३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

पोखराको चरक मेमोरियल हस्पिटलले गर्यो ओपन हर्ट सर्जरीको सफल शल्यक्रिया

यहाँको नागढुंगास्थित चरक मेमोरियल अस्पतालले ओपन हर्ट सर्जरी (छाती छिरेर गरिने मुटुको शल्यक्रिया) मा सफलता हात पारेको छ। गण्डकी प्रदेशमै पहिलोपटक यो उपचार सफल भएको अस्पतालले बताएको छ।

पोखरा–२० भलामका ४५ वर्षिय विष्णु गौतमको छाती चिरेर सफलतापूर्वक शल्याक्रिया गरेको अस्पताललेबताएको छ। मुटुमा समस्या रहेका गौतमको करिब चारघण्टा लगाएर मनमोहन अस्पतालका विभागीय प्रमुख समेत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराई नेतृत्वको टोलीले ओपन हर्ट सर्जरी सफलतापूर्वक गरेको चरक अस्पतालका प्रवन्ध निर्देशक कपिल पोखरेलले बताए।  

गौतमको मुटुमा हात र छातीको नसा लगेर जडान गरिएको डा.भट्टराईले जानकारी दिए। उनका अनुसार गौतमको स्वास्थ्य अवस्था अहिले सामान्य छ। उनी अहिले आफै हिंडडुल गर्न र खानपीन गर्न सक्षम छन्।

अस्पतालमा यो सेवा सुरु गर्नका लागि तीनकरोड रुपैयाँ लागतमा हर्ट लङ मेसिन अर्थात मुटु र फोक्सो चलाउने कृत्रिम मेसिन जडान गरिएको छ। सोहि मेसिनको प्रयोग गरेर छाती चिरेर मुटुको शल्यक्रिया गर्न थालिएको पोखरेलले जानकारी दिए ।  

वरिष्ठ मुटुरोग विशेषज्ञ भट्टराईले गौतमको मुटुको शल्यक्रिया जटिल अन्तरगतको रहेको बताए । ‘यो जटिल खालको शल्यक्रिया हो,’ उनले भने, ‘यसको शुरुवात गर्नु ठूलो कुरा होईन, तर अप्ठ्यारो कुराचाहिँ हो। अब यसलाई निरन्तरता दिने र गुणस्तरीय बनाउनु ठूलो कुरा हो।’ उनले विज्ञानले ल्याएको सुविधा देशका मुख्य सहरहरुमा बिस्तार गर्ने उद्देश्यले पोखरामा ल्याइएको बताउँदै यसले ओपन हर्ट सर्जरी अध्ययन गरेका युवालाई स्वदेशमै बसेर काम गर्न प्रेरित गर्ने बताए। ‘हामीले ओपन हर्ट सर्जरीको प्लेटफर्मलाई जग हालेको मात्र हो,’ उनले भने।

चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक पोखरेलले चरक अस्पतालमा अबदेखि नियमित रुपमा ओपन हर्ट सर्जरी हुने बताए। ‘ओपन हर्ट सर्जर आकस्मिक रुपमा गरिने कुरा होईन,’ उनले भने, ‘यो योजना बनाएर गर्ने कुरा हो। प्रविधि र जनशक्ति दुबै मिलाएर हामी नियमित रुपमा गर्दै जान्छौं।’ 

उनले चरक अस्पतालमा मुटुको उपचारका लागि सरकारले दिने एकलाख रुपैयाँको सुविधा पनि रहेको उल्लेख गरे। ओपन हर्ट सर्जरीका लागि प्रति व्यक्ति ५ देखि ६ लाख रुपैयाँसम्म लागत लाग्ने उनले बताए। तर चरकले पहिलो शल्यक्रिया निशुल्क गरेको छ  यो अप्रेसन गर्दा भारतमा १५ लाख रुपैयाँ भन्दा बढी लाग्ने उनले बताए।  

ओपन हर्ट सर्जरी गर्ने चिकित्सक नेपालमा करिब २५ जना मात्र छन्। पोखरामा भने एकजना मात्र ओपन हर्ट सर्जन रहेको मनमोहन अस्पतालका विभागीय प्रमुखसमेत रहेका डा. भट्टराईले बताए। उनका अनुसार ओपन हर्ट सर्जरी काठमाडौंको शहीद गंगालाल हृदय रोग केन्द्र बाँसबारी, मनमोहन कार्डियो भाष्कुरल अस्पताल, चितवन, विराटनगर र धरानमा मात्र हुँदै आएको छ।

प्रकाशित: २ भाद्र २०८० ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App