५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बिरामीको चाप बढेपछि शय्या र स्वास्थ्यकर्मी अभाव

इलाम अस्पतालको आकस्मिक कक्षामा उपचार गराउँदै बिरामी। तस्बिर: भीम/नागरिक

इलाम अस्पतालमा भाइरल, डेंगु र स्क्रब टाइफसका बिरामीको चाप बढेपछि शय्या अभाव भएको छ। बिरामी भुइँमै सुतेर उपचार गराउन बाध्य छन् भने स्वास्थ्यकर्मीको संख्या कम हुँदा उपचारमा समस्या भइरहेको छ।

अस्पतालको ओपिडी (बहिरंग विभाग)मा दिनहुँ चार सय हाराहारी बिरामी स्वास्थ्य जाँच गराउन आइरहेका छन्। यीमध्ये तीन सयभन्दा बढी ज्वरोका बिरामी रहेको र उनीहरूमध्ये पनि बढीजसो ज्वरो र स्क्रब टाइफसकै बिरामी हुनेगरेको अस्पतालले जनाएको छ। आकस्मिक कक्षमा दिनहुँ ८० देखि ८५ बिरामी जाँचका लागि आउनेगरेका छन्। भदौ १० देखि १६ सम्म आकस्मिक कक्षमा मात्रै नौ सय बिरामी जाँचका लागि आएको अस्पतालले जनाएको छ।  

आकस्मिक कक्षका इन्चार्ज तथा जनस्वास्थ्य निरीक्षक टीका लुइँटेलले सुरुमा जिउ दुख्ने, हातखट्टा करकर खाने, टाउको दुख्ने, आँखाका गेडी दुख्ने, बिस्तारै ज्वरो अत्यधिक आउने, आलस्य हुने र रक्तचाप कम हुने लक्षण बिरामीमा देखिएको छ। ‘धेरैलाई यहि उपचार गरेपनि केहीलाई रेफर गर्नुपरेको छ,’ उनले भने, ‘लक्षण देखिएको सात दिनमा सामान्यतया निको हुन्छ।’

अस्पताल व्यवस्थापक क्षितिज खतिवडाले ५० शय्याको अस्पतालमा बिरामी नअटाएपछि भुइँमा म्याट ओछ्याएर सुताइ उपचार गराउनुपरेको बताए। ‘बिरामीको चाप अस्पतालको शड्ढयाले नथाम्ने अवस्था छ,’ उनले भने, ‘अस्पतालमै राख्नुपर्ने बिरामीको संख्या बढेका बेला भुइँमै बिरामी राखेर उपचार गराउन बाध्य छौं।’ खतिवडाका अनुसार गत साउनदेखि भदौ २० सम्म डेंगुका ८६ र स्क्रब टाइफसका ३५ बिरामी फेला परेका छन्।

अस्पतालमा बिरामीको चाप बढेपछि उपचार गर्ने स्वास्थ्यकर्मीसमेत अभाव छ। कतिपय स्वास्थ्यकर्मीसमेत डेंगुले संक्रमित छन्। अस्पतालमा पाँच मेडिकल अधिकृत, आकस्मिक कक्षमा चार असिस्टेन्ट हेल्थ वर्कर कार्यरत छन्।    

कीट अभावले बिरामीले निःशुल्क सुविधा पाएनन्

कीट अभाव भएपछि बिरामीले निःशुल्क जाँच गराउने रोग जाँच्न पनि पैसा तिर्नुपरेको छ। डेंगु र मलेरिया जाँच गराउन पैसा तिर्नुपरेको हो। करिब सातायता बिरामीले डेंगु र मलेरियालगायत जाँच गराउन पैसा तिर्नुपरेको बताएका छन्।  

अस्पतालले सरकारी तवरबाट कीट प्राप्त भएसम्म यस्ता बिरामीको निःशुल्क जाँच गर्ने तर अस्पतालले किनेको कीटको रकम भने बिरामीले तिर्नुपर्ने जनाएको छ। अस्पतालले सार्वजनिक सूचना नै जारी गरी अस्पतालले किनेको कीटबाट भएको जाँचको स्वास्थ्य बिमा कार्यक्रमबाट सोधभर्ना नहुने भएकाले तोकिएको शुल्क बुझाउनुपर्ने जनाएको हो।

प्रकाशित: २० भाद्र २०८० १२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App