१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

नेपालगन्जमा आँखा पाक्ने रोगबाट विद्यार्थी बढी प्रभावित

फाइल तस्वीर

बाँकेका नेपालगन्ज, कोहलपुर लगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन्। करिब दुई हप्तादेखि फैलिएको आँखा पाक्ने रोगबाट यहाँका विद्यार्थी तथा बालबालिका बढी प्रभावित भएका हुन्।

अन्य व्यक्तिभन्दा बालबालिकाहरूको विद्यालयमा बढी भीडभाड हुने र उनीहरू सँगै हुने भएकाले बढी प्रभावित भएका कोहलपुर नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेमप्रसाद पाण्डेले जनाए।

‘विद्यालयमा बालबालिका सँगै खाने र खेल्ने हुन्छन्,’ उनले भने, ‘बालबालिका सँगै हुँदा आँखा पाक्ने समस्या एकबाट अर्काेमा सहजै सर्छ। जसबाट बालबालिका अझ बढी प्रभावित भएका छन्।’

उनका अनुसार वडा नम्बर २ का फूलबारी र सेञ्चुरीमा अझ बढी देखिएको छ। योसँगै वडा नम्बर ६ मा पनि बढी छ। कोहलपुरका प्रायः सबै स्थानमा यो समस्या देखिएको जनस्वास्थ्य निरीक्षक पाण्डेले जनाए।

‘नगर अस्पतालमा दैनिक ८० जनासम्म बिरामी आउनुहुन्छ,’ उनी भन्छन्, ‘जसमध्ये दैनिक १५/२० जना बिरामी आँखा पाक्ने समस्याका हुन्छन्।’

यो संख्या धेरै भएको उनी बताउँछन्। यता नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आँखा पाक्ने समस्याका बिरामी दैनिक ३० देखि ४० जना आउने गरेको शिक्षण अस्पताल कोहलपुरमा आँखा रोग विशेषज्ञ प्रोफेसर डा. नन्दाकुमारी गुरुङले जनाइन्।

केही दिनयता आँखा पाक्ने संक्रमण निकै बढेको उनी बताउँछिन्। यो भाइरस एकबाट अर्कोमा सहजै सर्ने भएको हुँदा सजक रहनु पर्ने उनको भनाइ छ।

प्रकाशित: १९ श्रावण २०८० ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App