५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

गोदाममै थन्किए आइसियु र भेन्टिलेटर

जनशक्ति अभावमा सरुवा रोग अस्पताल गोदामा थन्किएका आईसियु र भेन्टिलेटर । तस्बिर: ललित-नागरिक

सरुवा रोग अस्पताल कालिकोटमा विशेषज्ञ जनशक्ति अभावमा आधुनिक उपकरण गोदाममै थन्किएका छन्। २१ जनाको दरबन्दी रहेको एक मात्र सरुवा रोग अस्पतालमा विशेषज्ञ जनशक्ति अभावसँगै बिरामी नआउँदा अस्पतालको गोदाममै महँगो मूल्यमा खरिद गरिएका आईसियु र भेन्टिलेटर थन्किएका हुन्।

कोरोना कालका बेला महँगो मूल्यमा खरिद गरिएका त केही सहयोगमार्फत दुर्गम कालिकोटले पाएका यी उपकरण जनशक्ति अभावमा अस्पतालमै थन्काउनुपरेको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ। मेडिकल अफिसरसँगै २१ जनाको दरबन्दी रहेको सरुवा रोग अस्पतालमा तीनजनाले धानिरहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका व्यवस्थापक कटकबहादुर महतले जानकारी दिए।

कोरोनाका बेला खरिद गरिएका उपकरणले धेरैको ज्यान त बचायो, तर जनशक्ति र बिरामी नहँुदा थन्काउनुपरेको हो। विकट क्षेत्रमा स्वास्थ्य सामग्रीजस्ता सम्पत्ति हुनु जिल्लाका लागि राम्रो हो। उतिबेला यिनै सामग्रीले धेरैको ज्यान जोगियो। अहिले अस्पतालको गोदाममै थन्काउनुपरेको छ।

कोरोनाका बेला पाएको जनशक्ति र उपकरण प्रयोग गर्न जिल्लाका सरवा रोग अस्पताल स्थापना गर्न पुग्यौं तर अहिले जनशक्ति छैन। बिरामी पनि छैनन्। २१ जनाको दरबन्दीमा तीनजनाले मात्र सरुवा रोग अस्पताल धानिरहेका छन्। बाँकी जिल्ला अस्पतालमा काम गरिरहेका छन्। यसमा आवश्यक एकजना मेडिकल अफिसरलगायत विशेषज्ञ डाक्टरको अभाव छ।

कोरोना महामारीमा कोभिड अस्पतालका लागि प्रदेश तथा संघीय सरकारको सहयोगमा सय बेडको अस्थायी कोरोना अस्पताल सञ्चालन गरिएको थियो। तर महामारीको प्रभाव कम भएसँगै आईसियु र भेन्टिलेटर उपकरण अस्पतालको गोदाममा थन्किएका छन्। जिल्लामा सरकारी अस्पतालको स्वास्थ्य सेवाको अवस्था र संरचनामा केही सुधार देखिए पनि सघन उपचार सेवाको अवस्था भने उस्तै नाजुक छ।

महामारीको समयमा सञ्चालित आईसियु र भेन्टिलेटर सेवा पछिल्लो समय प्राविधिक जनशक्ति अभावमा थन्किएका हुन्। सरुवा रोग अस्पतालमा ८ थान आईसियु उपकरण र केही थान भेन्टिलेटर उपकरण प्रयोगविहीन अवस्थामा छन्। महामारीको समयमा चलेको आईसियु र भेन्टिलेटर सेवा प्राविधिक जनशक्ति र बिरामी नहुुँदा चलाउन नसकिएको अस्पतालका हेमराज बमले बताए। उनले भने, ‘अस्पतालमा आईसियु र भेन्टिलेटर सेवा छैन। तर महामारीका समयमा अस्पतालले खरिद गरेका उपकरण भने गोदाममै छन्।’

कोरोना महामारीका समयमा सरकारले उक्त उपकरण कोभिड अस्पताललाई सहयोग गरेको थियो। ती उपकरण प्रयोगविहीन हुँदा कालिकोटवासीले सघन स्वास्थ्योपचार सेवा अभाव झेल्नुुपरेको छ। कतिपयले आईसियुु तथा भेन्टिलेटर अभावमा ज्यानसमेत गुुमाउनुु परिरहेको छ। ‘उपकरण त छन् तर संरचना छैनन्। संरचना बनाउन सकिन्थ्यो तर उपकरण चलाउने प्राविधिक जनशक्ति छैन।’ उपकरण व्यवस्थापनसँगै सरकारले उक्त उपकरणको सञ्चालन तथा व्यवस्थापनका लागि संरचना र जनशक्ति बन्दोबस्त गर्न सके कालिकोटवासी सघन उपचार सेवाका लागि जिल्ला बाहिर जानुुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ।

कर्णाली प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो कार्यकाल सकिन लाग्दा अस्थायी कोभिड अस्पताललाई सरुवा रोग अस्पताल स्थापना गरी हतारहतारमा चुनावी नारा बनाउन विनाजनशक्ति सरुवा रोग अस्पतालको उद्घाटन गरेका थिए। तामझामका साथ उद्घाटन गरिएको अस्पतालमा न बिराम न त जनशक्ति रहेका छन्।

प्रकाशित: २७ जेष्ठ २०८० ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App