२ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

साढे ४ महिनामै फेरिए कोशी अस्पतालका प्रमुख

विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्त भएका छन्। अस्पतालको मेसुलाई साढे ४ महिनामै परिवर्तन गरिएको हो।

प्रदेशको ठुलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालको मेसुमा वरिष्ठ कन्सल्टेन्ट चर्म, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर चन्द्रभाल झा नियुक्त भएका हुन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको मेसुमा नियुक्त गरेको अस्पतालले जनाएको छ। यसअघि अस्पतालको निमित्त मेसु वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रविनराज सिंह रहेका थिए।

डाक्टर सिंहले अस्पतालमा निमित्त मेसुका रुपमा साढे ४ महिना सेवा गरे। डाक्टर झा ११ औं तहका हुन् भने सिंह १० औं तहका चिकित्सक हुन्। सुरुवा भएर कोशीमा आउनुअघि झाले मेची अञ्चल अस्पताल भद्रपुरमा ७ वर्ष काम गरेका थिए। नवनियुक्त मेसु डाक्टर झा कोशीमा ४ वर्षदेखि कार्यरत छन्।

कोशी अस्पतालमा मेसुको दरबन्दी ११ औं तहको छ। अस्पतालमा झासहित वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर दीपक सिग्देल र वरिष्ठ कन्सल्टेन्ट बाल रोग विशेषज्ञ डाक्टर रामनारायण चौधरी ११ औं तहका चिकित्सक छन्। तर, यसअघि १० औं तहका चिकित्सकलाई निमित्त मेसुको जिम्मेवारी दिइँदै आएको थियो।

लामो समयपछि अस्पतालले ११ औं तहका चिकित्सकलाई मेसुका रूपमा पाएको हो। १० औं तहका डाक्टर सिंहले गत फागुन २ गते मेसुको जिम्मेवारी पाएका थिए।

सिंहका पालामा अस्पताल सुधारका लागि उल्लेख्य काम भएको चिकित्सकहरु बताउँछन्। झा नयाँ मेसु भएपछि सिंह पुरानै जिम्मेवारीमा फर्किएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालको सेवा सुविधालाई सुधार गर्दै यस स्तरलाई अझमाथि उठाउने प्रयत्न गर्ने बताउँदै, नवनियुक्त मेसु झाले भने, ‘अस्पताल सुधारका लागि एक वा दुईले हुने भन्दा पनि सबै पक्षको साथ र सहयोगबाट हुने भएकाले सबै पक्षको सहयोगको अपेक्षा गरेको छु।

आर्थिक अवस्था कमजोर भएकाहरु नै सबैभन्दा बढी सरकारी अस्पतालमा सेवा लिन आउने गरेका छन्। उनीहरुले सहज रुपमा सेवा पाउने वातावरण बनाउने छु।’

डेढ वर्षको दौरानमा ४ जना मेसु अस्पतालमा परिवर्तन भएका छन्। २०७८ फागुन ५ मा डाक्टर यज्ञराज खरेल निमित्त मेसु भए। २०७९ भदौ १६ गते खरेललाई हटाएर डाक्टर लक्ष्मीनारायण यादवले निमित्तको जिम्मेवारी पाए भने ०७९ फागुन २ गते यादवको स्थानमा डाक्टर रविनराज सिंहले निमित्तको जिम्मेवारी पाएका थिए। खरेल, यादव र सिंह १० औं तहका चिकित्सक हुन्।

प्रकाशित: १८ असार २०८० १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App