८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पहाडका महिलामा बच्चादानी समस्या

दूरदराजका अधिकतर महिलामा बच्चादानी (पाठेघर) समस्याको उपचार गराउन उदयपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। जिल्लाकै सबभन्दा अग्लो र विकट भूभागमा पर्ने रौतामाई गाउँपालिका– १ माझखर्कमा शनिबार ‘निःशुल्क स्वास्थ्य शिविर’ आयोजना गरिएको हो।

रौतामाई गाउँपालिका– १ कार्यालय, जिल्ला अस्पताल, मदन भण्डारी आँखा अस्पताल गाईघाट र मानव अधिकार तथा वातावरण केन्द्र (हुरेन्डेक) को साझेदार संस्था वल्र्ड नेवर्सको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो। शिविरमा स्वास्थ्य परीक्षण गर्ने ४ सय २ जनामध्ये ८० प्रतिशत महिला र ज्येष्ठ नागरिकमा बच्चादानी खस्ने समस्या बढ्दो पाइएको डा. राहुल रौनियारले बताए। शिविरमा आएका उदयपुर अस्पतालका फिजिसियन विशेषज्ञ डा. रौनियारका अनुसार शिविरमा जँचाएका १ सय १० जना महिलाको बच्चादानीमा समस्या पाइएको छ। त्यसमध्ये ३ महिलामा जटिल प्रकृतिको समस्या देखिएकाले तत्काल शल्यक्रिया गर्न उनले सुझाएका छन्। अन्य महिलाको पनि बढीजसो बच्चादानीमा रिङप्रेसरी राख्नुपर्ने, बच्चादानीको मुखमा पलाएको मासु तत्काल निकाल्नुपर्ने तथा सफा गर्नुपर्ने अवस्थामा रहेको स्त्रीरोग विशेषज्ञ डा. रितेशराज कर्णले बताए। उनका अनुसार महिलाको बच्चादानीमा रिङप्रेसरी लगाउनुपर्ने अवस्थामा पुगेका पनि थुप्रै छन्।

बच्चादानी र आँखाका बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा अन्य रोगका बिरामीको पनि स्वास्थ्य परीक्षण गरिएको छ’जसमा ज्येष्ठ नागरिकमा हाडजोर्नी, ग्यास्टिक, दाग, पेट, टाउको, ढाड दुख्ने तथा अन्य उमेर समूह र बालबालिकामा लुतो, घाउ खटिरालगायतका समस्या देखिएको छ। डा. रौनियारका अनुसार शिविरमा फिजिसियनतर्फ १ सय २९ जनाले सेवा लिएका छन्। बच्चादानी र आँखा रोगबाहेक शिविरमा फिजिसियन, इसिजी, युएसजी, आईयुसिडी, इम्प्लान्ट, कोलिपलगायतको सेवा प्रवाह गरिएको छ।

बच्चादानी खसेका महिलाको निःशुल्क शल्यक्रियाका लागि वल्र्ड नेवर्सको सहयोगमा हुरेन्डेकद्वारा सञ्चालित ‘नेपाल एकीकृत ग्रामीण विकास परियोजना’ मार्फत सहयोग उपलब्ध गराइने हुरेन्डेकी कार्यक्रम संयोजक बिनु सुवेदीले बताइन्। उनका अनुसार महिलाको मुख्य समस्या रहेको बच्चादानीको समयमै उपचार गर्न नसके क्यान्सरजस्तो प्राणघातक रोग लागेर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने जोखिम रहेकाले शिविर सञ्चालन गरिएको हो।

शिविरमा आँखा रोगतर्फ ९९ महिला र ५० पुरुष गरी १ सय ४९ लाभान्वित भएका छन्; जसमध्ये ३७ जनामा मोतियाविन्दु देखा परेको छ भने ६० जनाको आँखा कमजोर रहेकाले चस्मा लगाउन सुझाएको मदन भण्डारी आँखा अस्पतालका कोषाध्यक्ष कुमार घिमिरेले बताए। उनका अनुसार मोतियाविन्दुको शल्यक्रिया मदन भण्डारी आँखा अस्पताल गाईघाटकै समन्वयमा हुने व्यवस्था मिलाइएको छ। आँखा कमजोर भएकालाई वडाध्यक्ष रुद्र कार्कीले व्यक्तिगत निःशुल्क चस्मा उपलब्ध गराएका छन्।

प्रकाशित: ७ चैत्र २०७९ ०५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App