१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

युवावयमै ‘एन्जाइटी, डिप्रेसन’

झट्ट हेर्दा स्वस्थ देखिने मानिस मानसिक रूपमा अस्वस्थ हुन सक्छन् । तर यसको पहिचान सबैले गर्न सक्दैनन् । नेपालमा पछिल्लो समय सक्रिय उमेर समूहमै विभिन्न मनोसामाजिक रोग देखिएको छ । चिकित्सकले नेपालमा १५ देखि ३९ वर्ष उमेर समूहमा बढी मात्रामा एन्जाइटी र डिपे्रसनको समस्या रहेको औंल्याएका छन् ।  

नेपाल मानसिक स्वास्थ्य सर्वेक्षण, २०७७ को तथ्यांकअनुसार कुल जनसंख्याको १० प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक समस्या छ । जसमध्ये २ प्रतिशतमा एन्जाइटी र डिपे्रसन छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले ११ प्रतिशतमा एन्जाइटी र २२ प्रतिशतमा डिपे्रसनको लक्षण पाइएको उल्लेख छ । त्यसमा महिलाको संख्या धेरै छ । तर महिलाको तुलनामा पुरुषमा कडा मानसिक समस्या देखिएको चिकित्सक बताउँछन् । तथ्यांकअनुसार कुल नसर्ने रोगको हिस्सामा १८ प्रतिशत मानसिक रोग छ ।

मनोरोगका कारण सक्रिय उमेर समूहभित्रै आत्महत्याको दर पनि बढी भएको तथ्यांक छ । २०७६ सालको तथ्यांकअनुसार प्रतिवर्ष चार हजार पाँच सय जनाले आत्महत्या गर्थे भने अहिले यो संख्या ७ हजारको हाराहारीमा पुगेको छ । सोही तथ्यांकअनुसार वैदेशिक रोजगारीमा हुने कुल मृत्युमा १०.४ प्रतिशत आत्महत्या छ । चिकित्सकका अनुसार डिपे्रसनका रोगी बढ्दै जाँदा आत्महत्याको दर पनि बढेको हो । ‘छिप्पिसकेको डिपे्रसन वा कडा मानसिक रोग भएकाले आत्महत्याको बाटो रोज्छन्’, मानसिक अस्पताल लगनखेलका मनोरोग विशेषज्ञ डा. वासुदेव कार्की भन्छन् ।  

चिकित्सकका अनुसार डर लाग्ने, एउटै कुरामा चिन्ता गरिरहने, मन आत्तिरहने, चिटचिटाहट हुने, मुटु ढुकढुकी बढ्ने, घाँटीमा केही अड्केको अनुभूति हुने जस्ता लक्षण एन्जाइटीका हुन् । एन्जाइटीको समयमै पहिचान भई उपचार नभएमा थप समस्या देखिन्छ । त्यस्तै निराश हुने, हीनताबोध हुने, नकरात्मक सोच आउने, बिहानपख निद्रा नलाग्ने, काम गर्न मन नलाग्ने जस्ता लक्षण डिप्रेसनका हुन् । मनोरोगको समयमै उपचार नभएमा पीडितले सामान्य जीवनमा फर्किने सम्भावना नदेखेर आत्महत्याको बाटोसमेत रोज्छन् ।  

डा. कार्कीका अनुसार कतिपय व्यक्ति जैविकरूपमै मनोरोगको जोखिममा हुन्छन् भने कतिपय मनोसामाजिक, आर्थिक, हिंसात्मक द्वन्द्व, प्राकृतिक विपत्ति, बेरोजगारी, महŒवाकांक्षा, पारिवारिक विछोडजस्ता कारणले एन्जाइटी, डिपे्रसनमा पुग्छन् । ‘बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता, आर्थिक समस्या, सम्बन्धमा समस्या, उच्च महŒवाकांक्षा जस्ता कारणले पनि मानसिक रोगी बढेको देखिन्छ,’ उनले भने, ‘भविष्य निर्माणको चिन्ता र चुनौती, पेसागत चुनौतीले पनि मनोसमस्या बढाएको छ ।’  

चिकित्सकका अनुसार घरमा संवाद गर्ने, एकअर्काको कुरा मनन गर्ने, एक्लै नबस्ने, सकारात्मक सोच राख्ने, सबैसँग राम्रो सम्बन्ध राख्ने, साथीभाइसँग खुलेर कुरा गर्ने, कसैलाई हेला नगर्ने, योग र ध्यान गर्ने आनीबानीको विकास गर्न सके मनोरोगबाट जोगिन सकिन्छ । यसका लागि परिवार, समुदाय, विद्यालयमा स्वस्थकर वातावरण हुनुपर्छ ।  

नेपालमा संविधान र ऐनले मानसिक स्वास्थ्य अधिकारको प्रत्याभूति गरेको भए पनि कार्यान्वयन पक्ष फितलो रहेको डा. कार्कीले बताए । स्थानीय तहका स्वास्थ्य केन्द्रमा मानसिक रोगीलाई निःशुल्क दिइने औषधिसमेत उपलब्ध नभएको अवस्था छ ।  

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वको कुल जनसंख्याको करिब १५ प्रतिशत मानिस मानसिक स्वास्थ्य समस्यामा छन् । गम्भीर मानसिक स्वास्थ्य समस्या भएका पाँचजनामा चारजना निम्न र मध्यम आय भएका देशहरूमा रहेको तथ्यांक संगठनले सार्वजनिक गरेको छ ।  

अवस्था चिन्ताजनक : आयोग

राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक रहेको जनाएको छ । मानसिक रोगीलाई उपचार नगरी साङ्लाले बाँधेर राख्ने, खोरमा थुन्ने, दुव्र्यवहार गर्ने प्रवृत्ति कायमै रहेको अनुगमनबाट पाइएको जनाउँदै आयोगले भनेको छ, ‘मानसिक स्वास्थ्य सम्बन्धमा नेपाल सरकारले पर्याप्त बजेट र संयन्त्रको व्यवस्था गरेको देखिँदैन ।’  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १ सय ४४ मनोचिकित्सक र तीनजना बाल मनोचिकित्सक छन् । मनोसामाजिक सहायताका लागि आवश्यक अन्य जनशक्ति (मनोचिकित्सक, नर्स, मनोविद्, मनोविमर्शकर्ता, सामाजिक कार्यकर्ता) को व्यवस्था हुन नसकेको भन्दै आयोगले चिन्ता गरेको छ ।  

आयोगले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न सरकारलाई आग्रह गरेको छ । मानसिक स्वास्थ्य उपचार सर्वसुलभ र गुणस्तरीय बनाउन तथा मानसिक रोगीको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि आयोगले आग्रह गरेको छ ।

प्रकाशित: २४ आश्विन २०८० ००:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App