१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

अनिच्छित गर्भपतन गर्न अझैपनि हिच्किचावट

पोखरा–३ की १७ वर्षिया किशोरी सुहाना (नाम परिवर्तन)को अनिच्छित गर्भ बस्यो। केटा साथी (ब्यायफ्रेण्ड)सँग सहमतिमै सहवास भएपनि बच्चा पाउने उनीहरुको चाहना थिएन। चाहना विपरित अनिच्छित गर्भ बसेपछि उनीहरुले गर्भपतन गर्ने उपाय रोजे।  

गर्भपतन गर्ने त भने तर गर्भपतन गर्ने ठाउँसम्म जाने हिम्मत गरेनन्। कसैले देख्लान् कि भन्ने डरले उनीहरुलाई पिरोल्यो। जाउँ कसैले देख्लान् भन्ने डर, नजाउँ जसरी पनि गर्भपतन जसै नगराई नहुने थियो। तर उनीहरु त्यहाँ गएनन् बरु विहे गर्ने विकल्प अपनाए।

पोखरा–४ की नविना (नाम परिवर्तन)को दोश्रो गर्भमा पनि छोरी बस्यो। छोराको रहरले दोश्रो सन्तान जन्माउन खोजेका उनी र उनको श्रीमान दोश्रो सन्तान पनि छोरी नै हुने भएपछि चिन्तित भए। अन्त्यमा उनीहरुले पनि गर्भपतनको विकल्प रोजे। तर गर्भपतन गर्ने मान्यता पाएको संस्थामा जाने हिम्मत भने उनीहरुमा पनि आएन। त्यसैले नजिकैको क्लिनिकमा गएर श्रीमानले गर्भपतन गराउने औषधी किनेर ल्याएर श्रीमतीलाई खुवाए। औषधी खाएपछि गर्भपतन त भयो तर रक्तश्राव रोकिएन।

निरन्तर ब्लिडिङ भएर कमजोर हुँदा पनि अवैध गर्भपतन गरेको भेद खुल्ने डरले उपचारका लागि श्रीमानले अस्पताल पनि लगेनन्। पछि छिमेकीको सहारामा अस्पताल पुगिन् र ज्यान बच्यो।

केही साताअघि स्याङ्जाकी एक किशोरी बिरामी भएपछि परिवारका सदस्यले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याई पु¥याए। चेकजाँचका क्रममा उनको पेटमा ७ महिनाको गर्भ रहेको खुल्यो। उमेरले १४–१५ वर्षकी अविवाहित किशोरीको कोखमा अवैध गर्भ रहेको खुलेपछि केरकार गर्दा गाउँकै एक किशोरसँगको अवैध सम्बन्धबाट गर्भ रहेको पत्ता लाग्यो। पछि यो पनि खुल्यो कि किशोरीलाई पहिल्यै गर्भ बसेको शंका थियो तर आफन्त र समाजको डरले केहि भनिनन्। जसको परिणाम स्वरुप किशोरावस्थामै आमा बन्न बाध्य बनिन।

यी प्रतिनिधिमूलक घटना मात्र हुन्। समाजमा यस्ता घटना दिन दुई गुणा र रात चारगुणा बढ्दो छ। कारण हो गर्भपतनलाई हेर्ने नेपाली समाजको गलत सोंचाई। पहिलो कुरा गर्भपतन सम्बन्धी आम मान्छेको धारणा नै गलत छ। जसका कारण गर्भपतन गर्ने महिलामाथि लाञ्छना लगाउने महिलाको गुनासो छ। सोहि कारण किशोरीहरु अनिच्छित गर्भ बोकेपछि या त विवाह गर्न बाध्य हुन्छन् या त आत्महत्या जस्तो डरलाग्दो बाटो रोज्न पुग्छन्।

दोश्रोचाहिं ईच्छित गर्भ भएपनि छोराको चाहनाका कारण गर्भपतन गर्न चाहन्छन्। तर समाजको हेर्ने दृष्टिकोण र नेपालको कानूनले भ्रुणको लिंग पहिचान गर्न र भ्रुण हत्या गर्न निषेध गरेकाले उनीहरु बाध्य भएर सन्तानको संख्या थपिरहन्छन।

त्यसैले यस्ता समस्या समाधान गर्न गर्भपतनलाई सस्तो, सहज र पहुँच युक्त बनाउनुपर्ने स्वास्थ्यविद् नवराज भट्टराई बताउँछन्। भन्छन्, ‘गर्भपतन गर्ने–नगर्ने कुरा सरोकारवाला पक्षको नितान्त पारिवारिक विषय हो। यसमा कसैले हस्तक्षेप गर्न मिल्दैन।’ तोकिएको स्वास्थ्य संस्थामा जाँदा लाञ्छना भोग्नुपर्ने डरले धेरैले गर्भपतन गर्दैनन्,’ उनले भने, ‘त्यसैले निर्धक्कका साथ गर्भपतन गर्नेगराउने वातावरण निर्माणमा जोड दिनुपर्छ।’ त्यसका लागि निश्चित ठाउँहरु मात्रै नभई नीजि क्षेत्रका सबै स्वास्थ्य संस्थामा गर्भपतन गराउन मिल्ने बनाउनुपर्ने उनको तर्क छ।

स्त्रीरोग विशेषज्ञ डा.गिरीधारी शर्मा भने त्यसरी जथाभावी गर्भपतन गर्न दिदाँ समस्या निम्तिन सक्ने बताउँछन्। ‘गर्भवती आमाको स्वास्थ्यलाई ध्यानमा राखेर गर्भपतन गर्ने निश्चित ठाउँहरु तोकिएका हुन्, उनले भने, ‘जथाभावी गर्भपतन गराउँदा गर्भवती आमाको स्वास्थ्य नै जोखिममा पर्नसक्ने खतरा रहन्छ। अनि लिंग पहिचान गरेर गर्भपतन गर्ने क्रम बढ्यो भने त जनसंख्या नै अनव्यालेन्स भईहाल्छ नि !।’ मातृ मृत्यूदर घटाउने उद्देश्यले निश्चित ठाउँमा गर्भपतन गर्ने व्यवस्था गरिएकाले बरु यसलाई थप पहुँचयुक्त बनाउन त्यस्ता ठाउँहरुको संख्या थप्ने र स्वास्थ्यका कर्मचारीलाई तालिम दिएर सक्षम बनाई खटाउनुपर्ने उनको सुझाव छ।

म्हिला अधिकारवादी बिना सिलवाल पनि स्वतन्त्रताको नाममा स्वच्छन्दता स्वीकार्य नहुने बताउँछिन्। सामान्य पसलमा पनि गर्भपतन गराउँदा वा गर्भपतन गराउने औषधी बेच्दा समाजमा विकृति भित्रिने उनको भनाई छ। ‘हरेक कुराको सीमा हुन्छ। ‘गर्भपतन गर्ने स्वतन्त्रता दिनुपर्छ तर जथाभावी गर्न भने दिनु हुँदैन,’ उनले भनिन्।

कास्कीमा वार्षिक तीनलाख बढीले गर्भपतन गराउने गरेको अनुमान सरकारी निकायको छ। तर वैधानिक रुपमा गर्भपतन गर्ने करिब १० प्रतिशत पनि नरहेको सरकारी अधिकारी बताउँछन्। बाँकी सबैले आफूखुशी नजिकको क्लिनिकबाट औषधी खरिद गरेर गर्भपतन गर्ने गरेको उनीहरुको भनाई छ।  

प्रदेश स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशका जनस्वास्थ्य निरीक्षक लालुप्रसाद शर्मा रिमालले सुरक्षित गर्भपतनका लागि वर्षेनी सरकारी निकायमार्फत नै जनशक्तिका लागि तालिम गर्दै आएको बताए। तालिम प्रभावकारी भएको र वर्षेनी ३०–३५ जना दक्ष जनशक्ति उत्पादन भइरहेको उनको भनाई छ। तर गाउँ, समाजमा गर्भपतनलाई हेर्ने दृष्टिकोण नकारात्मक भएकाले सुरक्षित गर्भपतनका लागि तोकिएको स्वास्थ्य संस्थामा भने जान हिच्किचाउने गरेको पाइएको रिमालले बताए।

‘अनिच्छुक गर्भ फाल्न पाउने व्यक्तिको अधिकार हो,’ उनले भने,‘तर जथाभावी औषधी प्रयोग गर्दा आमाको स्वास्थ्य नै जोखिममा पर्न सक्छ। त्यसैले तोकिएकै स्वास्थ्य संस्थामा जानुपर्छ।’ यसका लागि जनचेतना जगाउन आवश्यक रहेको उनको भनाई छ।

प्रकाशित: ५ पुस २०८० ०८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App