१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

चिकित्सकमाथि फेरि कुटपिटः मेसुको आइसीयूमा उपचार हुँदै, अस्पतालको सेवा ठप्प

अस्पतालमा उपचाररत सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तहरूले चिकित्सकलाई कुटपिट गरेका छन्। सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको हो।

कुटपिटबाट गम्भीर घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ।

मङ्गलवार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन्। 

नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले शान्ति सुरक्षाको हिसाबले अहिले स्थिति नियन्त्रणमा रहेको र छलफलको बाटोबाट समाधान निकाल्ने तयारी भइरहेको जानकारी दिए। ‘आज हामीले छलफल डाकेका छौ,’ उनले भने, ‘त्यहाँबाट समाधान निकाल्ने प्रयास गर्ने छौ।’  

घटनापछि  अस्पताल आउने बिरामीहरू अस्पतालको गेटबाटै फर्काइएको छ। अहिले अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरू हेर्नेबाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ। प्रहरीले घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: १३ मंसिर २०८० ०४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App