गत बुधबार काठमाडौंका ५७ वर्षीय पुरुषलाई हृदयघात भयो। उपचारका लागि ग्रान्डी इन्टरनेसलन अस्पतालमा लगियो। तर उनको बाटोमै मृत्यु भइसकेको थियो।
अस्पतालका चिकित्सकका अनुसार उनले यसअघि अन्यत्र कतै नियमित स्वास्थ्य जाँच गराइरहेको आफन्तको दाबी छ। जोखिम रोगबारे जानकारी नभएका कारण उनलाई हृदयघात भएको हुन सक्ने चिकित्सकले बताए।
त्यस्तै बिहीबार काठमाडौं बल्खुका ६४ वर्षीय जगत बस्नेतको पनि हृदयघातका कारण मृत्यु भयो। त्यो दिन उनी भोज खाएर नाचिरहेकै बेला एक्कासी ढलेका थिए। ढलेका उनलाई परिवारका सदस्यले अस्पताल पुर्याए। अस्पताल पुर्याएपछि चिकित्सकले बाटैमा मृत्यु भइसकेको बताए।
यी प्रतिनिधि घटना हुन्। जाडोमा हृदयघात भएर मृत्यु हुनेको संख्या गर्मी मौसमको तुलनामा बढी हुने चिकित्सक बताउँछन्।
हृदयघात भएर अस्पताल पुगेकामध्ये ५ देखि १० प्रतिशतको उपचारपछि पनि मृत्यु हुने गरेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. रत्नमणि गजुरेल बताउँछन्।
यो अस्पतालमा दैनिक पाँचदेखि सातजना हृदयघात भएका बिरामी उपचारका लागि पुग्छन्। हृदयघातले मुटुमा बढी क्षति पुगिसकेको अवस्थामा अस्पताल पुगेर पनि जोखिममुक्त हुने सम्भावनका कम हुन्छ।
विश्वमा गरिएका विभिन्न अध्ययनको तथ्यांकअनुसार गर्मीको तुलनामा जाडो मौसममा ३१ देखि ३३ प्रतिशत बढी हृदयघात हुन्छ।
चिकित्सकका अनुसार चिसो मौसममा मुटुका धमनीहरूमा विभिन्न कारणले अवरोध हुँदा हृदयघात हुन्छ। मुटुका मुख्य तीनवटा धमनी हुन्छन। ‘थिन फाइबर क्याप’ (पातलो पत्र) फुटेर रगतमा डल्ला डल्ला जम्मा हुन्छन्। तिनले धमनीमा रक्तप्रवाहमा अवरोध गर्छन। धमनीमा रक्तप्रवाहमा अवरोध हुँदा हृदयघात हुन्छ।
कतिपय अवस्थामा हृदयाघात भए पनि व्यक्तिलार्ई थाहा नहुन पनि सक्छ।
चिकित्सकका अनुसार ठूलो धमनीमा अवरोध भएमा छातीको बीच वा देब्रेतिर बेस्सरी थिचे जसरी दुख्छ, चिटचिट पसिना आउँछ, वाकवाकी लाग्छ र बेहोससम्म भइन्छ। उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोललाई समयमा नै नियन्त्रणमा राख्नसके हृदयघातको जोखिम स्वतः कम हुन्छ।
चिकित्सकका अनुसार चिसोबाट जोगिने नाममा गलत खानपान र स्वाथ्यमा गरिने हेलचेक्र्याइँका कारण गर्मी मौसमको तुलनामा जाडोमा बढी मात्रामा हृदयघात हुन्छ।
शरीरको आफ्नै संयन्त्रका कारणले पनि हृदयाघात हुन्छ। जाडोमा शारीरिक गतिविधि कम हुन्छ नै। चिसो भगाउने बहानामा मदिरा, चिल्लो बोसोजन्य खाने कुरा बढी खाँदा पनि हृदयाघात हुने सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा. सजिव राजभण्डारी बताउँछन्।
शरीर तातो पार्नका लागि जाडोमा मुटुले बढी काम गर्नुपर्छ। बढी काम गर्दा भार पनि बढी पर्छ। जाडोका बेला बढी तनावमा पर्दा पनि मुटुको चाल बढ्छ, त्यसले पनि मुटुलाई भार बढी पर्छ।
मदिराले बाहिरी नसा तातेजस्तो भए पनि भित्री रूपमा न्यानो नस्ट गरिदिन्छ। यस्तो अवस्थामा पनि मुटुलाई बढी भार पर्छ र हृदयाघात हुन्छ। मधुमेह, उच्च रक्तचाप, दमका बिरामी बढी जोखिममा मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, दम भएका मानिसलाई हृदयाघातको जोखिम बढी हुन्छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. गजुरेल भन्छन्, ‘सामान्य मानिसभन्दा मधुमेह, उच्च रक्तचाप, दम, कोलस्ट्रोलका बिरामीलाई चिसोमा हृदयाघातको जोखिम बढी हुन्छ,’ उनले भने।
चिकित्सकका अनुसार मोटोपन कम गर्ने, व्यायाम नियमित गर्ने, मानसिक तनाव नलिने, खानपानलगायत जीवनशैलीमा सुधार गर्ने, नियमित स्वास्थ्य जाँच र औषधि सेवन गरे हृदयघातको जोखिमबाट बच्न सकिन्छ।
यी लक्षण देखिए हृदयघातको जोखिम
व्यायाम गर्दा, उकालो चढ्दा, भर्याङ चढ्दा, कडा व्यायाम गर्दा छातीको देब्रेतिर भारी हुने, गह्रौं चिजले थिचे जस्तो हुने, स्वाँस्वाँ बढ्ने र आराम गरेपछि सामान्य हुने जस्ता लक्षण देखिएमा हृदयघातको जोखिम भएको अनुमान गर्न सकिन्छ।
यस्ता कुनै पनि लक्षण देखिएमा समयमै मुटुको जाँच गरिहाल्नुपर्ने चिकित्सक सुझाउँछन्। ४० वर्ष उमेर कटिसकेका व्यक्तिले यी कुनै लक्षण नेदखिए पनि वर्षको एकपटक मुटुसहित पूर्ण स्वास्थ्य जाँच गराउनुपर्छ।
प्रकाशित: २ पुस २०८० ०१:१९ सोमबार