३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

साकेलामा ‘आधारभूत अस्पताल’ सञ्चालन

आधारभूत अस्पतालको उद्घाटन गर्दै समन्वय प्रमुख सनबहादुर (दायाँ) र गाउँपालिका अध्यक्ष रबिप्रकाश । तस्बिरः महेश्वर

खोटाङको साकेला गाउँपालिकाले ‘साकेला आधारभूत अस्पताल’ सञ्चालनमा ल्याएको छ। गाउँपालिकाबासीलाई घर पायकबाटै न्यूनतम स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले ५ शैय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो।

केही दिन अघि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र गाउँपालिका अध्यक्ष रविप्रकाश राईले संयुक्तरुपमा उद्घाटन गरेर औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो। विगत २ वर्षअघि फैलिएको विश्व महामारी कोभिड कहरका बेला ‘कोभिड अस्पताल’को रुपमा सञ्चालित अस्पताललाई नै आधारभूत अस्पतालमा परिणत गरिएको हो। नेपाल सरकारको ‘हरेक स्थानीयतहमा ५ शैय्याको अस्पताल खोल्ने’ नीति अनुरुप स्तरोन्नति गरी आधारभूत अस्पतालमा परिणत गरिएको गाउापालिका अध्यक्ष रबिप्रकाश राईले बताए।

अस्पताल उद्घाटनको क्रममा बोल्दै जिल्ला समन्वय प्रमुख सनबहादुर राईले साविक रतन्छाको स्वास्थ्य चौकीलाई स्तरोन्नतिसहित ५ शैय्याको आधारभूत अस्पताल बनाउनुले साकेलाबासीको स्वास्थ्य सेवामा पहुँच वृद्धि भएको बताए। गाउँमा अस्पताल खुल्ने  खाली गाउँपालिकाबासीको मा खुसीको विषय नभएर समग्र संघीयता र गणतान्त्रिक व्यवस्थाको सफलता भएको प्रमु्ख राईले बताए। स्थानीयतह पुनर्संरचनापछि गाउँगाउँमा सिंहदरवारको सुविधा प्राप्त हु्ने क्रम अनुसार गाउँमा आधारभूत अस्पताल सञ्चालन भएको भन्दै राईले अस्पतालले सक्दो सेवा सुविधा गाउँलेलाई प्राप्त हुने विश्वास गरे।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले साकेलाबासीलाई सहज स्वास्थ्य सेवामा पहुँच पुर्याउन आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको बताए। अध्यक्ष राईले हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा सहज रुपमा पाउनु्पर्ने संवैधानिक अधिकार रहेको भन्दै सकेसम्म घरघरमा स्वास्थ्य सेवा प्रदान गर्ने गाउँपालिकाको उदेश्य रहेको बताए। गाउँपालिका द्रुतगतिमा समृद्धिको यात्रामा अघि बढिरहेको भन्दै अध्यक्ष राईले सकेसम्म नागरिकले प्राप्त गर्ने न्यूनतम स्वास्थ्य सेवालाई घरघरसम्म पुर्याउने प्रतिबद्धता जनाए। अध्यक्ष राईले सुरुमा ५ शैय्याको अस्पताल भए पनि छिट्टै १५ शैय्यामा स्तरोन्नति गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

त्यसैगरी स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले साकेलामा स्थापित अस्पतालले गाउँपालिकाबासीलाई आफ्नै घरगाउँबाट उपचार सेवा पाउने अवसर मिलेको भन्दै त्यसको भरपुर उपयोग गर्न सुझाए। सिग्देलले अस्पताललाई चाहिने आवश्यक यन्त्र उपकरणहरु अक्सिजन कन्सन्टेटर, बिरामी शैय्या (बेड), औषधीलगायत सामग्री स्वास्थ्य कार्यालयबाट हुनसक्नेसम्मको सहयोग गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा वडाध्यक्षहरु १ नं. का हेमन राई, २ का जितेन्द्र राई, जनस्वास्थ्य अधिकृत जीवन चौलागाई, नेपाली काँग्रेसका सिजन राई, जसपाका युवराज राई, आधारभूत अस्पतालका डा. किसन घिमिरे, साकेला माविका प्रधानाध्यापक शिवेन्द्र राईलगायतले गाउँमै  आधारभूत अस्पताल सञ्चालनमा ल्याएकोमा गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिलाई धन्यवाद दिएका थिए।

अस्पतालमा नागरिकले पाउनुपर्ने न्यूनतम स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि एमबिबिएस डाक्टरको नेतृत्वमा प्रसुति सेवा, निशूल्क प्राप्त हुने ७२ किसिमका औषधि, जेनेरल फिजिसिएनले दिने उपचारसेवालगायत आधारभूत उपचार दिने गरी स्वीकृत दरबन्दीका स्वास्थ्यकर्मीले सेवा दिनते अस्पताल प्रमुख डा. घिमिरेले बताए।  

प्रकाशित: २७ चैत्र २०७९ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App