१३ आश्विन २०८० शनिबार
स्वास्थ्य

ऊ पागल होइन, साइकोटिक हाे

बोलीचालीको भाषामा साइकोसिसलाई पागलपन तथा साइकोसिसका बिरामीलाई पागल तथा बौलाहा भन्ने गरिन्छ। वास्तवमा साइकोसिस भन्नाले कडा खालका विभिन्न मानसिक समस्याहरूको समूह बुझिन्छ। पहिला मानसिक समस्यालाई न्युरोसिस (कम कडा खालका मानसिक समस्या) तथा साइकोसिस (कडा खालका मानसिक समस्या) गरी दुई भागमा वर्गीकरण गरिएको थियो। तर, हाल चिकित्सा शास्त्रमा न्युरोसिस र साइकोसिसका विभिन्न प्रकार छुट्याइएको भए तापनि सर्वसाधरण पाठकका लागि सजिलो होस् भन्ने हेतुले यहाँ साइकोसिस शब्द प्रयोग गरिएको हो। तर कडा खालको मानसिक समस्यालाई पागलपन भन्नु तथा यस समस्याका बिरामीलाई पागल तथा बौलाहा शब्दले सम्बोधन गर्नु कदापि ठिक होइन। वास्तवमा पागलपन होइन साइकोसिस।साइकोसिसका अनेक लक्षण हुन सक्छन्। सामान्यतया साइकोसिसबाट पीडित व्यक्तिहरूले सामाजिक परिप्रेक्षमा अमिल्दो व्यवहार गर्ने, कुराकानीमा पनि गडबडी भेटिने र आफ्नो दिमागी सन्तुलन ठम्याउन नसक्ने हुन्छन्। यस समूहअन्तर्गत विभिन्न खालका कडा मानसिक समस्या पर्छन्। त्यसैले यस्ता समस्याको लक्षणअनुसार उपचार पनि फरक फरक हुन सक्छ।

डिप्रेसिभ साइकोसिस  

डिप्रेसन बढ्दै गएर पनि साइकोसिस हुन सक्छ। यसलाई डिप्रेसिभ साइकोसिस भनिन्छ। डिप्रेसनको चरम सीमामा उदासीका लक्षणसँगसँगै साइकोसिसका लक्षण पनि भेटिन सक्छन्। आफ्ना स्वजनहरू मरिसके या आफ्नो शरीरका अंगहरू कुहिएर झरिसके आदि जस्ता कुराकानी यस्ता व्यक्तिले गर्न सक्छन्। उचित उपचार नगरेको खण्डमा यो अवस्था कति लम्बिन्छ भन्न सकिन्न। संक्रमण र आत्महत्याको सम्भावना यस प्रकारको साइकोसिसमा बढी हुने हुनाले यस मानसिक समस्यामा उचित औषधोपचार आवश्यक छ। यस समस्याको उपचारमा औषधीका साथ साइकोथेरापी तथा पारिवारिक र सामाजिक सहयोग महत्वपूर्ण हुन्छ।

सिजोफ्रेनिया  

सिजोफ्रेनिया गम्भीर र जटिल मानसिक समस्या हो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसंख्याको लगभग १५ प्रतिशत व्यक्ति विभिन्न मानसिक समस्याबाट पीडित भएकोमा १ प्रतिशत सिजोफ्रेनियाजस्तो गम्भीर मानसिक स्वास्थ्यबाट पीडित छन्। यो विशेषगरी मानिसको सोच्ने प्रक्रियामा आउने गम्भीर समस्या हो।  

जसले मानिसको जीवनमा विभिन्न भ्रमको सिर्जना गर्छ। वास्तविकतामा हुँदै नभएको कुरामा विश्वास गर्नु, अरूले नसुनेका र हुँदै नभएका आवाज सुन्नुजस्ता लक्षण यसमा देखा पर्छ। अस्वाभाविक व्यवहार, डर, चिन्ता, शंकास्पद गतिविधि, मूर्तिझैं उभिइरहने, अकारण अस्थिरता पनि यसको लक्षण हो। अरूले नसुन्ने ध्वनि, दृश्य, गन्ध आदि महसुस गर्ने, कुनै धर्म, दर्शन वा विचार विशेषमा अत्यधिक अडान लिने, पूर्वाग्रही विचार बनाउने जस्ता लक्षण पनि सिजोफ्रेनियाका रोगीमा देख्न सकिन्छ। यी लक्षण कमसेकम एक महिनासम्म रहिरहेमा सिजोफ्रेनिया भनिन्छ। साधारणतया यो समस्याको सुरुवात १५ देखि ३० वर्षको उमेर समूहमा बढी हुने गर्छ।  

मेनिया (उन्माद)

मेनिकडिप्रेसन भावनात्मक स्थितिमा गडबडी उत्पन्न भएर हुने मानसिक समस्या हो। यसबाट पनि झन्डै १ प्रतिशत जनसंख्या जिन्दगीभरिमा पीडित हुन्छन्। यस समस्याका लक्षणहरू भिन्न समयमा फरक फरक हुन सक्छन्। कहिले यसमा महिनौंसम्म डिप्रेसनका लक्षणहरू उपस्थित हुन्छन् त कहिले डिप्रेसनको ठिक उल्टो अर्थात् बढी बोलेको बोल्यै गर्ने, धाक धक्कु लगाउने, अनावश्यक रूपमा बढी आत्मबल हुने, भनेको कुरा नपुगेमा क्रोधित हुने, चञ्चलता बढी हुने, थोरै सुते पनि ताजगी महसुस हुनेजस्ता लक्षणहरूको उपस्थितिमा उक्त व्यक्तिलाई मेनिया भन्ने मानसिक समस्या भएको भनिने र समग्र रूपमा उक्त व्यक्ति बाइपोलर डिसअर्डर नामक मानसिक समस्याबाट ग्रसित भएको भन्ने गरिन्छ। उचित औषधी उपचारले यस्ता लक्षण नियन्त्रण गरी व्यक्ति पूर्वको अवस्थामा आउन सक्छन्। तर यस समस्याका लक्षणहरू हटे पनि औषधी टुटाउँदा रोग बल्झिने सम्भावना रहिरहन्छ।

साइकोसिस र हिंसा

साइकोसिसबाट ग्रसित व्यक्तिहरू हिंस्रक हुन्छन् भन्ने भनाइ भए पनि यो पूर्णरूपमा सही होइन। साइकोसिसबाट ग्रस्तमध्ये धेरैजसो हिंस्रक हँुदैनन्। हिंस्रक हुनेहरूमध्ये पनि धेरैजसो अरूले जिस्क्याएको अवस्थामा मात्र उनीहरूलाई हानी पुर्याउन आएको भन्ने सोचेर यस्तो व्यवहार गर्न पुग्छन्। एउटा सानो समूहचाहिँ वैचारिक गडबडीका कारणले बिनाकारण एक्कासि हिंस्रक हुन पुग्छ। साइकोसिसबाट ग्रसित व्यक्तिलाई एउटा सामान्य मान्छेजस्तै व्यवहार गरेमा समग्रमा भन्दा एउटा मानसिक तवरले स्वस्थ व्यक्तिले भन्दा बढी हिंस्रक व्यवहार गर्दैन भन्दा पनि हुन्छ।

उपचार

साइकोसिसबाट ग्रसित व्यक्तिहरूलाई बाँधेर राख्ने चलन परापूर्व कालदेखिको हो। यसो गर्दा कतिपय व्यक्ति केही समयपछि आफै ठिक भएर आउँथे भने कतिलाई लामो समयसम्म या जीवनभर त्यसरी नै राखिन्थ्यो। कतिचाहिँ बाँधेको अवस्थामा विभिन्न संक्रामक रोगको सिकार भएर या भोकाएर मर्थे। कतिपय ठाउँमा झारफुक, धामीझाँक्री तथा जडिबुटीको प्रयोगले उपचार गरिन्थ्यो तर अधिकांश यस्ता व्यक्तिको हालत एकदमै दयनीय हुन्थ्यो। तर समयसँगै अनेक थरीका औषधीहरू उत्पादन गर्न थालियो। झन्डै आधा शताब्दी अगाडिदेखि यस प्रकारका मानसिक समस्याको उपचारका लागि आधुनिक प्रभावशाली औषधीहरूको प्रयोग गर्न थालियो। यस्ता औषधी साइकोसिसबाट पीडित व्यक्तिका लागि निकै उपयोगी साबित भएका छन्। त्यसैले समस्याको ठिक पहिचान गरी उचित साइकोटिक औषधीको प्रयोग गर्ने हो भने प्रायः व्यक्तिहरूको लक्षण बिलकुल नै हराएर जान्छन्। झन्डै ९० प्रतिशत यस्ता बिरामीहरूले औषधीको प्रयोगले लाभ हासिल गर्छन् भने १० प्रतिशतमा भने उपचारले खास असर ल्याउँदैन।

साइकोसिस दोहोरिन सक्छ

छोटो समयका लागि मात्र हुने साइकोसिस दोहोरिने दर न्यून छ। तर, लामो अवधिसम्म (छ महिनाभन्दा बढी) भएका साइकोसिसहरूचाहिँ औषधी छाडेमा बल्झने सम्भावना हुन्छ। एकपटक साइकोसिस भएर ठिक भएको व्यक्तिको समस्या बल्झिने सम्भावना केही हदसम्म भए तापनि उनीहरू धेरै अवस्थामा आफ्नो जिम्मेवारी बहन गर्दै सामान्य जिन्दगी बिताउन सफल हुन्छन्, भएका पनि छन्। त्यसैले एकपटक साइकोसिसबाट ग्रस्त भएपछि ठिक हुँदैन भन्ने धारणा बिलकुल गलत हो, तर बल्झिँदैन भन्ने अवस्था चाहिँ हुँदैन। औषधीका साथसाथै साइकोथेरापी, न्यानो पारिवारिक वातावरण, उपयुक्त व्यक्तिगत स्वतन्त्रता तथा आपसी विश्वासले समस्या बल्झाउने सम्भावनालाई कम गर्छन् भन्ने थुप्रै अनुसन्धानहरूले देखाएका छन्।

पुछारमा

नेपाली समाजमा साइकोसिसका बिरामीहरूलाई अहिले पनि दूरदूर दृष्टिले हेर्ने गरिन्छ। बौलाहा, पागल भन्ने गरिन्छ। अशिक्षित मानिसहरूले मात्र होइन कि सहरबजारका कतिपय शिक्षित मानिसहरूले समेत भूतप्रेत, पूर्वजन्मको पाप, गण्डा–ताविज, टुनामुना, डायनीबोक्सी तथा ग्रहहरूको नकारात्मक प्रभावलाई यस रोगको कारक मान्ने गर्छन्। देवीदेवताको अभिशाप ठान्ने गर्छन्। त्यसैले अहिले पनि यहाँका अधिकांश मानिसहरूले धामीझाँक्री, तन्त्रमन्त्र तथा धर्मका आधारमा यस समस्याको उपचार गर्ने प्रयत्न गर्छन्। नेपालमा साइकोसिसका बिरामी कति छन् भने आँकलन गर्न अझै सकिएको छैन। उपचारको अभाव र मानसिक समस्याका बारेमा व्याप्त भ्रमका कारण उपचार अभावमै यसका बिरामी अझै पनि घरमा साङ्लोले बाँधिन र थुनिन विवश छन्। कतिपय सडकमा नाङ्गै भौंतारिएका छन्, पोकापोकी बोकेर कराउँदै हिँडिरहेका छन्। तर सरकार र सम्बन्धित निकायको यसतर्फ ध्यान गएको छैन। यो निकै चिन्ताको विषय हो। त्यसैले स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारको यसतर्फ ध्यान जाओस्। पागलपन, पागल वा बौलाहा शब्द नै नेपाली मनमस्तिष्क तथा शब्दकोशबाट हटोस्। साइकोसिसबाट पीडित व्यक्ति पागल होइन, डाइबेटिजबाट पीडित व्यक्ति डाइबेटिक भएजस्तै ऊ साइकोटिक हो।  

(लेखक साइकोथेरापिस्ट हुन्।)

प्रकाशित: ९ वैशाख २०८० ०६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App