२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुमा ६ लाख ४२ हजार जनतालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने

कपिलवस्तुमा फागुन ११ गते देखि फागुन २४ गते सम्म चल्ने हात्ती पाईले निवारण विरुद्धको आम औषधी सेवा महा अभियानमा ६ लाख ४२ हजार बढीलाई औषधी खुवाइने भएको छ। परजीवीबाट सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगको उन्मुलनका लागि कपिलवस्तुमा यस रोग विरुद्धको औषधी फागुन ११ गते बाट खुवाइने भएको हो। 

सबैले औषधी सेवन नगर्दा कपिलवस्तुमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियान १५ औं पटक सञ्चालन गरिने भएको हो। जिल्लामा २०६३ साल देखि अभियान सञ्चालन हुँदै आएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुले आयोजना गरेको हात्तीपाइले रोग निवारण सम्बन्धी पत्रकार अन्तर्क्रिया कार्यक्रममा उक्त अभियान सञ्चालन गर्ने बारे जानकारी दिइएको हो। कपिलवस्तु सहित नेपालमा गत बर्षबाट हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा तीनथरिका औषधी खुवाइँदै आएकोमा सोही अभियानलाई निरन्तरता दिइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए। 

आर्थिक बर्ष २०६३÷६४ देखि सुरु भएको अभियानको पाँचबर्षमा अभियान सफलतोन्मूख रहेतापनि त्यसपछिका अभियानहरुले लक्ष्य भेटाउन असफल भएको तथ्यांक रहेको छ। हात्तीपाइलेका कारण कपिलवस्तुमा हाइड्रोशील भएका १ सय ८५, खुट्टा सुन्निएका १ सय ३२ र हाइड्रोशीलसँगै खुट्टा सुन्निएका १४ गरी ३ सय ३१ जनामा संक्रमण रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका भेक्टर कन्ट्रोल निरीक्षक उदयचन्द्र चौरसियाले बताए।   २ बर्ष मुनिका बालबालिका, गर्भवती, औषधी खान नहुने समूहबाहेक सबैलाई औषधी खुवाइँदै छ। 

कार्यक्रम अन्तर्गत यसपटक कपिलवस्तुमा करिब ६ लाख ४२ हजार जनतालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउनका लागी  ६ सय भन्दा बढी स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवक ११ सय ७ जना खटिने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए। कपिलवस्तुमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न चुनौती देखिएपछि रोग उन्मुलनका लागि जिल्लामा विभिन्न कार्यक्रम गरिँदै आएको छ छ। कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय कार्यशाला सहित योजना निर्माण, यस्तै १० वटै पालिका स्तरीय योजना निर्माण र गैसससंग अन्तरक्रिया समेत सम्पन्न गरिएको जन स्वास्थ्य निरीक्षक उमेश घिमिरेले बताए। 

औषधि सेवनबाट हुने सामान्य (अवान्छीत) केही असरहरु देखीएपनि डराउनु नपर्ने कपिलवस्तु अस्पतालका मेसु किशो बन्जाडेले बताए ।यो बर्ष अनिवार्य रुपमा औषधी सेवन अभियानलाई सफल बनाउन जिल्लाका सबै सरोकारवाला लाग्नुपर्नेमा जोड दिएका छन्। गएको बर्ष कपिलवस्तुमा ९० प्रतिशत जनताले मात्रै औषधी खाएपछि अभियानलाई लम्ब्याउनु परेको कुनै व्यक्तिलाई सामान्य समस्या देखिएपछि अन्य कसैले पनि औषधी खान नमानेको स्वास्थ्यकर्मी बताउँछन्। 

पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले अभियानलाई सफल बनाउन पत्रकारहरुको समेत साथ रहेको बताए। युएसएआईडी, एनटिडिएस्, आरटिआई इन्टरनेशनल, फेयरमेड र कालिका स्वाबलम्बन सामाजिक केन्द्र कपिलवस्तुको साझेदारी संस्थाको सहयोगमा जिल्लामा उपेक्षित रोग उन्मूलन अभियान सञ्चालन हुने जनाइएको छ। 

प्रकाशित: २८ माघ २०७९ ०८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App