२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

उदयपुर जिल्ला अस्पताले थप विशेषज्ञ उपचार सेवा सुचारु गर्ने

गाईघाटस्थित सरकारी अस्पतालले हालको भन्दा थप विशेषज्ञ उपचार सेवा सुरु गर्ने तयारी गरेका छ।

बिरामीहरूको बढ्दो चापलाई मध्यनजर गर्दै जिल्लामै सहज र कम खर्चमा उपचार दिलाउन अस्पतालले आउँदो चैतदेखि प्रत्येक शनिबार थप नयाँ सेवा सुरु गर्न लागेको हो।

जस अनुसार आउँदो चैतको पहिलो शनिबारदेखि नाक–कान–घाँटी (इएनटी), छाला सौन्दर्य तथा यौन रोग (डर्माटोलोजी) र मानसिक (साईकियाट्रिक) रोगको उपचार जिल्ला अस्पतालबाटै गर्न थाल्ने अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. ज्ञानेन्द्र झाले बताए। उनका अनुसार अहिलेसम्म अन्य रोगको उपचार भए पनि यी तीन प्रकारका रोगको उपचार सेवा नहुँदा बिरामीहरू विराटनगर, धरान, चितवन तथा काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ।

यी तीन वटै उपचार सेवा विशेषज्ञ (कन्सल्टेन्ट) डा. द्वारा दिने व्यवस्था मिलाइएको पनि उनले बताए। जसका लागि नाक–कान–घाँटी विशेषज्ञ डा. रोनक दाहाल, छाला सौन्दर्य तथा यौन रोग विशेषज्ञ डा. अनिल तिम्सिना र मानसिक रोग विशेषज्ञ डा. राजन मिश्रलाई अनुबन्ध गरिएको छ। उनीहरू हरेक फरक फरक शनिबार जिल्ला अस्पताल आएर उपचार सेवा दिने झाले बताए।

महिनाको पहिलो र तेस्रो शनिबार मानसिक रोग विशेषज्ञ डा. मिश्रले सेवा दिनेछन् भने दोस्रो र चौथो शनिबार इएनटीमा डा. दाहाल र डर्माटोलोजीमा डा. तिम्सिनाको सेवा पाइनेछ। डा. दाहाल र तिम्सिना विराटनगरस्थित कोशी प्रादेशिक अस्पताल र बिराट नर्सिङमा कार्यरत चिकित्सकहरू हुन् भने डा. मिश्र भारतको चर्चित चिकित्सक संस्थान (मेडिकल कलेज) एम्स अस्पतालमा सेवारत अनुभवी हुन्।

सर्व-साधारण बिरामीलाई जटिलखाले रोगको उपचार कम खर्चमा आफ्नै ठाउँमा उपचार गराउने उद्देश्यले यो सेवा बिस्तार गर्न लागेको अस्पतालका प्रशासन अधिकृत योगेश्वर खनालले बताए। उनका अनुसार यसका लागि सरकारी बजेट नभएकाले बिरामीसँग न्यूनतम शुल्क लिएर सेवा दिन लागिएको उनको भनाई छ। जसका लागि स्वास्थ्य परीक्षण (जाँच) गर्न प्रतिव्यक्ति ४ सय रुपैयाँ लिने अस्पताल व्यवस्थापन समितिले निर्णय गरेको छ। जाँचपछि एक्स-रे, शल्यक्रिया (अप्रेसन) अक्सिजनलगायत थप उपचारका लागि भने अस्पतालको सरकारी दररेट अनुसार शुल्क लिइने निर्णय व्यवस्थापन समितिको निर्णय छ।

‘दरबन्दीबाहेकका डा. हरू भएकाले अस्पतालले आफ्नो खर्चमा उनीहरूलाई काम लगाउन शुल्क तिर्नु। त्यसैका लागि बिरामीसँग न्यूनतम शुल्क लिन लागिएको हो’ अधिकृत खनालले भने ‘अहिले सरकारी बजेट नभएकाले लिने निर्णय भएको हो, बजेट आउन थालेपछि नि:शुल्क उपचार हुन थाल्छ।’

खनालले यी रोगको उपचार गर्न धरान, विराटनगर, चितवन तथा काठमाडौं जानुपर्‍यो भने बस र एम्बुलेन्स भाडा, खाने बस्ने तथा जाँच शुल्कमै धेरै खर्च हुने बताए। उनका अनुसार विराटनगरमा पनि जाँच शुल्क मात्र प्रतिव्यक्ति ८ सय रुपैयाँ लाग्ने गरेको छ। यहाँ आधा अर्थात् ४ सयमै जाँच्ने व्यवस्था हुँदा गाडी भाडा र खाने बस्ने खर्च बच्नुका साथै अन्य झन्झट बेहोर्नुपर्दैन।

यी रोगको उपचार सुरु हुने भएपछि ५० शैय्याको जिल्ला अस्पतालमा अव मुटु, मिर्गौला, कलेजोलगायत सीमित रोग विशेषज्ञको मात्र खाँचो छ। अहिलेसम्म जटिलखाले सुत्केरी गराउने (सिएस), स्त्रीरोग विशेषज्ञ, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ र दन्त रोग विशेषज्ञद्वारा जिल्लावासीले उपचार पाउँदै आएका छन्। डा. मुकेश झा र डा. रितेश कर्ण स्त्रीरोग, मेसु डा. झा स्वयं हाड जोर्नीका अनुभवप्राप्त विशेषज्ञ तथा हाड जोर्नीकै अर्का कन्सल्टेन्ट डा. सशीरञ्जन प्रधान सेवारत छन्।

दन्त रोगतर्फ डा. सुशीला श्रेष्ठ गिजा तथा डा. नारायण चौधरी दाँतको जरा (आरसिटी) विशेषज्ञ छन्। त्यसबाहेक जेनेरल फिजिसिइएन कन्सल्टेन्टहरू डा. राहुल रौनियार र अन्य आधा दर्जन मेडिकल अधिकृत तथा अनुभवी नर्सिङ चिकित्सकहरू कार्यरत छन्। हालसम्म अस्पतालमा सिटी स्क्यान तथा एमआरआई सेवा पनि अभाव छ। मिर्गौला, मुटु र कलेजो विशेषज्ञ, सिटी स्क्यान र एमआईआई र आइसियु तथा भेन्टिलेटर व्यवस्था गर्न सके महँगो खर्च गरेर धरान, विराटनगर र काठमाडौं धाउनु नपर्ने अवस्था सिर्जना हुने डा. झाले बताए।

उदयपुर अस्पतालमा उदयपुृर बाहेक छिमेकी जिल्लाहरू खोटाङ, सिराहा, सप्तरी र ओखलढुङ्गासम्मका बिरामी उपचार गर्न आउने गरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०७९ १४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App