बिरामीको उपचारका क्रममा निधन भएपछि आक्रोशित आफन्तले शनिबार चिकित्सक कुटेसँगै चार दिनदेखि पाटन अस्पतालको बहिरंग विभाग सञ्चालनमा आउन सकेको छैन।
दोषीलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। अस्पतालका क्रिटिकल केयर विशेषज्ञ डा. प्रतिक काफ्लेका अनुसार बिहीबार बहिरंग विभागमा आंशिक रुपमा उपचार गरिएको छ।
गत शनिबार अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचारार्थ ओखलढुङ्गाकी ८६ वर्षीय जनामायाँ राई र ललितपुरका ६८ वर्षीय कृष्णा नगरकोटीको मृत्यु भएको थियो।
अस्पतालमा उपचारार्थ दुई जना बिरामीको मृत्युको विषयलाई लिएर एक जना आवासीय र अर्का विशेषज्ञ चिकित्सक कुटिएपछि अस्पतालमा चिकित्सकहरुले आन्दोलन सुरु गरेका हुन्।
मृत्युको कारण लापरबाही भएको भन्दै चिकित्सक माथि कुटपिट भएको थियो। कुटपिट गर्ने दोषीलाई पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएका छन्।
अस्पतालका अनुसार शनिबार दिउँसो निमोनियाँको कारण भर्ना भएका दुवै जनामा निमोनियाको उपचार स्वरूप ‘सेपिटट्रयाक्सन’ नामक यान्टिबायोटिक सिरिन्जबाट दिइएको थियो।
बिरामी पक्षले चिकित्सकविरुद्ध जिल्ला प्रहरी कार्यालय ललितपुरमा जाहेरी दिएका छन्। जाहेरी दिएपछि अस्पताल प्रशासन तथा चिकित्सक बयानका लागि प्रहरी कार्यालय धाइरहेको अस्पताल स्रोतले जनाएको छ।
प्रकाशित: २३ कार्तिक २०८० ०८:५४ बिहीबार