२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

गर्भवती तथा सुत्केरीलाइ अकाल मृत्युबाट जाेगाउन आवास गृह सेवा सुचारु

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले गर्भवती तथा सुत्केरी महिलाका लागि आवासगृह संचालन गरेको छ। जिल्लामा जटिल अवस्थामा भएका गर्भवती तथा सुत्केरी महिलाका लागि आवासगृह बनाइएको हो।

सुत्केरी हुनुपूर्व जाँचका लागि आएका गर्भवती महिलामा जटिल खालको समस्या देखिएको अवस्थामा डाक्टरको सल्लाहअनुसार बस्नका लागि आवास बनाइएको हो। यसको लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछाडीको एक घर भाडामा लिइएको छ। मापदण्डअनुसार प्रतिष्ठान भित्र हुनुपर्छ, तर कोठा नहुदा भाडामा नजिकै आवासगृह संचालनमा ल्याइएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।

जुम्लाका अधिकांश गाउँपालिकामा भरपर्दो प्रसूति सेवा छैन। धेरै गर्भवती महिला कर्णाली स्वास्थ्य विज्ञानको प्रसूतिगृहमा आउने गरेका छन्। जटिल खालका गर्भवती महिला र सुत्केरी भइसकेपछि पनि अस्पताल भर्ना गर्नुपर्ने अवस्थाका सुत्केरी आमाहरुलाई जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले आवासको व्यवस्था गरेको हो।

अकालमै उनीहरूले ज्यान गुमाउन नपरोस् भन्ने मुख्य उद्देश्य रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सुरक्षित मातृत्व कार्यक्रमकी सम्पर्क व्यक्ति मोर्चा शाहीले बताइन्। उनले भनिन्, 'जटिल खालका गर्भवती महिलालाई निकै सजिलो हुनेछ। तर डाक्टरको सिफारिसका आधारमा गर्भवती महिलाले आवासगृह बस्ने छन्।'

हिमाली तथा पहाडी जिल्लाका गर्भवती महिला घरमै सुत्केरी हुने दर शून्यमा झार्ने लक्ष्यका साथ संघीय सरकारले यस्तो कार्यक्रम लागू गरेको हो। उनका अनुसार अहिले ४ वटा कोठा तत्कालका लागि भाडामा लिइएको छ। यो संघीय सरकारको पहिलो कार्यक्रम हो। यसको उद्देश्य संस्थागत सुत्केरी हुने दर बढाउने हो । योपटक सामग्री सहित खानाको व्यवस्थापन गरेको शाही बताउँछिन्।

अर्को वर्ष कोठा भाडा र खाना खर्च मात्रै पठाउने देखिन्छ। शाही भन्छिन्,'यो कार्यक्रम लागू भएपछि होम डेलिभरी (घरमा सुत्केरी हुने) सुत्केरी महिलाको दर घट्ने देखिन्छ। यो कार्यले जटिल समस्या भएको सबै महिला गर्भ जाँचदेखि लिएर बच्चा जन्माउन स्वास्थ्य संस्थामा आउने देखिन्छ।'  

गर्भवति महिलाहरुलाई बस्ने आवासगृहमा तातो चिसो पानीको व्यवस्था, भान्सालगायत आधारभूत आवश्यकताका सामग्री राखिएको छ। जटिल खालका समस्या भएका सुत्केरीले सेवा नपाएर ज्यान गुमाउने छैनन्। सुत्केरी हुने क्रममा आमा, बच्चा अथवा दुवैको ज्यान जोखिममा हुन्छ, यो कार्यक्रमले उनीहरूका लागि हित हुनेछ। अहिले पनि धेरै जटिल अवस्थामा सुत्केरी हुने क्रममा आमा, शिशु वा दुवैको ज्यान जाने गरेको छ।

प्रकाशित: ३१ जेष्ठ २०८० ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App