१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

क्यान्सरविरुद्ध जनचेतना जगाउन ‘आशा क्लोज द केयर ग्याप’ हुँदै

विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी क्यान्सरविरुद्धको कार्यक्रमबारे जानकारी दिँदै विराट क्यान्सर इन्स्टिच्युटका पदाधिकारी। तस्बिर : नागरिक

क्यान्सरविरुद्ध जनचेतना फैलाउने र क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले मोरङको बुढीगंगामा ‘आशा क्लोज द केयर ग्याप’ सञ्चालन गरिने भएको छ।

विश्व क्यान्सर दिवसका अवसरमा मोरङको बुढीगंगास्थित रेवन्त रुक्मिणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सरविरुद्धको सचेतनामूलक ‘आशा क्लोज द केयर ग्याप’ सञ्चालन गर्न लागेको हो।

माघ २१ गते विश्व क्यान्सर दिवसका अवसरमा १५ वटाभन्दा बढी जनचेतनामूलक ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रम आयोजना गरिने आयोजक विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ।

क्यान्सरका बिरामीको उपचारमा पहुँचको दूरी घटाउँदै लैजाने संकल्पसहित रोगीको उपचार सहयोगार्थसमेत कार्यक्रम गर्न लागिएको विराट क्यान्सर इन्स्टिच्युटकी सिइओ डा. निकिता कार्कीले जानकारी दिए। ‘आशा क्लोज द केयर ग्याप अर्थात् क्यान्सरको उपचार पहुँचको दूरी बन्द गरौँ भन्ने नारासहित कार्यक्रम आयोजना गर्न लागेका छौं’, डा.  कार्कीले भने।

स्कुल र्‍याली, साइकल र्‍याली, स्कुटर र्‍याली, कार र्‍याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर जित्नेहरूको सफलताको कथा, क्यान्सर रोग विशेषज्ञद्वारा जनचेतनासम्बन्धी प्रस्तुति, स्कुलका विद्यार्थी बालबालिकाद्वारा प्रतिभा प्रस्तुति, सांगीतिक कार्यक्रम जस्ता विभिन्न सचेतनामूलक कार्यक्रम हुने डा. कार्कीले जानकारी दिए।

कार्यक्रमबाट संकलन भएको रकम विराट क्यान्सर इन्स्टिच्युटमा उपचारार्थ बिरामीलाई दिने निर्णय गरिएको डा. कार्कीले बताए। क्यान्सरसँग लडिरहेका तर उपचारका लागि खर्च अभाव भएका बिरामीको उपचारमा सहयोग गर्न सचेततामूलक कार्यक्रमबाट संकलन भएको रकम खर्च गरिने डा. कार्कीकाे भनाइ थियाे।

उनका अनुसार संकलन भएको रकम अस्पतालमा उपचाररत १५ जना क्यान्सरका बिरामीको उपचारमा सहयोग गरिने छ। ‘कार्यक्रमका लागि हालसम्म ६५ जनाको स्पोन्सर आएको र हालसम्म ६५ लाख रुपैयाँ संकलन भइसकेको छ’, उनले भने।

पाँचजनामध्ये एकजनालाई कुनै न कुनै किसिमको क्यान्सर लाग्ने गरेको र तीमध्ये एकजनाको मृत्यु हुने गरेको डा. कार्कीले बताए। उनका अनुसार संसारमा एक करोड मानिसलाई क्यान्सर छ।

क्यान्सरको रोकथाम र नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्न लागिएको डा. कार्कीले सुनाए। उनले भने, ‘क्यान्सर रोग लागे पनि जित्न सकिन्छ भन्ने बुझाउन कार्यक्रम गरिएको हो।’

कार्यक्रममा रोटरी क्लब, राउन टेबल, स्टन मोर्डसलगायतका विभिन्न संघसंस्थासँग सहकार्य गरिएको छ। कार्यक्रममा मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागी हुने आयोजक विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ।

प्रकाशित: १९ माघ २०८० १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App