२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १४:४९ अपराह्न
स्वास्थ्य

स्वज्ञान बाँड्दा सन्तुष्टि

काठमाडौंको स्वयम्भूमा आजभोलि एउटा नाम निकै चर्चित बन्दै गएको छ। त्यो हो निरोगी बनाउने राज्यलक्ष्मी। विगत केही महिनादेखि स्वयम्भूमा मर्निङ वाकमा जाने जोकोहीको पनि जिब्रोमा राज्यलक्ष्मी स्थापितको नाम आउने गरेको छ। जसको एउटै कारण हो–उनले मर्निङ वाकमा आउने जतिलाई एरोविक गर्न प्रोत्साहन गर्छिन्, त्यो पनि निःशुल्क।

मुस्कानसहितको उनको बोलीले सबैलाई मानसिक र शारीरिक रूपमा स्वस्थ रहन एक घण्टा आफ्नो शरीरलाई दिन आग्रह गर्छिन्। सुरुका दिनमा केही व्यक्तिबाट सुरु भएको भगवान् पाऊँ पार्कमा गराइने निःशुल्क एरोविकमा हाल सयभन्दा बढीको सहभागिता देख्दा खुसी हुँदै राज्यलक्ष्मी भन्छिन्, ‘दिनको २४ घण्टा अरूलाई दिन्छौं। आफ्नो मानसिक र शारीरिक स्वास्थ्यका लागि एक घण्टा अनिवार्य रूपमा हातखुट्टा तन्काउने, उफ्रने लगायतका एरोविक गरौं। यसले समग्र शरीरमा व्यायाम हुन्छ, मानिसलाई दिनभर स्फूर्त बनाउँछ।’

उनले बिहानै ६ बजेर १५ मिनेटदेखि एक घण्टा अर्थात् सवा सात बजेसम्म पार्कमा आउने सबैलाई एरोविक सिकाउँदा आफूलाई सन्तुष्टि मिलेको बताउँछिन्।

एरोविकमा स्वस्फूर्त सहभागिता जनाएकी ४५ वर्षीय लक्ष्मी पौडेल वजन बढेको चिन्ताले त्यहाँ आउन थालेको बताउँछिन्। ‘एरोविक गर्न थालेदेखि मेरो शरीर लचक भएको छ,’ कफी व्यवसायी लक्ष्मीले आफ्नो अनुभव सुनाइन्, ‘सुरुमा अलि लाज लागेको थियो तर समूहमा लाज पनि हराउँदो रहेछ।’

उनले थपिन्, ‘हजारौं रूपैयाँ खर्च गरेर सिक्नुपर्ने एरोविक यहाँ निःशुल्क सिकाउनुहुन्छ र हामी पनि रमाएर व्यायाम गर्छौं। एक घण्टाको व्यायामले मलाई दिनभरि  स्फूर्ति मिल्छ।’

४४ वर्षीय युजिन ताम्राकार पनि दुई साता भयो एरोविक सिकिरहेको। उनलाई एरोविकले निकै खुसी मिलेको छ। ‘एक घण्टा स्वयम्भू पार्कमा आएर एरोविक गर्दा तनावमुक्त हुन्छु,’ युजिन भन्छिन्, ‘शरीर पनि हलुका हुँदो रहेछ।’

४७ वर्षीय रूपा श्रेष्ठलाई एरोविक गरेदेखि सुगर र प्रेसर नियन्त्रण भएको सुनाउँछिन्। ‘एरोविकले शरीरको पूर्ण व्यायाम हुने हुनाले रोग पनि नियन्त्रण गर्दो रहेछ,’ रूपाले आफूले एरोविक गरेको फाइदा सुनाइन्।

५३ वर्षीय सुन्तली तामाङ पनि आफूले एरोविक गर्न गालेदेखि शरीरमा क्रमशः सुधार आएको र निरोगीपनको अनुभव हुँदै गएको सुनाइन्।

४५ वर्षीय राज्यलक्ष्मीलाई सानैदेखि समाजसेवामा रुचि भएकाले आफूले निःशुल्क एरोविक सिकाउन थालेको सुनाइन्। मानसिक र शारीरिक रूपमा स्वस्थ व्यक्ति नै हरेक काममा सफल हुने उनको धारणा छ। केही वर्ष भृकुटी मण्डपमा समेत निःशुल्क एरोविक सिकाएकी राज्यलक्ष्मीले कोरोनापछि स्वयम्भूमा सिकाउन थालेकी हुन्।

‘स्वयम्भूमा मर्निङ वाकमा आउनेहरू धेरै हुनुहुन्छ। हिँडेर मात्र पुग्दैन नि, सम्पूर्ण शरीर स्वस्थ र फुर्तिलो बनाउन एरोविक गर्नुपर्छ। यही कारण मैले यहाँ सिकाउन थालेकी हुँ,’ उनले सुनाइन्, ‘यति मात्र होइन, एरोविक गराउँदा मैले खानपानको सन्तुलनबारे पनि बताउने गरेकी छु।’

उनले थपिन्, ‘सबैजना आफ्नो स्वास्थ्यबारे सचेत हुनैपर्छ। कम्तीमा एक घण्टा आफ्ना लागि छुट्याउनुपर्छ।’ एकल महिला उनी आफू पनि खुसी हुने र अरूलाई पनि स्वस्थ र खुसी हुने उपायसमेत बताउने गरेकी छिन्। ‘खोटापानी’ नेवारी धारावाहिक चलचित्रकी नायिका राज्यलक्ष्मी आफ्नो सङ्घर्षपूर्ण जीवनलाई खुसीमा परिणत गर्दै अन्य जोकोहीलाई पनि खुसी र तनावमुक्त रहन सल्लाह दिन्छिन्।  

प्रकाशित: १८ कार्तिक २०८० ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App