१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

जागिरे तनावको जोखिम

यस्तो पनि !

तनाव र दबाबमा काम गर्नुपर्ने र कसैबाट धन्यवादसमेत नपाइने कामले पुरुषहरू बढी मर्कामा परिरहेको शोधकर्ताहरूले बताएका छन् । क्यानडाका शोधकर्ताहरूले बढी तनाव र दबाबमा काम गरिरहेका पुरुषहरूले शरीरलाई त्यति नै हानि पुर्याइरहेका छन्, जति मोटोपनका कारण हुनेगर्छ ।

वैज्ञानिकहरूले त्यस किसिमको तनावलाई ‘जब स्ट्रेस’ (जागिरे तनाव) नामकरण गरेका छन् । जागिरे तनाव त्यस्ता व्यक्तिलाई हुन्छ, जसको कामको उच्च माग हुन्छ तर परिणाममा खासै नियन्त्रण हुँदैन । कामको भार ज्यादा, कडा समयसीमा, निर्णय गर्ने स्वतन्त्रता कम र ‘धन्यवाद’मा समेत कञ्जुस्याइँ भएको ठाउँमा जागिरे तनावको समस्या बढी हुने बताइएको छ । खासगरी यस्तो तनावमा जागिरेले सक्दो प्रयासका बाबजुद पनि पुरस्कार पाउने सम्भावना शून्य रहेको ठाउँ ‘जब स्ट्रेन’का लागि उर्वर रहेको अध्येताको मत छ ।

प्रायः कुनै पनि जागिरमा तलब, पहिचान वा जागिरको सुरक्षा पर्याप्त नहुने वा जति प्रयास गरियो, त्यो अनुसारको सुरक्षा अनुभूत नहुने जागिरेहरूलाई ‘जब स्ट्रेस’ हुने वैज्ञानिकहरूको तर्क छ ।  

शोधकर्ताहरूले ६ हजार ५०० सहभागीहरूलाई व्यवस्थापन, व्यावसायिकता, प्राविधिक तथा कार्यालयको भूमिका, दबाब र तनावको दर र यसका बीच पाउने उच्च पुरस्कार वा फाइदा के कस्तो छ भनी सोधेका थिए ।  

‘सर्कुलेसनः कार्डियोभास्कुलर क्वालिटी एन्ड आउटकम्स’ जर्नलमा यो शोध निष्कर्ष प्रकाशित भएको छ । कामदारहरूलाई सन् २००० देखि २०१८ सम्म १८ वर्ष लगाएर यो अध्ययन गरिएको थियो । पछिल्लो वर्ष कस्ता जागिरेलाई ‘कोरोनरी हार्ट डिजिज’ भयो भनी खोज्दा प्रायः पुरुषहरूमा यस्तो समस्या देखिएको पाइयो ।  

प्रशंसा नगरिने वा धन्यवाद नभनिने काममा पुरुषहरू बढी घोटिएको पाइयो र त्यस्तो काम गर्ने अधिकांशमा यो रोग देखियो । महिलाहरूमा भने यस्तो समस्या नदेखिएको अध्ययनले बताएको छ । प्रायः त्यस्ता काममा पुरुषहरू नै हुने हुनाले महिलाको तथ्यांक फेला नपरेको अध्येताहरूले बताएका छन् ।

यसैगरी, अर्को बेग्लै अध्ययनले उच्च शिक्षा लिएका महिला तथा पुरुष दुवैमा मुटु रोगको खतरा कम विकसित हुने देखिएको छ । स्विडेनमा गरिएको अध्ययनले उच्च शिक्षित महिला पुरुषहरूमा स्वास्थ्यप्रति बढी सचेतना हुने हुनाले उनीहरूलाई मुटुको समस्या कम देखिएको हो । उनीहरूले स्वस्थकर खान्की लिने, राम्रो शारीरिक कसरत गर्ने, धूमपानबाट टाढै रहने हुनाले पनि मुटुको रोगको समस्या कम हुने गरेको अध्ययन निष्कर्ष छ ।

 

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ७ आश्विन २०८० ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App