१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

चितवनमा ५ महिनापछि देखिन थाले कोभिडका बिरामी

चितवनमा कोरोना भाइरस संक्रमणका बिरामी फेरि देखिन थालेका छन्। कोरोना संक्रमण मुक्त भएको ५ महिनापछि संक्रमित देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।

‘गत कात्तिक महिनादेखि जिल्लामा कोरोना संक्रमणका बिरामी शून्यमा झरेको थियो,’ स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले भनिन्, ‘चैत्र २० गतेदेखि दैनिक बिरामी भेटिन थालेका छन्।’ अन्तिम पटक कात्तिक १७ गते चितवन कोरोना संक्रमण मुक्त भएको थियो।  जिल्लामा हाल ११ जना संक्रिय संक्रमित रहेका छन्। संक्रिय संक्रमित मध्ये ९ जना भरतपुर महानगरपालिका भित्रका छन्।

रत्ननगर नगरपालिका र कालिका नगरपालिका समान एक÷एक जनामा संक्रमण देखिएको छ। तर, उनीहरुको अवस्था सामान्य रहेको ढकालले जानकारी दिइन्। उनीहरु होम आईसोलेसनमा रहेका छन्।

जिल्लामा हालसम्म संक्रमितको संख्या ३४ हजार ५० पुगेको छ। जसमध्ये ३३ हजार ५८९ जना निको भैसकेका छन्। ४५० जनाको ज्यान गएको स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ।

फेरी कोरोना संक्रमण देखिन थालेपछि उपचारका लागि आवश्यक तयारी भैरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए। ‘हामीले अस्पताल, पालिकाहरुसंग समन्वय गरिरहेका छौँ,’ उनले भने, ‘सबैपालिकामा खोप सहित सचेतना मुलक कार्यक्रम भइरहेका छन्।’ अहिले जिल्लामा चौथो पटक बुस्टर डोज खोप लगाउन लागिएको उनले बताए। स्वास्थ्यकर्मी, ५५ बर्षमाथि र १२ बर्षभन्दा माथिका दिर्घ रोगिलाई खोप लगाउन थालिएको हो। तेस्रो डोज लगाउन दोस्रो डोज लगाएको ३ महिना पुग्नुपर्छ। चौथो डोज लगाउन तेस्रो डोज लगाएको ६ महिना पुग्नुपर्ने उनले बताए।

जिल्लामा ४० हजार डोज खोल लगाउन थालिएको समेत उनले जानकारी दिए। प्रत्येक विहिबार स्वास्थ्य कार्यालय चितवनबाट खोप लगाउने गरिन्छ। चितवनमा लक्ष्यभन्दा बढीले खोप लगाएका छन्। हालसम्म जिल्लामा ६ लाख ५३ हजार ७६६ जनाले पहिलो मात्रा लगाएका छन्। त्यस्तै ६ लाख ४१ हजार ३०५ जनाले दोस्रो मात्रा र २ लाख ४६ हजार ३६३ जनाले थप मात्रा तेस्रो मात्रा (बुस्टर डोज) लगाएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांङ्ककमा उल्लेख छ।  

चितवनमा कोरोना संक्रमणको अवस्था

२०७६ चैत ३ गते बेलायतबाट आएका आमाछोरामा संक्रमण देखिएको थियो। ६३ वर्षकी आमा र २७ वर्षका छोरा थिए। सो महिनामा २ जना मात्र संक्रमण देखियो। चैत ११ गतेबाट लकडाउन सुरू गरेपछि वैशाख महिनामा एक जनामा पनि संक्रमण देखिएको थिएन। तर, उनीहरू कोरोना मुक्त भएका थिएनन्।

कोरोना संक्रमण बिस्तारै बढ्दै जेठ महिनामा ३४ जनामा पुष्टि भयो। सोही महिना १ जनाको मृत्यु समेत भएको थियो। कोरोना थपिँदै असार महिनामा ७४ जनामा देखियो। साउनमा १०५ जनामा संक्रमण देखियो। ह्वात्तै बढ्दै भदौ महिनामा १ हजार १४६ जनामा पुग्यो। सोही महिना १६ जनाको समेत मृत्यु भयो। पहिलो लहर आउँदा कात्तिक महिनामा सबैभन्दा बढी संक्रमित भेटिए। सो महिनामा २ हजार १५८ जनामा संक्रमित देखिए। सोही महिना ४४ जनाले समेत ज्यान गुमाए। त्यसपछि क्रमशः घट्दै २०७७ फागुन महिनामा आउँदा ९६ जनामा झ¥यो।

९६ जनामा झरेको संक्रमण दर फेरि डेल्डा भाइरस संक्रमण सुरूभएपछि ह्वात्तै बढ्यो २०७७ को चैत महिनामा मात्रै ४ हजार १७७ जनामा संक्रमण देखिएको थियो। त्यसपछि २ महिना क्रमशः घट्दै गयो। २०७८ सालको वैशाखमा ३ हजार ८८१ र जेठ महिनामा ३ हजार ४२ जनामा देखियो। फेरि असार महिनामा डेल्टा चरम रुपमा फैलियो। संक्रमण देखिएको १५ महिना अवधिको सबैभन्दा बढी असारमा ५ हजार २६५ जनामा देखियो। साउनमा ह्वात्तै घटेर २ हजार १११ जनामा झ¥यो। त्यसपछि क्रमशः घट्दै मंसिरमा आउँदा २८४ जनामा झरेको थियो। चितवनमा सबैभन्दा बढी डेल्टा भाइरस खतरनाक रुपमा भैलिएको थियो। डेल्डा फैलिएको समय अर्थात दोस्रो चरणमा ३२० जनाको ज्यान गएको छ।

बिस्तारै संक्रमणदर घट्दै गएको समयमा तेस्रो लहरका रूपमा ओमिक्रोन भाइरस भित्रियो। जिल्लामा ओमिक्रोनको यथेष्ट पुष्टि नभए पनि अघिल्लो बर्षको पुसबाट फैलिएको अनुमान छ। माघमा २ सयमा झरेको संक्रमणदर पुसमा ७ सय पुग्यो । एक्कासी बढ्दै माघ महिनामा हालसम्मकै उच्च बिन्दुमा पुग्यो। सो महिनामा ५ हजार ५५४ जनामा संक्रमण पुष्टि भएको थियो। फेरि ह्वात्तै घट्दै फागुन महिनामै १ सय ५० जनामा झ¥यो। त्यसपछि फागुन २७ गतेदेखि शून्यमा झरेको थियो।

त्यसयता शुन्यमा झरेको कोरोना एक्कासी असार २२ गते ५ जनामा देखियो। त्यसपछि साउन महिनामा ह्वात्तै बढेर २ सय ७२ जनामा संक्रमण देखिएको थियो। भदौ महिनामा १ सय ३६ जनामा देखिँदा असोज महिनामा हवात्तै घटेर ५ जनालाई मात्र देखिएको थियो। चितवन कात्तिक १७ गते फेरी कोरोना संक्तमण मुक्त बनेको बन्यो। तर, त्यसपछि हाल चैत्र २० गते कोरोना संक्रमणका बिरामी जिल्लामा भेटिएका छन्। अहिले ११ जना संक्रमित छन्।  

प्रकाशित: ३० चैत्र २०७९ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App