२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भक्तपुर औलोमुक्त घोषित

मानिसको ज्यानै लिन सक्ने औलो रोगमुक्त जिल्ला हुन भक्तपुर सफल भएको छ। जनस्वास्थ्य कार्यालय भक्तपुरले भक्तपुर जिल्ला औलोमुक्त जिल्ला हुन सफल भएको जनाएको हो।

कार्यालयका निरीक्षक (अधिकृत) दीपक अछामीले भक्तपुरका चारवटै नगरपालिका औलोमुक्त भएको बताए। विश्व औलो दिवस, २०८० का अवसरमा कार्यालयले मंगलबार आयोजना गरेको कार्यक्रममा अछामीले भने, ‘भक्तपुरमा परीक्षणका क्रममा औलोका रोगी नभेटिएकाले यो जिल्ला औलो रोगमुक्त भएको हो।’

कार्यालयका प्रमुख कृष्ण मिजारले औलोमुक्त जिल्ला भए पनि सतर्कता अपनाउन भने नछाडेको बताए। रोग भनेको कुन बेला आउँछ भन्नै नसकिने हुन्छ,’उनले भने, ‘जस्तो कि पछिल्लो सयम कोरोना यसरी भयावह रूपमा आउँछ भनेर कसलाई थाहा थियो र ? त्यसैले सवाधानी भने अपनाउनुपर्ने उनले बताए। यसका लागि समय समयमा झुल वितरण, सचेतना जगाउनेलगायतका कार्यक्रम चलाइने प्रमुख मिजार बताउँछन्।  

औलो लामखुटेका कारण लाग्ने रोग हो। विशेषगरी पोथी लामखुटेको टोकाइका कारण यो रोग लाग्छ। यसकारण यो रोगबाट बच्न लामखुटेको टोकाइबाट जोगिनु पर्छ। गर्मीमा बढी लामखुटे हुने भएकाले टोकाइबाट जोगिन विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ।  

कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार मुलुकका ६७ जिल्ला औलो रोगको जोखिममा छन्। तीमध्ये इलाम, झापा, मोरङ, धनुषा, महोत्तरी, सिन्धुली, बाँके, बर्दिया, चितवन, सर्लाही, नवलपरासी, कैलाली र कञ्चनपुर उच्च जोखिममा छन्। भक्तपुरसहित सोलुखुम्बु, ललितपुर, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, कालीकोट, मुगु र सिन्धुपाल्चोक औलोमुक्त जिल्लामा परेका छन्।  

नेपाल सरकारले सन् २०२५ सम्म मुलुकलाई औलोमुक्त बनाउने घोषणा गरेको छ। तर यो सम्भव नभएको कार्यक्रममा बताइयो। भारतसँगको खुला सिमानाका कारण यो सम्भव हुन नसक्ने भएको कार्यक्रममा बताइयो। भारतले सन् २०३० सम्म औलोमुक्त मुलुक बन्ने घोषणा गरेको छ।

 

प्रकाशित: १३ वैशाख २०८० ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App