१९ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

गलत खानपानले पाचन अंगमा क्यान्सर

काठमाडौं- दोलखा मालुकी ५० वर्षीया मसली कार्की (मिजार) भोजन थैलीको क्यान्सर भएपछि यति खेर वीर अस्पतालको अंकोलोजी वार्डमा उपचार गराउँदैछिन् । उनलाई सुरुमा पेट पोल्ने र दुख्ने समस्या देखियो । चार वर्षअघि पेटमा पत्थरी भएको भन्दै धुलिखेल अस्पतालले पित्तथैलीको शल्यक्रिया गर्यो तैपनि उनलाई निको भएन । गत वर्ष फेरि परीक्षण गर्न आउँदा उनलाई भोजन थैलीको क्यान्सर भएको पत्ता लाग्यो ।

मंगलबार उनी वीर अस्पतालमा केमोथेरापी दिइरहेको अवस्थामा भेटिइन् । कामको व्यस्तताले पछिल्लो समय उनी दिनको दुईपटक मात्र खाना खान्थिन् । उनले लामो समयसम्म विभिन्न थरीका मासु पोलेर र सुकुटी बनाएर खाइन् । बुझ्दै जाँदा आफूले ठीक समयमा खाना नखाँदा, पोलेको मासु र सुकुटी धेरै खाँदा यस्तो रोग लागेको उनले पत्तो पाइन् । ‘छोरा–बुहारी सहरतिर थिए, घरमा एक्लै हुँदा खान मन लाग्दैनथ्यो’, उनले भनिन्, ‘अहिले यस्तो भयो ।’  

गलत भोजन शैलीकै कारण ठूलो आन्द्राको क्यान्सर भएको हो भन्ने धादिङ नौबिसेका मंगल लामालाई पनि लागेको छ । उनी राजधानीमा टयाक्सी चलाउँथे, समयमा खाना खाँदैनथे । दिनदिनैजसो सुकुटी, सेकुवा र मदिरा सेवन गर्थे । उनले यस्तो भोजन शैली करिब १५ वर्ष अपनाए । पछि खाना खाएपछि पेट दुख्ने, बान्ता हुने समस्या देखियो ।  उपचार गर्न जाँदा चिकित्सकले क्यान्सर भएको सुनाए । उनी पनि यति खेर वीर अस्पतालकै अंकोलोजी वार्डमा भर्ना भएर केमोथेरापी गराइरहेका छन् ।

मसली र मंगलको मात्र होइन, समयमा खाना नखाँदा र अस्वस्थकर खाना खाँदा धेरैमा पाचन अंगको क्यान्सर देखिएको छ । गलत खानपान शैलीका कारण भोजन थैली, ठूलो आन्द्रा, कलेजो, प्याङक्रियाज, पित्तथैलीजस्ता अंगमा क्यान्सर हुने समस्या बढ्दै गएको चिकित्सक बताउँछन् । भक्तपुर क्यान्सर अस्पतालले पनि पछिल्लो चरणमा पाचन प्रणालीका अंगको क्यान्सर बढिरहेको जनाएको छ ।

चिकित्सकका अनुसार पाचन अंगको क्यान्सर कतिमा छ भन्ने यकिन तथ्यांक भने छैन । तीन वर्षअघि नेपालका मुख्य अस्पताललाई आधार बनाएर संकलन गरिएको तथ्यांकले फोक्सो, पाठेघरको मुख र स्तन क्यान्सरपछि पाचन प्रणालीको क्यान्सरको स्थान रहेको देखाएको छ । क्यान्सर रजिस्टरीमा आधारित सन् २०१३ को राष्ट्रिय रिपोर्टअनुसार देशभर आठ हजार सात सय २९ जनामा क्यान्सर  पाइएको थियो । तीमध्ये १८.५ प्रतिशतमा पाचन प्रणालीको क्यान्सर देखिएको थियो । पाचन प्रणालीका विभिन्न अंगमध्ये पनि सबैभन्दा बढी भोजन थैलीमा क्यान्सर हुने गरेको छ । पाचन अंगमा क्यान्सर भएका एक हजार ६ सय ४१ जनामध्ये पाँच सय २७ जनामा भोजन थैलीको क्यान्सर पाइएको छ ।  यो रिपोर्टमा भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, वीर, त्रिवि शिक्षणलगायत मुख्य १२ अस्पताललाई समावेश गरिएको थियो ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक तथा क्यान्सर सर्जन डा. प्रकाशराज न्यौपाने भन्छन्, ‘पाचन प्रणालीको क्यान्सर बढ्दो देखिन्छ ।’ डा. न्यौपानेका अनुसार विषादी प्रयोग भएको तरकारी सेवनले पनि यस्ता क्यान्सर रोगीको संख्या बढाउन सघाएको छ ।

विश्वका अन्य मुलुकमा पाचन अंगको क्यान्सरमा कमी आएको तर नेपालमा बढ्दो क्रममा रहेको वीर अस्पताल प्याथोलोजी विभागका प्रमुख प्राध्यापक डा. हरीशचन्द्र उपे्रती बताउँछन् । ‘अन्य देशमा धेरै पहिला नै पाचन अंगको  क्यान्सरमा कमी आइसकेको छ’, डा. उपे्रतीले भने, ‘पहिला पाचन अंगको क्यान्सर बढी हुने मुलुक चिली, जापान, चीनमा सुधार आइसकेको छ, हामी कहाँ भने घट्न सकेको छैन ।’

वीर अस्पतालका ग्यास्ट्रोसर्जन डा. सुबोध अधिकारीका अनुसार भोजन थैलीको क्यान्सर हुने मुख्य कारण खानाबाट प्रवेश हुने ‘एचपाइनोरी ’ नामक जीवाणु पनि हो । पुरानो, ढुसी लागेको अचार, महीजस्ता खाने कुरामा यो जीवाणु पाइने उनी बताउँछन् । ‘यी चिज बढी खानेमा यस्तो क्यान्सर बढी देखिएको छ’, उनले भने, ‘अस्पतालमा भोजन थैलीको क्यान्सर भएकाको मासु जाँच गर्दा धेरैमा यो जीवाणु पाइएको थियो ।’ पाचन अंगको क्यान्सर भएका झन्डै ५० प्रतिशतमा यो जीवाणु पाइएको उनले बताए । विपन्न वर्गका मानिसमा यो जीवाणु बढी देखिएको उनको अनुभव छ । ‘तर पाचन प्रणालीका अंगमा क्यान्सर गराउने यही एउटा मात्र कारण भन्ने होइन’, उनले भने ।

खानपान शैलीका कारण पनि पाचन प्रणालीको क्यान्सर हुने डा. उपे्रतीले बताए । उनका अनुसार पोलेको मासु, सुकुटी बनाएर राखेको मासु, नुनमा भिजाएर राखेको मासु, बढी तारेको तथा भुटेको खानेकुरा, ढुसी परेको खानेकुरा, विषादी बढी राखिएका तरकारी सेवनले पाचन अंगको क्यान्सर बनाउँछ । ‘यस्ता खानेकुरामा कार्सिनोजेन (क्यान्सर बनाउने तत्व) पाइने र ती तŒव भएका खानेकुरा सीधै पुग्ने अंग बढी प्रभावित हुने डा. उपे्रतीको भनाइ छ ।

अन्य देशमा मासु खाने परम्परागत तरिकामा परिवर्तन आइसकेकाले पाचन प्रणालीको क्यान्सर घटेको हो । नेपालमा पनि फ्रिजमा मासु राख्ने चलन आएको छ तर फ्रिजमासबैको पहुँचमा नुहुनु, पोलेको तथा सुकुटी मासु खाने चलन कायमै हुनु, सेकुवा खाने चलन बढ्नु जस्ता कारणले पाचन प्रणालीको क्यान्सर घट्न नसकेको हो । ‘सेकुवा खाने चलन झनै बढिरहेको देखिन्छ । यसले पाचनप्रणालीको क्यान्सर बढाउँछ’, उनले भने । अध्ययनअनुसार गाईगोरुको मासु खानेहरूमा पनि पाचन प्रणालीको क्यान्सर बढी देखिन्छ ।

रातो मासु बढी खानु, शारीरिक गतिविधि कम हुुनु, कलेजोमा हेपाटाइटिसको संक्रमण, मसालेदार खाना सेवन, धूमपान तथा मद्यपान पनि पाचन अंगको क्यान्सरका कारक भएको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. न्यौपाने बताउँछन् । पाचनप्रणालीको क्यान्सरमध्ये ९० प्रतिशत खानपान शैलीकै कारण हुने डा. न्यौपानेको भनाइ छ । १० प्रतिशत भने वंशाणुगत कारणले हुने उनले बताए ।

स्वस्थ खाना र स्वस्थ जीवनशैली अपनाएमा पाचन अंगको क्यान्सरबाट बच्न सकिने डा. न्यौपानेको सुझाव छ । रातो मासु नखाने, पुराना, ढुसी परेका खानेकुरा नखाने, धुमपान–मद्यपान नगर्ने, शारीरिक व्यायाम गर्ने, मोटोपना घटाउने गरेमा पाचन प्रणालीको क्यान्सरबाट बच्न सकिने उनले बताए । ‘सन्तुलित भोजन खाने तथा व्यायाम गर्नाले यसको जोखिम कम हुन्छ’, उनले भने ।

प्रकाशित: १३ कार्तिक २०७३ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App