भने होइन। यस अघि पटक–पटक यस पोलिक्लिनिकमा निर्दोषले ज्यान गुमाएका छन् । तर, कहिल्यै कानुनी कारबाही भएको रेकर्ड छैन।
 
ज्यानै जाने घटनापछि निजी स्वास्थ्य संस्थाले पीडित पक्षलाई कानुनी कारबाहीबाट रोक्न आर्थिक लेनदेन गरेर मिलाउने गरेको पाइन्छ। आर्थिक लेनदेनका कारण लीलामदन जस्ता निजी स्वास्थ्य संस्थाको लापरबाही ढाकछोप हुँदै आएको छ। पीडितलाई जाहेरी नदिन लोभ तथा दबाब दिन्छन्। मुद्दा कमजोर बनाउन प्रहरीलाई लेनदेन तथा शक्तिको प्रभावमा पार्छन्, जसका कारण पीडक सहजै कानुनी कारबाहीबाट उन्मुक्ति पाउँछन्। र फेरि अवैध धन्दा निरन्तर चलिरहन्छ।
 
मानिसको सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति भनेकै स्वास्थ्य हो। तर, मधेस प्रदेशमा सञ्चालित लीलामदन जस्ता निजी अस्पतालमा पटक पटक बिरामीको ज्यानसँग खेलबाड हुँदा पनि सरकार निरीह देखिन्छ। सरकारले कुनै कारबाही नगरेपछि यहाँ गलत गर्नेहरूको मनोबल बढ्दै गएको छ। मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. राजीव झाले मधेस प्रदेशमा दर्ता भएका र नभएका स्वास्थ्य संस्थाहरूको यकिन गर्ने काम भइरहेको बताए। ‘त्यसपछि हामी दर्ता नभएका संस्थाहरू माथिको कारबाही अघि बढाउनेछौ’, उनले नागरिकन्यूजसँग भने। 
 
पोलिक्लिनिक, क्लिनिक र मेडिकेयर सेन्टरले बिरामीलाई पहिलो चरणको सामान्य उपचारभन्दा भर्नासहित २४ घण्टा राखेर उपचार गर्न नपाउने कानुनी व्यवस्था छ। तर मधेस प्रदेशका जिल्लाहरूमा सञ्चालित पोलिक्लिनिक र मेडिकेयर सेन्टरले बिरामी भर्ना गरेर उपचार, शल्यक्रिया, गर्भपतन लगायत सबै काम खुलेआम गरिरहेका छन्। 

प्रकाशित: २२ माघ २०८० १७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App