८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

‘सरकार स्वास्थ्य आपतकालसँग जुध्न तयार’

फाईल तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्पछि निम्तिन सक्ने स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएको छ। जाजरकोट भूकम्पपछि नागरिकसँगको कुराकानीमा मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीले यस्तो बताएका हुन्। उनका अनुसार मुलुकमा जुनसुकै बेला आइपर्न सक्ने स्वास्थ्य आपतकालीन स्थितिलाई लक्षित गरी केन्द्र निर्माण गरिएको बताए।

केन्द्रले डेढ करोड व्यक्तिलाई पुग्ने गरी विभिन्न ठाउँमा औषधि तथा उपचार सामग्री तयारी अवस्थामा राखेको बुढाथोकीले दाबी गरे। उनका अनुसार ती सामग्री संघीय र प्रादेशिक अस्पतालमा राखिएका छन्। उपत्यकाभित्र वीर अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी बल अस्पताल, सिभिल अस्पताल, नेपाली सेनाको अस्पताल, प्रहरी अस्पताललगायतमा त्यस्ता औषधि तथा उपचार सामग्री ट्यांकरमै तयारी अवस्थामा राखिएको उनको भनाइ छ।

त्यसैगरी उपत्यका बाहिरका सात वटै प्रादेशिक अस्पतालहरूमा र सुुदूरपश्चिम र लुम्बिनी प्रदेशमा दुईवटा ट्यांकर तयारी अवस्थामा राखिएका छन्। थप आपतकालिन अवस्था आए प्रयोग गर्न मिल्ने गरी एयरपोर्टमा ह्यांगर नै तयारी अवस्थामा रखिएके पनि उनले जानकारी दिए। यी उपचार सामग्री र औषधिका अलावा हब अस्पताल, सेटलाइट अस्पताल र जिल्ला अस्पतालसमेत उपचारका लागि तयारी अवस्थामा रहेको उनले बताए। कोभिडसँगै यो व्यवस्थापन प्रभावकारी बनेको उनको दाबी छ। डा. बुढाथोकीका अनुसार आपतकालीन अवस्थाका लागि सरकारले तीन वर्षदेखि स्वास्थ्यकर्मीलाई नियमित रूपमा तालिम दिइएको छ। सो अवधिमा १५ सय जनाले तालिम पाइसकेका छन्। अस्पतालमै कार्यरत चिकित्सक, नर्स, प्यारामेडिक्सलाई तालिम दिइएको हो। जुनसुकै विपदमा सेवा दिने गरी तालिम दिइएको हुनाले यही जनशक्तिलाई नै विपद्का लागि तयारी अवस्थामा राखिएको डा. बुढाथोकीले जानकारी दिए।

उनका अनुसार प्राथमिक उपचारपछि दोस्रो तहका घाइते र त्यसपछि गम्भीर अवस्थाका घाइतेको उपचार गर्न सक्ने गरी जनशक्ति र अस्पतालहरूको समेत व्यवस्थापन गरिएको हो। आपतकालीन अवस्थामा निजी अस्पताल पनि प्रयोग हुने हुनाले सबै अस्पतालको भूमिका हुने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए। जाजकारकोट भूकम्पमा पनि तालिम प्राप्त स्वास्थ्यकर्मी राति नै तयार भई बिहान ६ बजे नै एयरपोर्ट पुगेको प्रवक्ता बुढाथोकीले जानकारी दिए। जाजरकोटका लागि वीर, नेपाल प्रहरी, सेनाका अस्पतालका गरी ४१ जना स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएका छन्। टोलीमा विशेषज्ञ चिकित्सक, मेडिकल डाक्टर, प्यारामेडिक्ससहित नर्सहरू रहेको जनाइएको छ।

नेपालमा घटनापछिको उपचारभन्दा विपद् व्यवस्थापनको चेतना नागरिकमा नहुनाका कारण धेरैको मृत्यु हुने गरेको छ। विपदका बेला मानवीय क्षति हुन नदिन जनचेतना बढाउनुपर्ने आवश्यकता बुढाथोकीले औंल्याए। भुकम्पीय क्षतिको हकमा असुरक्षित घर नै रहेको उनको बुझाइ छ। यसका लागि सरकारले तोकेकै मापदण्डअनुसार घर निर्माणमा जोड दिनु पर्ने सुझाव उनले दिए।

२०७२ सालको भूकम्पमा सरकारले घाइतेको उपचार तथा व्यवस्थापन सफलतापूर्वक गरेको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले बताए। तर त्यो वर्षपछि बनेका कुनै पनि प्रधामन्त्रीले बिरामीको उपचारमा दिनरात खटिएका स्वास्थ्यकर्मीको मूल्यांकन नगरेकाले उनीहरूमा निराशा छाएको उनको भनाइ छ। ‘यो अवधिमा सुशील कोइराला, शेरबहादुर देउवा, केपी शर्मा ओलाी प्रधानमन्त्री बने तर कसैले उनीहरूको मूल्याकंन गरेनन्,’ उनले भने। त्यस बखत स्वास्थ्यकर्मीहरू दिनरात अनिँदो बसेर, नुहाएर उपचार गरेका थिए। अबको अवस्थामा भूकम्पको जोखिम पश्चिम भेकमा रहेकाले त्यो क्षेत्रमा आपत्कालिन स्वास्थ्य उपचारको संयन्त्र र जनशक्ति तयारी अवस्थामा राख्न उनले सरकारलाई सुझाए।

प्रकाशित: २१ कार्तिक २०८० ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App