२ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोशी अस्पतालको जग्गा फिर्ता गर्न संघर्ष समिति गठन

कोशी अस्पतालको जग्गामा रहेको नेपाल क्षयरोग निवारण संस्थाको भवन र उसले भाडामा लगाएका सटर। तस्बिर: फाइल।

कोशी अस्पतालको सम्पत्ति संरक्षणका लागि संघर्ष समिति गठन गरिएको छ।

कोशी अस्पताल विकास समितिका पूर्व सदस्य मुकेश बुढाथोकीको संयोजकत्वमा १६ सदस्यीय संघर्ष समिति गठन गरिएको हो।

समितिमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उपभोक्ता अधिकारकर्मीसमेतको सर्वपक्षीय भेलाले समिति गठन गरेको हो।

राजनीतिक दलसहित सबै पक्षलाई समेटिएको समितिले सरकारी अस्पतालको संरक्षणका लागि संघर्षका विभिन्न कार्यक्रम अघि बढाइएको बताउँदै, संयोजक बुढाथोकीले भने, ‘प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, कोशी प्रदेशका मुख्यमन्त्री, विराटनगर महानगरपालिका प्रमुख, मोरङका प्रमुख जिल्ला अधिकारी, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलगायतलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउने छौं। त्यसपछि अन्य विभिन्न किसिमका संघर्षका कार्यक्रम घोषणा हुनेछ।’ 

कोशी अस्पताल रहेको विराटनगर–७ मा ५ बिघा ८ कट्ठा जग्गा छ। अस्पतालको करिब १५ कट्ठा बढी जग्गा मन्दिर, क्षयरोग निवारण संस्था, पुस्तकालय र रेडक्रस सोसाइटीले गैरकानुनी रुपमा वर्षौंदेखि ओगट्दै आएका छन्। 

त्यसरी ओगटिएको अस्पतालको जग्गामा उनीहरुले व्यापारिक भवन एवं संरचना बनाउँदै आफू प्रयोग गरेर अरुलाई पनि भाडामा लगाएका छन्। अस्पतालको जग्गामा उनीहरुले वर्षौंदेखि रजाइँ गर्दै मासिक लाखौं रुपैयाँ बहाल वपात उठाउँदै आएका छन्।

एमआरआई, एनआइसीयूजस्ता आवश्यकीय सेवासहित चमेना गृह एवं विभिन्न सेवा विस्तारका लागि भवन निर्माण गर्न जग्गा अभाव भइरहेको संघर्ष समितिले जनाएको छ। अस्पतालको सेवा सुविधाको सुधार गर्दै जग्गा फिर्ता गराउनका लागि चरणबद्ध आन्दोलन गर्ने बताउँदै, संयोजक बुढाथोकीले भने, ‘अस्पतालको जग्गा कसले कति ओगटेका छन्। सबैको तथ्यांक आफूहरुसँग छ। अस्पतालजस्तो संवेदनशील क्षेत्रको जग्गामा अरुले रजाइँ गर्न राम्रो होइन। राजनीतिक हस्तक्षेपका कारण अस्पताल धराशायी बन्नु दुःखद कुरो यसबाट मुक्ति दिलाउँछौँ।’

प्रकाशित: २३ श्रावण २०८० १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App