आर्थिक अभाव र भौगोलिक विकटताका कारण वर्षौंदेखि दृष्टि गुमाएर अन्धकारमा बाँच्न बाध्य जुम्लाका १२२ जना नागरिकले पुन: संसार देख्न पाएका छन्।
सदरमुकाम खलङ्गामा आयोजना गरिएको ४५औं निःशुल्क आँखा शिविरमार्फत मोतियाविन्दुको सफल शल्यक्रिया भएपछि उनीहरूको आँखाको ज्योति फर्किएको हो।
जुम्लाको दुर्गम तिला गाउँपालिका–७ की ७० वर्षीया धनसरा रावतले ६ वर्षपछि उज्यालो देख्दा खुसीका आँसु झारिन्।
देब्रे आँखाको दृष्टि गुमेपछि उनको दैनिकी निकै कष्टकर बनेको थियो। ‘आँखा नदेखेपछि घरमा पानी पँधेरो गर्न र खाना पकाउन छुट्यो,’ उनले भनिन्, ‘अहिले बल्ल बाहिरी संसार देख्न पाएँ।’
धनसराका छोराका अनुसार पैसाको अभावमै आमाको उपचार रोकिएको थियो। ‘हामीसँग पर्याप्त पैसा भएन, बाहिर लगेर शल्यक्रिया गर्दा धेरै खर्च लाग्ला भनेर अहिलेसम्म यत्तिकै बसेका थियौँ,’ उनले भने। आँगनमै निःशुल्क शल्यक्रिया गर्न पाउँदा आफूहरूजस्ता विपन्न परिवारलाई ठूलो राहत मिलेको उनले बताए।
सोही गाउँपालिकाकी ६० वर्षीया जयकली रावतको पनि एउटा आँखाले नदेख्ने समस्या थियो। काठमाडौं, सुर्खेत वा नेपालगन्ज गएर उपचार गर्दा ३० देखि ४० हजार रुपैयाँ खर्च हुने डरले उनी रोग पालेर बसेकी थिइन्। तर, खलङ्गामै निःशुल्क शल्यक्रिया भएपछि उनी हर्षित छिन्।
पातारासी गाउँपालिका–५ लासीकी ८४ वर्षीया याङ्जु लामाले अब आँखा देख्न पाइएला भन्ने आस मारिसकेकी थिइन्। नजिकको वस्तु पनि नदेख्ने र देखे पनि तिरमिर हुने समस्याबाट उनी पीडित थिइन्। ‘मलाई अब आँखाले देख्न पाइएला जस्तो लागेको थिएन,’ उनले भनिन्, ‘जति बाँच्छु त्यतिन्जेलसम्म राम्रोसँग देख्न पाउँदा निकै खुसी लागेको छ।’
सोही गाउँपालिकाको तल्फीका ५८ वर्षीय चुम्मा बोहोराले पनि दृष्टि फर्केपछि अब हिँडडुल गर्न लठ्ठी र नातिनातिनाको सहारा लिन नपर्ने बताए। ‘घरभित्र–बाहिर हिँडडुल गर्न लठ्ठी र नातिनातिनाको सहारा लिनुपर्थ्यो, अब त्यो छुट्ने भयो,’ बोहोराले भने।
गत वैशाख ५ देखि ७ गतेसम्म सञ्चालन भएको शिविरमा ५४६ जनाको आँखा परीक्षण गरिएको थियो। चन्दननाथ आँखा अस्पतालका आई वर्कर सुपरभाइजर दलबहादुर महताराका अनुसार परीक्षण गरिएकामध्ये १२२ जनाको सफल शल्यक्रिया गरिएको छ।
साथै, २५० जनालाई पढ्न र लेख्न सहज हुने चस्मा वितरण गरिएको छ। शिविरमा बिरामी दर्ताका लागि ५० रुपैयाँ मात्र शुल्क तोकिएको थियो।
नेपाल नेत्रज्योति संघअन्तर्गत चन्दननाथ आँखा अस्पतालको आयोजना पोखरास्थित हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग र रिड्ले आई फाउन्डेसनको आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो।
नेत्र रोग विशेषज्ञ डा. हरिविक्रम अधिकारीको नेतृत्वमा रहेको चिकित्सक टोलीले बिरामीहरूको शल्यक्रिया गरेको थियो। आँखा उपचार केन्द्रका प्रमुख मंगल खड्काका अनुसार शल्यक्रिया गरिएका बिरामीलाई पुनः परीक्षणपछि मात्र घर पठाइएको छ।
चन्दननाथ आँखा अस्पताल व्यवस्थापन समितिका सभापति जगदीश चौलागाईंका अनुसार जुम्लामा अझै पनि भौगोलिक विकटता, विपन्नता र चेतनाको अभावले रोग पालेर बस्ने प्रवृत्ति छ। निःशुल्क स्वास्थ्य शिविरमा आउनसमेत लजाउने र समस्या लुकाउने प्रवृत्ति अझै गाउँघरमा व्याप्त छ।
स्वास्थ्यकर्मीहरूका अनुसार गाउँमा अझै झारफुक र धामीझाँक्रीमा विश्वास गर्ने चलन कायमै छ। ‘कतिपय अन्धविश्वासका कारण शल्यक्रिया गर्न नमानेका पनि भेटिन्छन्, जनचेतना अझै पुगेको छैन,’ उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू भन्छन्।
जुम्लामा बर्सेनि यस्ता शिविर सञ्चालन हुँदै आएका छन्। यसअघि गत चैतमा तिलगङ्गा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको संयुक्त आयोजनामा भएको शिविरमा ९० जनाको सफल शल्यक्रिया गरिएको थियो भने गत कात्तिकमा सिँजा क्षेत्रको नराकोटमा पनि शिविर सञ्चालन गरिएको थियो।
प्रकाशित: ९ वैशाख २०८३ २१:२१ बुधबार





