स्वास्थ्य बी मावापत झण्डै ५६ लाख बढी रकम पाउन बाँकी रहेपछि ताप्लेजुङ जिल्ला अस्पतालको ल्याव तथा फार्मेसी सेवा नै बन्द हुने अवस्थामा पुगेको छ।
जिल्ला अस्पताल सञ्चालन समितिका सदस्य सुवास आचार्यले स्वास्थ्य बीमा बोर्डबाट अस्पताल सञ्चालन समितिले पाउनुपर्ने रकम तत्काल नपाए अस्पतालले सञ्चालन गरिरहेको फार्मेसी र ल्याव सेवा बन्द हुने अवस्थामा रहेको जनाए।
करारमा जनशक्ति व्यवस्थापन गरेर फार्मेसी र ल्याव सेवा अस्पताल सञ्चालन समितिले आफैं सञ्चालन गरिरहेको छ। ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त प्रमुख बिजया राईका अनुसार बीमा वापत अस्पतालले ५६ लाख ७८ हजार १ सय ३२ रुपैयाँ पाउन बाँकी रहेको छ। राईका अनुसार आर्थिक बर्ष २०७८।०७९ मा ४३ लाख ४५ हजार ६ सय ३९ रुपैयाँ माग दावी गरिएकोमा भुक्तानीका लागि माग दावी गरिएकोमा ५ लाख ४५ हजार ५ सय रुपैयाँ मात्र भुक्तानी भएको छ। चालू आव २०७९।०७९ को त माग दावी गरिएको रकममध्ये कुनैपनि रकम भुक्तानी नभएको अस्पतालले जनाएको छ। राईका अनुसार चालू आवको पुस मसान्त सम्मको १८ लाख ७७ हजार ४ सय ९४ रुपैयाँ स्वास्थ्य बीमावापतको रकम अस्पताल सञ्चालन समितिले पाउन बाँकी रहेको छ। यसैबीच, स्वास्थ्य बीमावापतको रकम भुक्तानी नहुँदा अस्पतालको फार्मेसी र ल्याव सेवा बन्द हुने अवस्था सृजना भएपछि प्रतिनिधि सभाका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष र कार्यकारी निर्देशक दुबैलाई सम्पर्क गरी तत्काल भुक्तानीको व्यवस्था गर्न आग्रह गरेका छन्।
बीमावापतको रकम भुक्तानीका लागि आवश्यक पहल गरिदिन अस्पताल सञ्चालन समितिका सदस्यद्धय आचार्य र इन्द्रबहादुर गुरुङको अगुवाईमा अस्पताल प्रशासनले सोमवार भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। ध्यानाकर्षण पत्र बुझे लगत्तै सांसद भट्टराईले अस्पताल परिसरबाटै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डाक्टर सेनेन्द्रराज उप्रेती र कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलालाई दुबैलाई सम्पर्क गरी ताप्लेजुङ अस्पतालले पाउनुपर्ने भुक्तानी तत्काल गरिदिन आग्रह गरेका थिए।‘सातदिन सम्मको त्यहाँको समस्या समाधान गर्छौं भन्नु भएको छ’सांसद भट्टराईले भने। उनले आफु मंगलवार काठमाण्डौं पुग्ने र फेरी स्वास्थ्य बीमा बोर्डका अध्यक्ष र कार्यकारी निर्देशक सहितका अधिकारीसंग समन्वय गरी समस्या समाधान गर्ने बताए।
प्रकाशित: २३ माघ २०७९ ०७:३२ सोमबार