५१ वर्षको उमेरमा नै दीर्घरोगले च्यापेपछि चिकित्सकहरूले नर्वेका एर्लेन बोरलाई बिहानबिहान हिँड्न सुझाए। बिना कारण के हिँड्नु? स्वास्थ्यका लागि मात्र किन हिँड्नु? बरु हिँड्दाहिँड्दै अरू नै केही गर्न पाए अझ गज्जब हुन्थ्यो भन्ने सोचेर एर्लेनले एउटा ‘मेटल डिटेक्टर’ खरिद गरे।
उनको विश्वास थियो, घुम्दै जाँदा मान्छेले युद्धका बेला लुकाएका धनसम्पत्ति कसो फेला नपारिएला!
यसपछि बिहानी यात्रामा उनी यही मेटल डिटेक्टर बोकेर खेतबारी घुम्न थाले। मेटल डिटेक्टरमा जडित शक्तिशाली चुम्बकले सिक्का तथा केही मूल्यवान् धातु पाउने आशामा बिहान बिहान निस्केर अबेरसम्म डुल्न थाले।
लगभग वर्ष दिन यसरी नै डुल्दा पनि उनले कुनै आकर्षक चिज फेला पार्न सकेका थिएनन्। हिँड्दै गर्दा उनको रोग पनि कम हुँदै जान थालेको थियो। एक काम दुई पन्थको सिद्धान्तमा एउटा काम मात्र फत्ते भएको पाएपछि उनले गएको अगस्त महिनामा अब लामो लामो फड्को मार्नुपर्ने खेतबारी डुल्ने काम बन्द गर्ने निर्णय गरे। तर लागेको बानी, के छुट्थ्यो! अब भोलिदेखि चाहिँ खेत पुग्दिनँ भन्ने सोचेका दिन झन् बिहानै उठेर मेटल डिटेक्टर चलाउन मन लाग्थ्यो।
गत अगस्तमा भने उनैलाई आश्चर्यमा पार्दै मेटल डिटेक्टर बज्यो। बजेको ठाउँ खोतल्दै जाँदा उनले तीन वटा सुनको औंठी फेला पारे। त्यति मात्र होइन, १० वटा सुनको कुण्डल र अन्य गहना पनि फेला पारे। यसरी खेत-खलियानमा फेला पारिएका चिजबिज नर्वेको कानुनअनुसार देशको सम्पत्ति हुन्छ। त्यसैले यी चिजबिज एउटा असल नागरिकको हिसाबले देशलाई बुझाइदिए।
फेला पारिएका चिजबिज ईशापूर्व ५०० तिरका गहना भएको पुरातत्वविद्हरूले बताएका छन्। यति पुराना चिज खोतल्न सहयोग गरेबापत नर्वे सरकारले उनलाई सम्मान गर्यो।
‘गार्डियन’ अखबारलाई उनले भनेछन्, ‘मेरो खोजले देशलाई त फाइदा भयो नै व्यक्तिगत रूपमा पनि मेरो रोग निको भयो। यो बिहानी यात्रा टुंग्याउने निर्णय गरेको थिएँ तर यसपछि त म अझ उत्साहित भएको छु। हरेक दिन बिहान उठेर मेटल डिटेक्टरका साथ म मर्निङ वाकमा जाने गर्छु।’
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: १ आश्विन २०८० ०१:५० सोमबार