२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

मुटु स्वास्थ्य सचेतनामा डा. ओम मूर्तिले राखे विश्व रेकर्ड

‘बिरामी भइसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो’ भन्ने कथनलाई वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले पुष्टि गरेका छन्। 

मुटु रोग रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रममार्फत उनी विश्व रेकर्ड राख्न सफल भएका हुन्। गिनिज बुकद्वारा आयोजित ‘मुटु तथा मुटजन्य रोगसम्बन्धी स्वास्थ्य सचेतना अन फेसबुक’ भन्ने शीर्षकमा ‘गिनिज बुक रेकर्ड’ गर्न उनी सफल भएका हुन्।

उनले गत असोजमा विश्व मुटु रोग दिवसका अवसरमा मुटु रोगसम्बन्धी सचेतना विषयमा फेसबुक लाइभमा सबैभन्दा बढी दर्शक पाएका थिए। गिनिज बुकमा विश्व रेकर्ड कायम गरेको खुसी साट्न उनले शुक्रबार पत्रकार सम्मेलन गरे।

असोज १ गते ७ः१५ बजे आधा घन्टा लामो प्रस्तुतिमा ११ हजार दुई सय १२ जनाले प्रत्यक्ष लाइभ हेरेका थिए। सोही लाइभ नौ हजारले सेयर गरेका थिए। लाइभ कार्यक्रम सम्पन्न हुँदासम्म एक लाख ५० हजारले हेरेका थिए। मुटु रोग सचेतना क्षेत्रमा गिनिज बुकमा पहिलो रेकर्ड राख्ने अनिल पहिलो मुटुरोग विशेषज्ञ हुन्।

त्यसैगरी दोस्रो विश्व रेकर्ड मार्च २०२३ प्राप्त गरिसकेका हुन्। सन् २०१३ मा इमेज एफएममार्फत नियमित एक घन्टा मुटु स्वास्थ्य सचेतनामा आधारित अन्तर्वार्ता दिएवापत उनले दोस्रो विश्व रेकर्ड हाँसिल गरेका हुन्।

लंगेस्ट इन्टरभियु आज ‘अ गेस्ट स्पिकर अन हर्ट डिजेज प्रिभन्सन’ मा विश्व रेकर्ड कायम गरेका हुन्। उनको यो अन्तर्वार्ता इमेज च्यानलकी प्रस्तोता तथा सञ्चारकर्मी शैलजा सिंहले सञ्चालन गरेकी थिइन्। मुटु स्वास्थ्यमा दुईवटा विश्व रेकर्ड कायम राख्ने अनिल विश्वकै पहिलो चिकित्सक हुन्।

एक वर्षको अवधिमा दुईवटा विश्व रेकर्ड कायम राख्न सफल डा. अनिल शुक्रबार सञ्चारकर्मीमार्फत खुसी साटिरहेका थिए। दशकौंको संघर्षपछि प्राप्त गरेको यो उपलब्धिले आफू र नेपाललाई चिनाउने भएकाले छुट्टै खुसी प्राप्त भएको उनले बताए। ‘अरू सबै उपलब्धि मेरा लागि हुन्थे, यो रेकर्ड मेरो र नेपाल दुवैका लागि खुसीको विषय हो’, उनले भने।

यो विश्व रेकर्ड एक दिनको प्रयासले सम्भव नभई लगातार १२ वर्षदेखिको सचेतना अभियानको परिणाम भएको उनले बताए। उनले भने, ‘लाइभको सुरुमा दर्शक धेरै रहे पनि इन्टरनेटमा आउने त्रुटिका कारण कतै सफल हुँदिनँ कि भन्ने लागिरहेको थियो, तर सफल भएँ।’

यो रेकर्डका लागि अनिलले गिनिज बुकको मागअनुसार निवेदन दिएका थिए। गिनिज बुकको संरचनाअनुसार डा. अनिलले लाइभका क्रममा मुटु स्वास्थ्यको संरचनाभित्र रहेर मात्र प्रस्तुति दिनुपथ्र्यो। सो क्रममा उनले रक्तचाप कसरी पत्ता लगाउने, घरैमा कसरी जाँच गर्ने, नियमित कसरी जाँच गर्ने? कस्तो अवस्थामा उपचारमा जाने भन्ने विषयमा बिरामीको दृश्यसहित प्रस्तुति गरिएको थियो।

डा. अनिलले सन् २०१३ देखि नै सञ्चारमाध्यम, फेसबुक तथा युट्युबमार्फत स्वास्थ्य सचेतनाका विषयमा प्रस्तुति दिँदै आएका थिए।

उपचारका क्रममा धेरै हृदयघात भएका र यो जोखिमबाट बचाउन सचेतना नै आवश्यक भएको महसुस गरी उनले विभिन्न कार्यक्रम गर्दै आएका थिए। इमेज एफएममा अन्तर्वार्तामा सन् २०१३ देखि २०१४ सम्म हरेक हप्ता एक घन्टा समय दिएका थिए।

त्यसैगरी १२ वर्षदेखि सामाजिक सञ्जालमा विभिन्न पोस्ट बनाएर मुटु स्वास्थ्यसम्बन्धी सचेतना प्रभावकारी भएपछि लाइभमा लाखौं दर्शक आएको उनले बताए। अन्य मिडियाबाट दिइने सचेतनाभन्दा सामाजिक सञ्जालमार्फत दिइने सचेतना कार्यक्रम आम दर्शकमाझ प्रभावकारी बनेको उनले अनुभव सुनाए।

कोभिड महामारीका बेला डा. अनिलले जनताका स्वास्थ्यसम्बन्धी समस्या सम्बोधन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे। त्यतिबेला उनले विभिन्न जानकारीमूलक भिडियो तथा पोस्ट गरे। यी सामग्री महामारीका बेला मुटुरोग, उच्च रक्तचाप, मधुमेहलगायतका विभिन्न दीर्घरोगीका समस्या सम्बोधन गरेका थिए। यसको प्रभाव नेपाल तथा नेपाल बाहिर बस्ने नेपालीमाझ भयो। उनको सामाजिक सञ्जालमा १२ लाख ५० हजार फलोअर छन्।

जनमानसमा मुटुरोगबारे जनचेतनाको कमीले रोकथाम गर्न सकिने असंख्य हृदयरोगीको मृत्युको प्रत्यक्षदर्शी बनेपछि डा. अनिलले सचेतना जगाउन सन् २०१३ मा ‘म पनि डाक्टर’ नामक पुस्तक प्रकाशन गरे।

पुस्तकमा हृदयघात, मुटु रोगका लक्षण, यसको रोकथामका उपाय तथा स्वस्थ जीवन शैलीलगायतका विषयलाई हृदयरोग विशेषज्ञका आँखाबाट सूक्ष्म ढंगले प्रस्तुत गरिएको छ। यो पुस्तक उनले सचेतनाकै लागि पाँच हजार प्रति स्वास्थ्यकर्मीलाई मात्रै वितरण गरेका थिए।

डा. अनिलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महराजगन्जबाट एम.डी. मा स्वर्णपदक, एसियाको प्रतिष्ठित स्वास्थ्य शिक्षण संस्था अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) बाट डि.एम., कार्डियोलोजी तथा अमेरिकन कलेज अफ कार्डियोलोजीबाट (एफएसिसी) र विश्वस्तरको सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सन (एफएससीएआई) बाट उनले फेलोसिप प्राप्त गरिसकेका छन्।

चिकित्सा सेवाका क्रममा डा. अनिलको विशेष योगदान रहेको छ। सन् २०११ देखि २०१५ सम्म त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा डि.एम कार्डियोलोजी प्रोग्राम तथा क्याथ ल्याब सेवा स्थापना र व्यवस्थापनमा उनले भूमिका निर्वाह गरेका थिए।

सहरी क्षेत्रमा बसोवास गर्ने बयस्कमा मुटु रोग जोखिमका बारेमा अध्ययन-अनुसन्धान गर्ने उद्देश्यले सञ्चालित उक्त शिविरको अनुसन्धान गरेका थिए। उक्त अनुसन्धानपश्चात् नै सहरी युवामा मुटु रोगको जोखिमका बारेमा स्पष्ट खाका तयार भएको थियो। उनको यो अनुसन्धानलाई सन् २०१८ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रतिष्ठित ‘उत्कृष्ट अनुसन्धान पत्र’ प्रदान गरेको थियो। हालै प्रकाशित उनको ‘जीवन्त सम्बन्ध’ पुस्तक चर्चित छ।

प्रकाशित: २४ कार्तिक २०८० ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App