२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

भरिलाे दाँतमा मुस्कुराउने छन् बनेपाका ज्येष्ठ नागरिक

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत झरेका ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत निःशुल्क लगाइदिने भएको छ। आवश्यकता पहिचान गरिएका ती उमेर समूहका स्थानीय नागरिकको निःशुल्क दाँत राख्न लागिएको नगरले जनाएको हो।

नगरले दाँत नभएका नागरिकको पहिचानका लागि १४ वटै वडामा दन्त शिविर सञ्चालन गर्न कार्यतालिका सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले बताए।

उनका अनुसार समाज डेन्टल केयर र सुप्रिम डेन्टल केयरको प्राविधिक सहयोगमा हुने शिविरबाट छनोट भएका सबैलाई निःशुल्क रूपमा दाँत राखिदिने योजना बनाइएको हो।

शिविरबाट लागत अनुमान गरी सोहीअनुसार कोटेसन÷बोलपत्र आह्वान गरी कार्यक्रम गरिने जनाइएको छ।

‘ज्येष्ठ नागरिकको सम्मानका लागि उक्त प्रकारको कार्यक्रम गर्न लागेका हौं’, नगर प्रमुख शान्तिरत्न शाक्यले भने। उनका अनुसार कार्यक्रमले नगरका ६० वर्षभन्दा माथिका नागरिकमा खुसी देखिने अपेक्षा गरिएको छ।

यसैबीच, बनेपा नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको समन्वयमा बनेपाका ६९ विद्यालयमा अध्ययनरत २३ हजार तीन सय ८२ विद्यार्थीको निःशुल्क आँखा परीक्षण अभियान सञ्चालन भइरहेको छ।

वडा नं ६ स्थित भक्तेश्वर माविबाट विद्यालयबाट आँखा परीक्षणको औपचारिक सुरुआत गरिएको हो। अस्पतालले केही समयअघि शिक्षकलाई आँखासम्बन्धी तालिम दिँदा विद्यार्थीले अध्ययन गर्न नसक्नुमा आँखाको भिजन प्रमुख कारण भएको जानकारी भएपछि अभियान नै थालिएको नगरले जनायो।

प्रारम्भिक सूचनाका आधारमा आँखाको भिजन १० देखि १५ प्रतिशत विद्यार्थीमा कम भएको पाइएपछि नगरभित्रका सबै विद्यार्थीको एकैपटक आँखा परीक्षण गरी देखिएको समस्याको उपचार गराइने छ।

‘स्थानीय नागरिकका लागि आधारभूत स्वास्थ्य उपलब्ध गराउने नगरको दायित्व भएकाले आँखालगायत नसर्ने रोग नियन्त्रण र त्यसको परीक्षण तथा पहिचान गरी उपचार गर्ने गरी अभियान सुरु गरेका हौं’, शाक्यले भने।

नगरका बालबालिका, महिला र ज्येष्ठ नागरिकका अलावा नगरभित्रका विपन्न समुदायका नागरिकलाई सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन नगरले आधारभूत अस्पताल, स्वास्थ्य चौकीको स्तरोन्नति तथा सुविधा सम्पन्न बनाउँदै लगिएको नगर उपप्रमुख विमला सापकोटाले बताइन्।

उनका अनुसार अभियानअन्तर्गत आँखा परीक्षणसँगै तत्कालै आवश्यक पर्ने औषधी निःशुल्क उपलब्ध गराइएको छ भने बालबालिकामा थप संक्रमण वा समस्या देखिएमा अस्पताल पुर्‍याई निःशुल्क सेवा उपलब्ध गराइने छ। –रासस

प्रकाशित: १३ पुस २०८० ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App